सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने अन्तिम तयारी, कति होला नयाँ उचाइ ?

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथालाई विश्वकै शीर मानिदै आएको छ । सगरमाथाकै कारण विश्वमा नेपालको छुट्टै पहिचान र गरिमा छ ।
सगरमाथाको अहिलेसम्म मानिदै आएको उचाइ ८,८४८ मिटर छ । यो पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी कायम गरिएको सगरमाथाको उचाइ हो । त्यस यता हालसम्म अधिकारिक रुपमा सगरमाथाको उचाइ मापन गरिएको थिएन ।
त्यसैले नेपाल सरकार आफैंले आर्थिक वर्ष २०६५÷६६ बाट नै सगरमाथाको उचाइ मापन शुरु गरेको थियो । झण्डै डेढ दशक लगाएर सरकारले उचाइ मापन कार्य सम्पन्न गरेको छ तर अहिलेसम्म नयाँ उचाइबारे केही जानकारी सार्वजनिक गरेको छैन ।
सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो’सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौं ।’
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमान गरिएको छ । यहीबीच नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।
सगरमाथाको नयाँ उचाई घोषणा गर्न बुधवारको मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृति दिएपछि मन्त्रालयलयले आवश्यक तयारी अगाडि बढाएको छ ।
मन्त्री अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृति प्रदान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो ।
मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछि अब केहीदिनमा कार्यक्रम बनाएर औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्ने मन्त्रालयको तयारी छ ।
सन् २०१९ मा चीनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सँयुक्तरुपमा घोषणा गर्ने सहमती भएको थियो । सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।