फेरियो अमेरिकी सत्ता, बाइडेनले गरे ४ महत्वपूर्ण घोषणा

राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले सम्हालेसँगै अमेरिकी सत्ताको नेतृत्व फेरिएको छ । नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएसँगै निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सत्ताको नेतृत्वबाट बाहिरिएका छन् ।
७८ वर्षीय बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सबाट शपथ लिएका छन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपति पदका लागि शपथ लिएकी छन् । ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले शपथ गराएकी हुन । ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित एसियाली मूलकी पहिलो महिला बनेकी छन् ।
क्यापिटल हिलमा आयोजित समारोहमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्लू बुस तथा बिल क्लिन्टन र पूर्वप्रथम महिलाहरू समेतको उपस्थिति थियो । समारोहमा बोल्दे बाइडेनले भने, ‘यो लोकतन्त्रको उत्सव हो । यो इतिहास र आशाको दिन हो ।’
आफ्नो कार्यकालमा जनचाहनाको सदैव कदर हुने र अमेरिकाले सामना गरिरहेको अभूतपूर्व चुनौती हटाउन सबै अमेरिकी एक हुनसमेत बाइडेनले आग्रह गरेका छन् । यो पटक राष्ट्रपति पदबाट बाहिरिएका डोनाल्ड ट्रम्प र नयाँ राष्ट्रपति बाइडेनबीचको तिक्ततापूर्ण सम्बन्ध असाधारण देखिएकाे छ । चुनावी पराजय अस्वीकार गरेका ट्रम्प बाइडेनको शपथग्रहण समारोहमा नै उपस्थित भएनन् ।
बाइडेनले कार्यभार सम्हालेको पहिलो दिनमै निवर्तमान राष्ट्रपति ट्रम्पका केही निर्णय उल्ट्याउने र केही नयाँ कार्यक्रम समेत सुरुवात गर्ने घोषणा गरेका छन् । उनले अमेरिकामा आगामी सय दिन भित्र बृहत् आप्रवासी योजना ल्याइने, मुस्लिम देशबाट अमेरिका यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने, जलवायु सम्बन्धि पेरिस सम्झौतामा फर्किने र मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने काम रोक्नेजस्ता ४ महत्वपूर्ण घोषणा गरेका हुन ।
त्यस्तै, कोरोना भाइरसका कारण उत्पन्न संकटका बेला विद्यार्थीलाई गरेको निष्कासन तथा ऋण भुक्तानीसम्बन्धी निर्णयसमेत बाइडेनले परिवर्तन गर्ने जनाइएको छ । बाइडेनले निर्वाचनका बेला नै प्रतिबद्धता गरेकामध्ये केही महत्त्वपूर्ण मुद्दाको प्रक्रिया पहिलो दिनमै अघि बढाएका हुन । चुनावी अभियानका बेला बाइडेनले अघि सारेको आप्रवासी योजनाले अमेरिकामा रहेका लाखौं विदेशीले बिना कागजात नागरिकता पाउने बाटो खुल्नेछ । बाइडेनले कोरोना राहत प्याकेजको भुक्तानी प्रक्रिया पनि अघि बढाउने बताइएको छ ।
बाइडेनको सत्तारोहणसँगै ट्रम्प प्रशासन पूर्ण रूपमा विस्थापित बन्ने भएको छ । बाइडेनले कार्यभार सम्हालेसँगै ट्रम्प प्रशासनका करिब ४ हजार कर्मचारी जागिरबाट बिदा भएका छन् । जुन पदहरुमा बाइडेनले कर्मचारी नियुक्त गर्नेछन् ।