Logo कार्तिक ९, २०७७ आइतबार


उपन्यास अंश : धर्मकन्या

–रविना रोकाय

जाडो याम आयो ।

नयाँ लुगा लगाउन दशैं कुर्नुपथ्र्यो । जाडो याम लागेपछि निकै चिसो बढ्ने र हिउँ पर्ने भएकाले बाक्लो लुगा चाहिन्थ्यो । तर जाडो यामका लागि लुगा किन्ने कुरा भएको थिएन । तैपनि बाबाले किनिदिनुहुन्छ कि भन्ने आशा भने थियो ।

बाबाले पैसा जोडजाम गरेर टाउकोदेखि खुट्टासम्म छोप्ने पछ्यौरा ल्याइदिनुभयो । मलाई बूढीलाई र बूढीकी छोरीलाई । यो धर्मकन्यालाई दिनू भनेर सबै बूढीलाई दिनुभयो । र जङ्गल गइहाल्नुभयो । म वन गएँ । म वनबाट आउँदा कता लुकाएर राखिछ । मलाई दिइन । असाध्यै मन दुख्यो । आधा पेट दे’को खाना खान पनि मन लागेन । कान्छी आएर तोते बोलीमा तिमीलाई बाबाले ल्याइदे’को पछ्यौरा मेरी आमाले लुकाकी छिन् भनी ।

कान्छीका कुरा सुनेर आमा फरक भए पनि हाम्रो बाबा त एउटै हुन् जस्तो लाग्यो ।

बाबा घरमा आएपछि सबैले नयाँ पछ्यौरा ओढेको देख्नुभयो । तर मैले पुरानै च्यातिएको पछ्यौरा ओढिरहेकी थिएँ ।

‘छोरी, तैंले पछ्यौरा पाइनस् ?’ बाबाले सोध्नुभयो ।

‘अहँ, पाइनँ,’ मैले भनें ।

तेरी आमा आउन दे, दिउँला, भन्नुभयो । मलाई कहिलेकाहीं त्यो कपटी बूढीलाई तेरी आमा भनेर सम्बोधन गर्दा खल्लो लाग्थ्यो । मेरी भगवान्जस्ती आमाको अपमान गरेझैं लाग्थ्यो । साँच्चै भन्नुपर्दा आजसम्म उसलाई एकपटक आमा भनेर सम्बोधन गरेका थिएनौं । र, पछि पनि कहिल्यै गरेनौं पनि । उसले दिएका यातना र चोटहरुले गर्दा । केही समयपछि आई । बाबालाई देखेर अलि तर्सी ।

‘छोरीकन दिनू भनेको कपडा कहाँ फालिस् ? खै ल्या,’ बाबाले भन्नुभयो ।

‘मलाई ओडन्या नाही, यै सौता राणकन दिन्या पछ्यौरा,’ भन्दै रुन पो थाली ।

‘क्या भनिस्, मेरी छोरीकन सौता भनिस्, आज यहीले काम नगरी खानु छैन, खेतीपाती यही, बजार चामल ल्याउन यही, तेरी आमाछोरी बसीबसी खान्या, कहाँ छ ल्या पछ्यौरा !’ बाबा रिसाउनुभयो ।

बाबाले आफैं खोज्न थाल्नुभयो । एकछिनमा पछ्यौरा लिएर मतिर आउँदै हुनुहन्थ्यो, पछ्यौरा तानी बूढीले ।

‘क्या तान्दिछस्, तेरी आमाछोरीकन नदिया हूँ र !’ भन्दै पछ्यौरा झटारेर तान्नुभयो । बाहिर आएर मलाई पछ्यौरा दिनुभयो ।

०००

जाडो कटेर फागुन लाग्यो । फागुन बाह्र गते केटीहरु सबै मिलेर वनभोज जाने चलन थियो । यसपालि पनि सबैजना जाम्ला भनेर निर्णय गएका थियांै । सुनकली, छैटला, चन्द्रा र मैले सल्लाह गरेका थियौं।

