काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षमा ९ हजार बढी सवारी दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत एक वर्षमा काठमाडौं उपत्यकामा मात्र ९ हजार चार सय ६१ वटा दुर्घटना भएका भएका छन् ।
धेरैजसो दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको देखिएको छ । उपत्यकामा गत एक वर्षमा भएका दुर्घटनामध्ये चालकको लापरवाहीबाट ८ हजार चार सय ७२ दुर्घटना भएका छन् । यस्तै मादक पदार्थ सेवनबाट चार सय ३५ जना, तीव्रगतिबाट चार सय २२, ओभरटेकबाट ५८, यान्त्रिक गतिविधिबाट ४९, सडकको दुरावस्थाबाट १६, पैदलयात्रुको लापरवाहीबाट चार र मौसम/चौपायाबाट पाँच दुर्घटना भएका छन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल चालकले सवारी नियम नमान्ने प्रवृत्तिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउनुहुन्छ । उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी छन् । महाशाखाका अनुसार गत एक वर्षमा उपत्यकामा सवारी दुर्घटनाबाट एक सय ४५ जनाको मृत्यु भएको छ । जसमा १७ देखि ३५ वर्षका ९४ जना रहेका छन् ।
यस्तै १६ वर्ष मुनिका ७ र ३६ वर्षभन्दा माथिका ४४ जना रहेका छन् । उपत्यकामा अघिल्लो वर्ष सवारी दुर्घटनाबाट दुई सय ५४ जनाको मृत्यु भएको थियो ।
उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा दुई पाङ्ग्रे चालक बढी रहेका छन् । गत एक वर्षमा सवारी दुर्घटनाबाट ७६ जना दुई पाङ्ग्रे (मोटरसाइकल÷स्कुटर) चालकको मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा ४७ पैदलयात्रु, बस दुर्घटनाबाट ६, साइकल दुर्घटनाबाट पाँच, ट्रक दुर्घटनाबाट पाँच, ट्रिपर दुर्घटनामा तीन र कार दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ ।
उपत्यकामा एक ट्राफिक प्रहरीले एक हजार २८४ सवारी साधन व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । उपत्यकामा ट्राफिक जनशक्तिको दरबन्दी एक हजार ८७ रहेपनि हाल एक हजार चार सय भन्दाबढी ट्राफिक प्रहरी कार्यरत छन् । काठमाडौँ उपत्यकामा ४० ट्राफिक प्रहरी एकाई रहेको छ ।