Logo माघ ९, २०७७ शुक्रबार


कविता : छोरीलाई सहन कर छ हो ?

प्रत्येक साँझ सात बजे फोन गरेर
‘हेल्लो’ भन्नुभन्दा पहिला कोठा पुगिस् भन्दा
‘छैन बाटोमै छु’ भन्ने मेरो भारी वाक्य सुनेपछि
लामो सास र सानो आवाजमा
पुगेपछि फोन गरेस् है भन्ने मेरी आमालाई
मैले कहिल्यै भन्न सकिनँ–
‘आमा, जा…गिरबाट कोठासम्म पुग्दाको साँझको यो एक घण्टा
तपाईकी छोरीका लागि एउटा जुनि कटाए बराबर हुन्छ’ ।

भूत भनेपछि औधि डराउने,
बत्ति निभाइदिए निदाउनै नसक्ने त्यो छारी
यो ठूलो शहरको, यो ठूलो घरको, यो सानो अँध्यारो कोठामा
बत्ति निभाएर एक्लै कसरी सुत्दिहो भन्ने सम्झिएर
मध्यरातसम्म निदाउनै नसक्ने मेरो बुबालाई
मैले कहिल्यै भन्न सकिनँ,
‘बुबा भूतसँग डराएर मान्छेहरुको साहारा खोज्ने तपाईकी छोरी
आजभोलि मान्छेहरुसँगै डराउन थालेकी छ ।

भेडाबाख्रा झैँ मान्छे कोचिने यी गाडिहरुमा
को–कोबाट, म कताकता मात्र छोइँदी हूँ,
हतारिँदै हिँडिरहँदा बाटो छेउ जिब्रो पड्काउँदै
बस्नेहरुको गिद्दे नजरबाट म कति पटक बलात्कृत हुँदी हूँ,
मुटुमा गाँठो बनाइ, सबै सहेर कोठासम्म पुगेकी म
भित्रबाट ढोकाको चुक्कुल हालेपछि
लामो सास फेर्दै, त्यहि ढोकामा अढेस लाग्दै
दिनभरि मेरा सामानका भारी बोकेर थाकेको मेरो झोला
र दिनभरि मेरै भारी बोकेर थाकेका मेरा गोडा
दुबैलाई भुइँमा बिसाएर
कसैले सुन्लाकि भनि आवाज दबाएर
म कति रुँदी हूँ,
कहिल्यै हिसाब भएन, अहँ कहिल्यै ।

घरमा साना साना कुरामा विद्रोह मच्चाउने म
मर्छु, अन्याय सहन्न भनि चिच्याउने म
अन्याय कति सहन्छु, मर्न कति डराउँछु
तब थाहा भयो जब मलाई नै
जिस्काइहेका एक हुल दानवहरुलाई झपार्न भनि
शब्द रचिसकेको मेरो मस्तिष्क, तयार भइसकेको मेरो मन
र, अघि बढिसकेका मेरा पाइलाहरु एकैपटक रोकिए
भोलि पनि यहि समय मैले यहि बोटो हिड्नुपर्छ भन्ने सम्झिएर ।

बिहानको क्याम्पस पढाइ, दिनभरिको कामको थकाइ
हाकिमको त्यो बेनियत छुवाइ,
गाडिभित्र हुने अप्रत्यक्ष अत्याचार,
हिँडिरहँदा ठोक्किन आइपुग्नेहरुको कुनियत व्यवहार,
मेरै बाटो ढुकेर बस्नेहरुको मलाई देखेपछि फुर्ने ती अपच्य वाक्यहरु
सबै आँसु बनि आँखाको डिल हुँदै
गालाका पहाडहरु पार गरेर
चिउँडोबाट झरना बनि झरिदिन्छन्,
निराशा र हतोत्साहले गाँज्दै गएको मेरो मन
विस्तारै विस्तारै मरिदिन्छ, अनि
त्यहि आँसुको झरनासँगै सारा सपनाहरु बिगिदिन्छन् ।

कति पटक काम गरेको ठाउँ परिवर्तन गरेँ,
कति पटक चढेको गाडि परिवर्तन गरेँ,
कति पटक हिँडेको बाटो परिवर्तन गरेँ,
अनि कति पटक आफ्नै मन,
तर अरुको मन दुखाएर, आफ्नो मन सन्तुष्ट भएको भान हुनेहरुले
कहिल्यै बुझेनन् सँधै यहि बाटो हिँड्ने केटी
आजभोलि देखिन छाड्नुमा कारण हामी हाँै भनेर ।

मेरी आमा मलाई सँधै भन्नुहुन्थ्यो
‘छोरी, अबेरसम्म बाहिर नबस्नु,
अन्जान मान्छेसँग त्यसरी गफ नकस्नु,
धेरै नमस्कनु, नजिस्कनु
तर मैलै कहिल्यै सुनिन कि
मेरी आमाले मेरा भाइहरुलाई भन्नु भएको
‘छोरा, अरुकी छोरी नजिस्काउनु, नसताउनु,
कसैप्रति गिद्दे नजर नलगाउनु,
कुनियतले नहेर्नु,’
किन आमा ? किन ? छोराहरुलाई जे गर्न छुट छ ?
छोरीहरुलाई जे सहन कर छ हो ?

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संसद विघटनको मुद्दाको सुनुवाइ शुरु हुने वित्तिकै महान्यायाधिवक्ता अग्नि खरेल अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि…

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।