फागुन बाह्र गते । साथीहरुसित वनभोज जाने भनेको त कहाँ जानु ! बिहानै ढोका लगाएर आफ्ना छोरीहरुलाई लिएर बूढी कता मरिछ । भाइ र म बाहिर आएको मौका छोपेर ।
भाइको पनि बिदा थियो । ऊ साथीहरुसित खेल्न जान्छु भनेर गयो । म त्यसै बसेकी थिएँ । लालदेवी दिदी डोकोमा खै के के बोकेर आइन् ।

‘धर्मकन्या, आइजा जाऊँ । दाल, चामल, नुन, सबै मैले ल्याकी छु । दिदीबैनी मिलेर वनभोज पकाई खाउँला,’ दिदीले भनिन् ।

म दिदीको पछि लागिहालें । बाटोमा भाइ भेटियो ।

‘दिदी, कहाँ जान्यै ?’ परैबाट चिच्यायो ।

‘लालदेवी दिदीसित भोज खान जान्यै भन्या, जाऊँ हिंड्,’ मैले भनें ।

‘तो जा दिदी, मकन ल्याइदिनू तोइले,’ भाइले भन्यो ।

हामी दिदीबहिनी जङ्गल पुग्यांै । दिदीले ल्याएका समान डोकोबाट निकाल्यौं । दिदीले वरपर तीनवटा ढुङ्गा राखेर भाँडो अट्ने डिलिकना बनाइन् । मैले दाउरा लिएर चुलो बनाएको नजिकै राखे“ । दिदी आगो बाल्न लागिन् । म ग्यालेन लिएर कुलामा पानी ल्याउन गएँ ।

सबै कुरा हालेर ठीक पारेपछि चुलोमा बसाइन् । मलाई आगो राम्रोसँग बाल्नू र चलाउँदै राख्नू भनेर आफू डोको बोकेर जङ्गलतिर लागिन् ।

दिदीको घरमा सहयोग गर्दागर्दै खाना बनाउन सिकेकी थिएँ मैले । हाम्रो भान्सामा छिर्नै दिन्नथी बूढीले । खिचडी राम्रोसँग पाकिसकेपछि दिदीलार्ई बोलाएँ ।

केही बेरमा दिदी आइन् । एउटा कटौरामा भाइलाई राखिदिइन् । त्यसपछि दिदीबहिनी मिलेर खायौं । टन्न खाएपछि म पनि दिदीलाई सहयोग गर्न जङ्गलतिर गएँ । दिदीले ल्याएको डोकामा पिरलको थुप्रो हाल्न थालें । दिदीले पनि हाल्न थाली । डोको भरिएपछि दिदीले बोकिन् । भाँडाकँुडा मैले समातें । अनि घरतिर लाग्यौं ।

घर पुग्यौं। दिदी आफ्ना घरतिर लागिन् । भाइ हाम्रो आवाज सुनेर बाहिर आयो । म माथि जानलाई सिंढी चढ्दै थिएँ ।

एक्कासि सौतेनी आमाले कुरा लगाएको सुनें— ‘तेरी छोरीले मेरो बदनाम गराई, केही नदियाझैं गरी । काममा गएकी थिएँ । घर आउँदा त तेरी छोरी तल्लाघरे केटीसित गइछ वनभोज खान । क्या तेरी छोरीकन मुठ्ठी चामल र दाल दिन सक्न्या थिइनँ मैले, आज मेरो बदनाम गराई ।’

मेरा हिंड्न लागेका खुट्टा टक्क अडिए । कटौराको खिचडी भाइलाई दिएर म दिदीका घरतिर कुदिहालें ।
‘क्यान आई तो ?’ एक्कासि मलाई देखेर दिदीले भनिन् ।

‘बूढी बाबाकन कुरा लगाइरा’छ, मलाई घर गया कुटन्या हुन्, त्यही भएर यहाँ आएकी,’ म डराउँदै बोलें ।

