Logo बैशाख २, २०७८ बिहीबार


क्लासिक : उहाँले भन्नुभयो– ‘………..’

–श्याम गोतामे
मूर्ति–चोर र मूर्ति–अपहरणकर्ताहरुको संयुक्त शिष्टमण्डलका प्रधानले मूर्ति–चोरीसम्बन्धी तथ्यांकलाई कुनै पत्रिकामा प्रकाशित गराउनु सट्टा मूर्तिहरु नै चोरेर अथवा ‘निर्ममतापूर्वक’ अपहरण गरेर सरकारलाई नै तथ्यांक संकलन गराउन बाध्य गराएकोमा स्थितिको पवित्रता र उच्च आकांक्षाको सम्बन्धमा एकजना पत्रकारद्वारा सोधिएको प्रश्नको उत्तरमा आफ्नो मन्तव्य पेश गर्दै एकजना सम्बन्धित सरकारी प्रवक्ताले अनौपचारिक रुपमा भन्नभयो–

‘मूर्ति चोरहरुको जहाँसम्म प्रश्न छ तिनीहरुलाई कडा सजायँ (ऐन–सवाल, रुल–नियमबमोजिम) दिइनेछ । यो संगठन (चोरहरुको संगठनको प्रादुर्भाव हुनु राजनीतिक दृष्टिकोणले स्वागतयोग्य कुरा हो ) को जरैदेखि उन्मूलन गराउनमा सरकारी यन्त्र कटिबद्ध छ । अन्तराष्ट्रिय मूर्ति अपहरणककर्ताहरुसँग कूटनैतिक आचारसंहिताको सीमाभित्र रही सद्व्यवहार गर्नुपर्ने हुँदा उहाँहरुलाई चाँहि टिप्पणी सदर भएबमोजिम ‘जमानत’–मा छाडी कारबाही चलाउने र राष्ट्रिय मूर्ति चोरहरुका हकमा भने रुल नियमबमोजिम खोरमा थुनी कारबाही चलाउने योजनाको तर्जुमा हुँदैछ । अतिथि–प्रेम र उदारवादिताको ‘कारबाही’ गरिनेछ । कसैलाई (मर्यादाले खिचोला र ‘सोर्स’ नपुर्याएको खण्डमा) काखा र कसैलाई पाखा गर्ने कुरा भने यस ममलामा चाँहि हुनेछैन ।

राष्ट्रिय मूर्ति चोरहरुले मूर्ति ‘चोरी’ गरेका छन् । तसर्थ तिनमाथि चोरीमा कारबाही गर्नुपर्ने र अन्तराष्ट्रिय अपहरणकर्ताहरुले मूर्तिहरुको ‘निर्ममतापूर्वक अपहरण’ गरेकाले निजहरुमाथि अपहणमा कारबाही गर्नुपर्ने देखिन्छ । ‘संगठनको हकमा भर्खरैजसो अस्तित्वमा आएको ऐनको कार्यान्वयनको उद्घाटन यसै संगठनलाई नियन्त्रित गरेर गर्ने योजना गरिएको छ ।

उहाँले भन्नुभयो, –‘हुन त काठमाडौंबाट जुम्ला गएर उही दिन फर्कनसक्ने कार्यक्रम बनाउन सकिन्छ तर पैदल यात्रा गर्नुपर्दा झण्डै एक महिनाजति त पुग्नैमात्र लाग्ला भन्ने मैले अड्कल काटेको छु । हेलिकोप्टरको झ्यालबाट देखेमुताबिक हाम्रो देशलाई मैले डाँडा नाला र खोला–काँडाले विभूषित पाएँ । भ्रमणले अनुभव र व्यक्तित्व खारिन्छ । त्यसमाथि पनि हेलिकोप्टरको भ्रमण गर्दा त भूइँमा खुट्टा नै हुँदैन । ‘सुनेकोभन्दा देखेको पाको’ भन्ने उक्तिमुताबिक म यो निष्कर्षमा पुग्न बाध्य भएँ कि हाम्रो देशमा यातायातको अत्यन्त नै असुविधा रहेछ ।

