भारतमा बर्ड फ्लुको संक्रमण बढेपछि पर्सामा उच्च सतर्कता

पर्सामा । भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पर्सामा उच्च सतर्कता अपनाइएको छ ।
१ सय ७ किलोमटिर खुल्ला सीमाना रहेको पर्सामा वैध/अवैध दुवै हिसाबले पन्छी र पन्छीजन्य पदार्थ भित्रिने गरेकोले बर्ड फ्लु भित्रिन नदिन विशेष सतर्कता अपनाइएको हो ।
भारतबाट आउने पन्छी र पन्छीजन्य सबै वस्तु नेपाल ल्याउनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बर्ड फ्लुका बारेमा सञ्चारमाध्यमबाट प्रचार प्रसार गरेर सचेतना फैलाउने निर्णय पनि सरोकारवालाको बैठकले गरेको छ ।
विशेष गरि सीमा क्षेत्रमा भारतबाट पन्छी तथा पन्छीजन्य बस्तुहरु ल्याएर बिक्री हुने गरेकोले कडाइका साथ अनुगमन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।