‘ए, त्यसो भए आ भित्र,’ दिदीले भित्र बोलाइन् ।

त्यस रात दिदीकोमा बसें । बिहान खाना खाएर साथीहरुसित गएँ । दिउँसो तिनले नास्ता दिए । त्यही खाएँ । दिउँसो दिदीका घर खोज्न आएको सुनेर छैटलाको घर बसें । त्यहीं खाना खाएँ । भोलि बिहानै घर जान्छु भनेर हिंडिहालें । बिहानभर भोकै बसें । थानमा गएर खडीका बोटबाट खसेका खडी टिप्दै खाएँ । भोक त कहाँ मेटिन्थ्यो र ! तैपनि खाएँ । बाटोमा ड्याङडुङ गाईगोरmका गाडाहरु बज्न थाले । म पनि त्यतैतिर लागें । साथीहरुले ल्याएका रै’छन् । उनीहरुसित लागें ।

दिनभर भोकले सतायो । उनीहरुले नास्ता खाने समय भएपछि नास्ता दिए । खाएँ । छैटलाको घरमा सुत्न जानै लागेकी थिएँ । बाबा बोलेको सुनेर थान भएको तिर कुलेलम ठोकें । जूनले उज्यालो पारेको थियो । पूर्णिमा थियो कि क्या हो ! जून ठूलो देखिएको थियो । तैपनि हिंडिहालें । गाउँका घरभन्दा आठ–नौ गडामाथि थियो थान ।

सोत्तरको खातमा गएँ । डर लाग्यो । सुनसान थियो । ठूलाडूला खडीका रुखहरु थिए । कताकता तिनै रुखहरुले तर्साएजस्तै भयो । स्याल करायो । डरले सोत्तरको खातमाथि बसेकी म तल झरें । सोत्तरको खातमा आफू अट्ने ठाउँ बनाएँ र भित्र छिरें । सुतिसकेकी थिएँ तर निद्रा लागेको थिएन ।

बिस्तारै बिरालाको चालमा बाबा र टुलटुल लामा दाइ आएछन् ।

‘छोरी, घर जाऊँ, हिँड । किन यता आ’की, किन घर नआ’की ?’ बाबाले मीठो बोलीमा भन्नुभयो ।

‘छोरीलाई यसरी दुःख दिने हो ! आज मुहिले नदेख्या भए क्या हुन्थ्यो ? तँलाई थाहै छ, दिउँसै बाघ कराउने ठाउँ ! रातमा त बाघ गाउँमै आउँछ । तेरो छोरी यतै सुतेको भए के हुन्थ्योे !’ लामा दाइले भने ।

‘क्या गर्नु लामा दाइ, छोरी भागेको थाहा थियो, गाउँभर खोज्दा भेटाएको थिइनँ, धन्न तिमीले भेटायौ, छोरी भेटाएर ठूलो गुन लगाएका छौ,’ बाबाले भन्नुभयो ।
हामी घरतिर लाग्यौं ।

‘दिदी, कहाँ गएकी थियौ अहिल्यसम्म ?’ भाइले अँध्यारो मुख लगाउँदै निन्याउरो पाराले बोल्यो ।

बाबाले भित्र लगेर खाना खान दिनुभयो । बेसरी भोक लागेको थियो । टन्नै खाएँ । त्यसपछि भाइ र म सुत्न गयौं ।

०००

बजारमा गए चामल ल्याउने जिम्मा नै मेरो भएको थियो । चामल ल्याउन गएका बेला फुपू भेटिइन् ।

‘भतिजी, माइतीमा कति दुःख गर्दिछस्, तोकन अब सबै काम आउ“छ, घर गरेर पनि खान सक्छेस्, बिहे गर,’ फुपूले भनिन् ।

बिहेको बारेमा केही सोचकी थिइन“ मैले । म केही नबोली घर फर्किएँ ।

भोक लाग्दा खाद्यको सेतो चामल खानाले हो कि पेट दुख्न लाग्यो । शुरुमा त अलिअलि दुख्थ्यो । तर पछिपछि बढ्दै गयो ।