सिंहदरबारबाट भोल्गा कारमा बसेर पुल्चोक पुगुन्जेलसम्ममा जीउका जोर्नी जोर्नी फतक्क गल्दछन्, आँखा पोल्न थाल्दछ, ज्वरो नै आउलाझैँ हुन्छ र आफ्नो ड्राइङ्ग रुममा खुट्टा टेक्ने बित्तिकै औषधिस्वरुप एक ‘पेग’ सेवन गर्न म बाध्य हुन्छु । ‘भोल्गा’ को सवारीमा त यस्तो थकाइ लाग्छ भने पैदल हिंड्दा हुने दुख–कष्ट र थकाइको वर्णन मैले गर्न परेन । मानिसलाई आराम चाहिन्छ र आरामका लागि साधन जुटाउने काम पनि ‘देश–विकास कार्यक्रम’ अन्तर्गत कार्यान्वयन हुने कार्यहरुमध्ये एउटा हो । देश विकासका लागि कार्यन्वयन गरिने बतासे योजनाको शिलान्यासको क्रमको पहिलो चरणको रुपमा आज मेरो करकमलबाट हुन लागेको यो ‘मान्छे बिसौनी’ को शिलान्यास समारोहले ऐतिहासिक र अध्यात्मिक महत्व राख्दछ । जनताको सेवाको निम्ति जनताद्वारा नै बनाइने पाटी–पौवामा पसल थापेर बस्ने जनता (उद्योगप्रेमी) लाई स्थान उपलब्ध हुन गई देशको औद्योगिक विस्तारलाई समेत टेवा मिल्ने हुँदा यो मान्छे बिसौनीको औद्योगिक भविष्य उज्वल र प्रतीकात्मक छ । यसैैसँग जोडिएर भर्खरै अस्तित्वमा आएको ‘अल्ट्रा मडर्न भट्टी’ ले (जसको उद्घाटन यसै शिलान्यास समारोहको लगत्तै मेरै करकमलबाट हुनेछ ) पनि थकित बटुवाहरुलाई माइक्रोफाइण्ड एस्प्रोको काम दिनेछ र थकित पैदल यात्रुहरुमा त्यस विदेशी औषधिप्रति अनासक्ति उत्पन्न गराई स्वदेशी ‘रिफाइण्ड लिकर’ को सेवन गर्ने प्रेरणा दिई राष्ट्रको ‘रस उद्योग’ ले पश्रय पाउने हुँदा एक काम दुई पन्थ सम्पन्न गराउला भन्ने कुरामा म विश्वस्त छु ।

देशले सर्वत्र विकास गरिरहेछ । नेता गतिशील छन् भने जनता प्रगतिशील छन् । एकातिर जेट युगमा नेपालले पदार्पण गर्यो कि जेटले नेपाल युगमा प्रवेश गर्यो भन्ने विवादास्पद प्रश्न विद्यमान छ भने अर्कोतिर हामी आफ्नो पुरातनवादी उच्च विचारधारालाई सुदृढ गराउने क्रममा देशको ऐतिहासिक र भविष्यका पुरातात्विक निधिहरुको शिलान्यास गरेर ती प्रश्नहरुको उत्तर गौरवपूर्ण पारामा दिँदैछौँ ।
एउटा सार्वजनिक समारोहमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पित गर्दै उहाँले भन्नुभयो–

‘हामी नै भविष्यका शहीद हौँ । हाम्रो तस्बिर पनि वर्षेनी एक पटक भूगोल पार्कमा लहरै राखिनेछ । एक वर्षसम्म बन्द कोठा (स्टोर) मा थुनामा रहनुपर्ने शहीदहरुले पनि ताजा हावा र माघे घाम ताप्न पाउनेछौँ । ऐतिहासिक थितिहरुको सञ्चय सुरक्षित हुनै पर्दछ । अनिमात्र शहीदहरुको सपना साकार हुनेछ ।

साथी हो ! यी नै शहीद सप्ताहका महत्वहरु हुन् । श्रद्धाञ्जली अर्पित गरेरमात्र हाम्रो कर्तव्य पूरा हुँदैन । तसर्थ आगामी वर्ष पनि परम्पराअनुसार नै यही जोश र यही पारामा यसै प्रकारको भव्य समारोहको आयोजना गरी ‘शहीद सप्ताह’ मनाउने दृढ प्रतिज्ञा हामीले गर्नुपरेको छ । अनिमात्र शहीदहरुको सपना साकार हुनेछ ।
तसर्थ, म नारा लगाउँछु, ‘शहीद सप्ताह’
तपाई भन्नुहोस, ‘मनाउँछौँ–मनाउछौँ’ ।

नेताजीले अतीतदेखि सञ्चय गरिराख्नुभएको जोश एकै पटक झिकेर भन्नुभयो–‘शहीद सप्ताह’, उपस्थित जनसमुदायले सभास्थल नै थर्काउँदै भने–‘मनाउँछौँ…मनाउँछौँ ।

शहीद सप्ताहको अन्तिम दिन ‘निराकार’ शहीदहरुले आफू भूगोलपार्कको पेटीमा साकार भएर प्रदर्शित हुनपाएकोमा आ–आफूमा कानेखुसी गरे । गङ्गालालले लामो सास फेर्दै भने–‘शास्त्रीजी ! अब हामी कहिले ‘साकार हुन पाऔँला ?’

शास्त्रीजीले चश्माको धूलो पुछ्दै गम्भीरताका साथ भन्नुभयो, –‘जनता हाम्रो सपनालाई साकार तुल्याउनमा व्यस्त रहेको हुँदा हामीले पुनः साकार हुने पालो त आजको ठीक एक वर्षपछिमात्र पाऔँला !’

दशरथचन्द्रज्यूले मन्द–मन्द मुस्कानका साथ दुवैको सवाल जवाफको समर्थन गर्नुभयो । ०००

(व्यंग्यकार गोतामेको हाँस्यव्यंग्य कृति ‘जदौ’ २०२८ सालमा प्रकाशित भएको थियो । प्रस्तुत व्यंग्य निबन्ध सोही कृतिबाट साभार गरिएको हो । –सम्पादक)

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…