गडामा जाँदा पेट दुखेर सहन नसकी गडामै घुडा टेकेर घोप्टो परिराख्थें । मेरो पेटको दुखाइ असह्य हुँदै गइरहेको थियो । त्यसैमा घरमा काम गर्दिन भनेर कुट्ने, खान नदिने । म दिनप्रतिदिन कमजोर हुँदै गएँ । एक दिन म दहको वरिपरि भएका खेततिर काम गर्दै थिएँ । काम गर्दागर्दै जताततै अन्धकार देख्न थालें । कानले के सुनिरा’छु, बुझ्न छाडें । संसार पूरै

गडामा जाँदा पेट दुखेर सहन नसकी गडामै घुडा टेकेर घोप्टो परिराख्थें । मेरो पेटको दुखाइ असह्य हुँदै गइरहेको थियो । त्यसैमा घरमा काम गर्दिन भनेर कुट्ने, खान नदिने । म दिनप्रतिदिन कमजोर हुँदै गएँ ।

बिस्तारै अँध्यारो भएझैं  लाग्यो । म लड्न पुगें । त्यसपछि थाहा भएन । आमाछोरीले मलाई लडेको देखेर पनि नउठाएरै गइहालेछन् ।

घरमा छोरी कहाँ छ भनेर बाले सोध्नुभएछ ।

दहका खेतमा सुतेर बसेकी छ कप्टिनी भनेर जवाफ दिइछ बूढीले ।

बाबाले उसका कुरा सुनेर टर्च लिएर दहमा आउनुभएछ । हतारहतार गरेर मेरो नजिक आउनुभएछ । मलाई बेहोश हालमा देखेर आत्तिदै दहबाट पानी ल्याएर छर्किनुभएछ ।
म पानीको छिट्टाले ब्युझिएँ । बिस्तारै आँखा खोलें । रात परिसकेको रहेछ । चारैतिर अन्धकारैअन्धकार ।

बाबा बोल्नुभयो— ‘मेरी छोरी, घर जाऊँ, हिँड ।’

म बिस्तारै उठेें । म लतारिएको देखेर बाबाले बोक्नुभयो ।

‘क्या हुँदो छ छोरी तँलाई ?’ बाबाले सोध्नुभयो ।

‘पेट दुख्छ,’ मसिनो स्वरमा जवाफ दिए“ ।

‘चामल त खाइथिनस् कहिले ?’ बाबाले फेरि सोध्नुभयो ।

‘खाएकी थिएँ,’ सुस्तरी डर मान्दै भनें ।

‘तँलाई जुका परेको जस्तो छ, भोलि वैद्यकहाँ जाउँला, अहिले रात परिगयो,’ बाबाले सान्त्वना दिंदै भन्नुभयो ।
घरमा पुग्यौं । म सुतिहालें ।

भोलिपल्ट बाबाले वैद्यकामा लगेर जानुभयो ।

वैद्यले मेरो पेट हातले यताउता छामछुम पारे ।

‘जुका परेको छ, जडीबुटी ल्याई पकाएर खाऊ,’ वैद्यले भने ।

बाबा जङ्गल गएर जडीबुटी ल्याएर आउनुभयो । पकाएर दुईतीन दिनसम्म खाएँ । दिसाबाट मरेका जुका आए । लामालामा । हेर्दै डर लाग्ने ।
बिस्तारै पेट दुख्न निको भयो ।

म लडेर गुल्टिदा आलुको बुटा अलि ओलाएको थियो । आलुको बुटा मारी भनेर हल्ला गर्न थाली । अरुका अगाडि भन्न लागी ।

म आँगनमा घाम ताप्न बसिराथें । त्यही बेला कप्टिनी, आलु मारी भनेर नानाभाँती कराइरहेकी थिई । पल्लाघरे काकी बाटोमा थिइन् । शायद मलाई गाली गरेको सुन्न सकिनन् होला, भनिहालिन्— ‘ओ भाउजू, किन कप्टिनी भन्दिछौ हो तिमी ?’

‘किन हुनु, अरु को छन् भन्नलाई, यही धर्मकन्याकन भनिया हो,’ रिसाउँदै बोली ।

‘तिमीकन अलिकति पनि लाजशरम भन्ने केही चिज छ कि छैन ? एक त दुःख दि’छौ, कस्तो बिजोग गरेकी छौ, यही छोटीका भाइबैनाको । यस गाउँल्य सबैकन थाहा छ । तिमीकन छिःछिः थुक्क गर्दा छन् । अझ आएर कप्टिनी भन्निछौ । यहीकी आमा कप्टिनी हो भनेर कसैका मुखबाट सुनेनौं, अझ वैद्य थिइन् यसकी आमा त, सानातिना बिमार ती भाउजूको हात लाग्यो कि निको भैहाल्थ्यो । यो छोरी कप्टिनी कसरी भई ? आमाको मुख पनि राम्रो गरी याद छैन यसलाई । कप्टिनी हुनलाई त आमाबाट सिकेर हुन्छन् भन्थे । कहिल्य सिकी यसले ।

यस्तै गर्यौ भन्या त तिम्रो मुखमा एक दिन गाउले मिली गु हालन्न, याद गर्नू ।’ पल्लाघरे काकी रिसाउँदै भनिन् ।

फेरि मतिर हेरेर भनिन्— ‘ए, धर्मकन्या, अहिल्य कस्तो छ तँलाई ? सन्चो त छस् ?’

नजिकै आएर छामछुम गरिन् । मैले टाउको हल्लाएँ ।

‘यसका कुरा नसुन्नू, आफ्नै सुरमा लाग्नू, कामकाज राम्रै गरेकी छस्, सिकाउनुपर्दैन, म जान्छु, राम्रोसित बस्,’ भन्दै काकी आफ्नो बाटोतिर लागिन् ।

०००

गाउँमा हामीभन्दा ठूलठूली केटीहरु जो चौधपन्ध्र वर्षका थिए, सबै एकएक गर्दै बिहे गरेर गइरहेका थिए । त्यही उमेरका केटाहरुले पनि बिहे गरिरहेका थिए । हाम्रो बिहे गर्न उमेर त भएको थिएन । तैपनि अरुको बिहेको हल्लाले हामीले कुरा निकाल्थ्यौं ।

गाईवस्तुहरु चरिरहेका थिए । हामी खालि चौरमा पलेटी कसेर बसिरहेका थियौं ।

मैले प्रश्न गरें— ‘ओए, तिमीहरु कस्तासित बिहे गर्छौ ?’

मेरो प्रश्नले सबैले मुखामुख गरे ।

सुनकली बोल्न थाली— ‘मेरो श्रीमान् एकदमै सुन्दर होस् ।’

छैटला बोली— ‘मेरो श्रीमान् पनि राम्रो होस्, सुन्दर होस्, अग्लो होस् ।’

चन्द्रा बोली— ‘माया गर्ने होस्, बाहिर जस्तो भए पनि ।’

सबैले मलाई प्रश्न गरे— ‘लौ भन्, तेरो कस्तो श्रीमान् पाउने इच्छा छ ?’

म सोचमग्न भएँ । उनीहरुको जस्तो भनिनँ । उनीहरु धनी र सम्पन्न परिवारमा रमाएर खाइरहेका, दुःख भन्ने थाहा थिएन । तर मेरो घरको हाल त विलकुलै विपरीत थियो । फरक थियो । त्यसैले मैले भनें— ‘मेरो श्रीमान् सुन्दर नभए पनि माया गरोस्, घरमा खाना लगाउन पुग्ने होस्, म जुन घरमा जान्छु, त्यस घरका सबैले माया गरुन् ।’

उनीहरु मेरो कुरा सुनेर चुप लागे । मुखामुख गर्न थाले । केही बोलेनन् । त्यसपछि हामीले अरुअरु कुरा गर्न थाल्यौं ।

०००

म बिहानको खाना खाएर आँगनमा घाम तापिरहेकी थिएँ ।

‘छोरी, तो र म फुपूका घर जाम है,’ बाबाले भित्रबाट आएर भन्नुभयो ।

‘क्या गर्न बाबा ?’ मैले सोधें ।

‘पूजा छ रे फुपूका घरमा, निम्तो पठाइछ,’ बाबाले भन्नुभयो ।

‘भाइ नजाने ?’ मैले सोधें ।

‘उसको पढाइ छ, तँ र म मात्रै जाऊँ,’ बाबाले भन्नुभयो ।

मैले हुन्छ भनें । बाबाले तयार हुन भन्नुभयो । म तयार हुन भित्र पसें । भित्र पसेर दशैंमा दिएका नयाँ लुगा र जुत्ता लगाएर तयार भएँ ।
बाबाले आलुसिमीको पोको पारेर झोलामा राखी बाहिर निस्कनुभयो ।

हामी हिंड्यौं । हात समातेर मलाई पनि आफूसितै डो¥याउनुभयो । म बाह्र वर्षकी थिएँ । पहिलोपटक बाबासित फुपूको घर जाँदै थिएँ । मलाई बाटोमा रहेको सुमैजु थानमा चामल राख् भन्नुभयो । मैले बाबाले भनेझैं राखिदिएर ढोग गरें ।

बाबाले भन्नुभयो— ‘जहिल्य पनि यता आउँदाजाँदा सुमैजुको थानमा दाना चढाउन नभुल्नू । छोरीचेलीको रक्षा गर्ने देवता हुन्, सधैं दान चढाउनू ।’
मैले बाबाको कुरामा सहमति जनाए“ ।

बाटोमा धेरै कुरा भएनन् । बाबाको निधारमा रेखाहरु बसेको देखें । बाबालाई कुनै पीर परेको छ जस्तो लाग्यो । बाबाको अनुहार देखेर बोल्ने आँट गर्न सकिनँ ।
हामी भदाइलीमा पुग्यौं । खै किन हो ? फुपूको गाउँ देखेर बाबाको आँखामा आँसु टिलपिलाउन लाग्यो ।

मैले बडो कष्ट गरेर बोलें— ‘बाबा, हामी कैले घर आउने ?’

मेरो यो प्रश्नले बाबा त आँसु झार्न लाग्नुभयो । बाबाको हाल देखेर लाग्यो, फुपूले मलाई बिहेको कुरा गरिरहन्थिन्, पक्कै पनि बाबालाई भनेर मेरो बिहे गर्न लागेका रै’छन् ।
मेरा आ“खाबाट पनि आँसु झरे ।

म रोएको देखेर बाबाले भन्नुभयो— ‘छोरी, क्यार्नु, म तेरो बाबा भए पनि राम्रो गर्न सकिनँ, स्राहै दुःख पाइस् । माया पनि पाउँदिनस्, तो बिहे गर्, केटा हेरेको राम्रै छन्, तो नसक्या फुपूले पनि हेरिहाल्छिन् ।’

म केही बोलिनँ । चुपचापै हिंडिराखें । केही समयमै फुपूको घरमा पुग्यो ।

बेलुका टन्नै मान्छे फुपूको घरमा आए । लौ, छिटै गरौं, ढिला नगरौं भनेर कोही कराउदै थिए । कोही कहाँ छ केटी भन्दै यताउता हिंड्दै थिए ।

भागूँ त कहाँ भागूँ । जाऊँ त कता जाऊँ । घरमा आमा छैनन्, सौतेनी आमाले फेरि तेरो मासु तितो रै’छ भन्दै गालि गर्ने हो । के गरुँ ? मर्न जाऊँ त भाइलाई के गरी छोडूँ ? हे भगवान् ! भन्दै मुख छोपेर रुन लागें ।

‘भतिजी, आऊ बाहिर,’ फुपूले उठाएर लगिन् ।

बेलुका टन्नै मान्छे फुपूको घरमा आए । लौ, छिटै गरौं, ढिला नगरौं भनेर कोही कराउदै थिए । कोही कहाँ छ केटी भन्दै यताउता हिंड्दै थिए । भागूँ त कहाँ भागूँ । जाऊँ त कता जाऊँ । घरमा आमा छैनन्, सौतेनी आमाले फेरि तेरो मासु तितो रै’छ भन्दै गालि गर्ने हो । के गरुँ ? मर्न जाऊँ त भाइलाई के गरी छोडूँ ? हे भगवान् ! भन्दै मुख छोपेर रुन लागें ।

बाहिर आएपछि टीका लगाउन थाले ।

मेरो नजिकै रहेको केटालाई को रै’छ भनेर मुख हेरें । चिनिहालें ।

दशैंको बेलातिर फुपूको घरतिर आएकी थिएँ । पिङ बनाएका रै’छन् । खेल्न जान्छु भनेर फुपूका घरबाट एक्लै टुइँटुइँ पिङ नजिकै आएर डोरी समातेर बसिरहेकी थिएँ । दुई हातले समाएर डोरी फट्टाई खुट्टा राख्छुभन्दा पुग्दै नपुगेकाले बसिरहेकी थिएँ । अरु केटीहरु कि छोड् कि खेल् भनिरहेका थिए । म पनि कहाँ कम थिएँ र ! छोड्दै छोडिनँ । कस्तो खेल्न रहर ला’को मेरो मन बुझेर कसैले पनि सहयोग गरेनन् ।

त्यसै समयमा एक कालो अनुहार नमिलेको केटा आएर मैले समातेको डोरी मेरो हातबाट तान्दै भन्यो— ‘न खेल्न जान्दिछ, न त अरुलाई खेल्न दिदी छ, छोड् ।’
मेरो हातबाट डोरी तानिहाल्यो । ऊसँग मैले हारें । म हारेको महसुस भयो ।

म रुन थालें । म रोएको देखेर यहीकी फुपूले थाहा पाइन् भने गाली गर्छिन् भन्दै सब केटाकेटीहरु भागे । म भने रुन छाडेर पिङको डोरीमा बसेर खेल्ने कोसिस गरिरहें । सकिनँ । अन्तमा साँच्चै हार मानेर फुपूका घरतिर लागेकी थिएँ त्यो बेला ।

आज त्यही केटो मेरो दुलाहा बनेर मेरो छेउमा बसिरहेको थियो । अठार वर्ष जतिको हुँदो हो । म त उसका अगाडि कति सानी देखिएकी थिएँ ।
हामीलाई खै क–कसले टीका लगाइदिए । दक्षिणा पनि दिए ।

‘भतिजी, केटा राम्रो छ, घर हाम्रो तलमाथि छ, मेरा पनि यता कोही छैनन्, आजदेखि अब तँ आई । मैले तँलाई हेरी तंैले मलाई हेरी फुपूभतिजीके याद मेटौंला । म तँलाई हरेक काममा सहयोग गरिदिउँला । केटाका घरमा केटा र उसका बूढा बाबा मात्र छन् । बाबा पनि साह्रै निका छन् । आजदेखि तेरो बिहे भयो । अब घर गरेर खा । केही अप्ठ्यारो परे म छँदैछु ।’ यस्तै कुरा गरेर फुपूले सम्झाइन् ।

ससुराबाले ल्याएका राता धोतीचोलो र डोरीमा सजाइन् फुपूले । उनीहरुका घरमा सबै मिलेर पु¥याउन गए । केटा पक्षका र मेरा पक्षका सबै स“गै थिए । बाबा र फुपू कुरा गरिरहेका थिए ।

बाबाले फुपूलाई भन्नुभयो— ‘बहिनी, तेरै जिम्मामा मेरी छोरी दिएको छु । भतिजी भने पनि छोरी भने पनि तेरै हो अब । दुःखसुखमा साथ दिएस् ।’

‘दाइ, चिन्ता मान्नुपर्दैन । म हेरिहाल्छु यसलाई । बरु माथि घर राम्रो गर्नुहोला । धर्मकन्या अलि भाइको याद गर्ने हो । बिदाको समयमा यता पठाइदिनुहोला । त्यसो नगरे कैले यो यताबाट भाग्ली ।’ फुपूले भनिन् ।

म मेरो छोरो पठाइहाल्छु । त्यसको चिन्ता गर्नुपर्दैन ।’ बाबाले भन्नुभयो ।

बाबाको कुरा सुनेर म कताकता खुशी भएँ । भाइ मलाई यतै भेट्न आउने कुराले मनको ठूलो चिन्ता हट्यो ।

कुरा गर्दागर्दै सबैजना झर्यौ । घरको आँगनमा पुग्यौं । सबैजना घरको कोठाभित्र छिर्नलाई भ¥याङ चढ्न लाग्यौं । गाउँका केटाकेटी, बूढाबूढीहरु सबै जम्मा भए । रातको अँधेरीमा कसैको अनुहार पनि राम्ररी ठम्याउन सकिदैनथ्यो । तैपनि घरमा बेहुली ल्याएर आएका भनेर हेर्नेको भीड थियो ।

घरभित्र पनि मस्टाका देवीदेवता भनेर पूजा गर्दै नानाभाँती भन्दै टीकाटालो लगाइदिए । खानापान गरे । र, सबै आ–आफ्ना घर गए । झरोको उज्यालोमा कसैको अनुहार प्रस्ट देखिदैनथ्यो । आवाज मात्र सुनिन्थ्यो— ‘रघुले त बिहे गरेछ, केटी ल्याएछ ।’ उनीहरुको कुरा सुनेर थाहा पाए“, मेरो श्रीमान्को नाम रघु रहेछ ।

फुपूले मलाई राम्रोसित बस्, छोरीको जात एकपटक घर गरी खानुपर्छ, नभागेस् भनेर फकाइन् ।

बाबाले ससुरालाई भन्नुभयो— ‘मेरी छोरी आजदेखि तपाईं पनि छोरी भई, सानी छ, काम गर्न नआए सम्झाएर सिकाउनुहोला । यसकी आमाबाटको एक भाइ छ, म उसलाई समयसमयमा दिदी भेट्न पठाउँला, भेट्न दिनुहोला । यसले संसारमा सबैभन्दा धेरै माया भाइलाई गर्छे । आफ्ना सुख छोडेर भाइका निम्ति दुःख गर्न तयार हुन्छे ।’

ससुराले भन्नुभयो— ‘हुन्छ सम्धीज्यू, मेरो पनि एकै छोरो छ, तपाईंको छोरासँग सालाभिनाको मायाममता गरनन्, मेरो छोरैसरह मानूँला, तपाईंकी छोरी मेरी पनि छोरी, चिन्ता नलिनुहोला ।’

‘छोरी, राम्रोसँग बसेस्, अबदेखि यी तेरा बाबा ससुरा भए । सधैं भनेको मान्नू, श्रीमान्ले भन्या पनि मान्नू, म जान्छु,’ बाबाले अँध्यारो अनुहार बनाएर मलाई भन्नुभयो ।

म रुँदै बाबाको अँगालोमा बेरिन पुगेछु । थाहै भएन । बाबा पनि रुनुभयो । केही बेरपछि हिंड्नुभयो । म चिन्दै नचिनेको घरमा बुहारी भएर भित्रिएँ । छोरीको कर्म हारेको हुँदो रहेछ भन्ने लाग्यो । जुन घरमा जन्मेर जन्मजमान्तरको नाता हुन्छ, त्यस घरका सबैलाई चटक्क छाडेर अपरिचत घरमा आएर बस्नुपर्दा साँच्चिकै मन रुँदो रहेछ ।

बाबा र फुपू निस्कनुभयो । मेरा आँखा ओभाएनन् ।

म रोएको देखेर मेरा ससुराबाले मन अमिलो पार्दै भन्नुभयो— ‘बुहारी, मेरा छोरी छैनन्, मेरी बुहारी भए पनि, छोरी भए पनि तैं होस् । यो घर आफ्नै सोचेर बस्नू । आज यहीं सुत्, हामी बाबुछोरा भित्रको कोठामा सुत्छौं ।’

उहाँहरु भित्रपट्टिको कोठामा लाग्नुभयो ।

म बेडमा पल्टें । ओछ्याउने राम्ररी मिलाएर पल्टिएँ । तर घरको यादले नौलो घरमा सुत्नै सकिनँ । रातभर अनिदै बसिरहें ।

( जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा प्रकाशित उपन्यासकार रोकायको उपन्यास कृति ‘धर्मकन्या’ को अंश)

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।