Logo फाल्गुन १३, २०७७ बिहीबार


विज्ञान कथा : मेरो कथा नलेखिदिनु !

-इन्दिरा प्रसाई

मैले उनको हात सरक्क पञ्छाएर उनको अण्डरवेयर तल सारेँ । त्यहाँ देखिएको दृष्यले मलाई सखाप पारेको थियो । आन्टी …!’

एकनास बोलिरहेकी सुनितीका कुरा सुनेर कुनै सिनेमा हेरे झैँ भएर म लाटिएकी थिएँ । सुनिती बोल्न छोडेपछि म बिउँझिएझैँ भएकी थिएँ ।

‘नानू !’ मैले सुनितीको हात दह्रोसँग समातेकी थिएँ ।

‘आन्टी ! त्यहाँ केही थिएन आन्टी !’ ऋषभको अण्डरवेयरभित्रको ठाउँमा एउटा सानो प्वालमात्र थियो । त्यसपछिको समयमा मलाइ के भयो थाहा छैन । त्यसबेलाको अर्धबेहोसी अवस्थामा पुगेकी मलाई आफूले पहिरेको पारदर्शी नाइट गाउनको पनि हेक्का भएन, झन्नै अर्धनग्न अवस्थाकी म चिच्याउँदै आफ्नो कोठाबाट निस्केर सासूससुराको ढोका पिट्न पुगेकी थिएँ ।

आधारातमा म चिच्याएको सुनेर सासूससुरा दुवै एकैसाथ ढोका खोलेर मेरा सामू उभिएका थिए ।

‘के भो बुहारी, सपना नराम्रो देख्यौ ?’ सासूले मलाई अँगाल्न खोजेर सोधेकी थिइन् । ‘तपाईले किन मेरो जिन्दगीसँग खेल्नु भो ? तपाईको त्यस्तो छोरोसँग किन मेरो बिहे गर्नु भो ? तपाईँहरु पापी रै‘छ । भो मलाई यस्तो घरमा बस्नु छैन । मलाई नेपाल पठाइदिनुस । म भोलि नै फर्किन्छु । म सासूमाथि झम्टेकी थिएँ र मैले रुँदै, चिच्याउँदै भनेकी थिएँ ।

‘यस्तो दिन आउँछ भन्ने मलाई थाहा थियो सगुन ! तिम्रो जिद्धीले गर्दा यस्तो दिन पनि आयो । लौ अब आफ्नो शौखको नयाँ तमाशा हेर !’ ससुराले सासूलाई भनेका थिए ।

‘मलाई पनि के थाहा र यस्तो हुन्छ भनेर अनूप । लौन अब के गर्ने ?’ रुञ्चे श्वरमा सासू ससुराको आडमा पुगेर बोलेकी थिइन् । मेरो विभत्स रुप देखेपछि शायद सासू पनि डराएकी थिइन् ।

मलाई त्यसबेला लाज, डर, घिनको अर्थै थिएन । ममाथि सिङ्गै आकाश खसेको थियो । मेरो होस हवास सबै उडेको थियो ।

सासू मेरो सामना गर्न नसकेर कुन बेला कुन बेला त्यहाँबाट लुसुक्क भागेकी थिइन् । ससुराले मलाई पाखुरामा समातेर आफ्नो कोठामा भएको एउटा सोफामा बसालेका थिए ।

रोइरहेकी मेरा गालाको आँसु उनैले पुछेका थिए । म पुरै बेहोस हुने अवस्थामा पुगेकी थिएँ । बेहाल भएको मनस्थितिमा भएको मेरो शरीरसँग पनि मलाई त्यसबेला केही सरोकार थिएन । त्यसबेला अनुभवी मेरा ससुराले मलाई शान्त पार्न कलात्मकरुपले मेरा संवेदनशील अङ्गहरु समेत श्पर्श गरेका थिए । मैले पनि त्यसबेला उनका कुनै पनि क्रियाकलापप्रति कुनै वाधाविरोध गरेकी थिइन् । कतिवेरसम्म रुँदारुँदै त्यसरात त्यही सोफामा म एक झप्को निदाएछु क्यारे ।

म विउँझिँदा कोठामा कोही थिएनन् । एक्कै छिन निद्रामा परुञ्जेल सबै थोक विर्सिए पनि बिउँझिनासाथ विपनाको तीतो सत्यले मलाई पुनः थङ्थिलो पारेको थियो ।

म विस्तारै त्यस कोठाबाट बाहिरिएकी थिएँ । आफ्नो अर्धनग्न अवस्था थाहा पाउँदा त्यसबेला म आफैँलाई लज्जाबोध भएको थियो । म हातरहतार आफ्नो कोठामा पुगेँ । त्यहाँ ऋषभ थिएन । म वासरुम पसेँ । त्यहाँको डे«सिङ टेबुलको ऐनामा आफ्नो अनुहार मैले अर्कै देखेँ । हिँजोसम्म विजयको उन्मादले उन्मत्त आभा भरिएकी म आज पराजयको शिकार भएर लत्रक्क परेकी थिएँ । छविमा देखिएकी म स्वयम् मेरै लागि विरानो लाग्यो मलाई ।’

यति बोलेपछि सुनिती थाकेजस्तै गरी चुप लागेकी थिई । सुनितीको कथा सुनिरहँदा मलाई नै पनि मानसिकरुपले लामो यात्रा गरे झैँ थकाई लागेको थियो । मैले सुनितीका लागि पल्लो कोठामा भएको फ्रिजबाट ठूलो गिलासमा र आफ्ना लागि सानो गिलासमा जुश हालेर ल्याएँ । सुनितीले एकै सासमा जुश रित्याएकी थिई । मैले विस्तारै पिई रहेँ । उसको पीडाले मसमेत पीडित भएकी थिएँ । मलाई त्यसबेला उसको अनुहार हेरिरहन पनि गाह्रो भएको थियो ।

तर म आफू कथाकार र ऊ पात्र भएकै कारण पनि मलाई उभित्र खामिएको उसको कथा अझै पोख्न मन थियो ।

‘अनि ?’ मैले एक झल्को सुनितीको आँखामा हेरेर पुनः आफ्नो दृष्टि फेर्दै उसको कथाप्रति कुतुहलता व्यक्त गरेकी थिएँ । सुनिती केहीबेर बोलिन ।

‘त्यसपछि वासरुममै मैले आफूलाई बलियो बनाएर जसरी पनि आजै नेपाल फर्किन्छु भन्ने निर्णयमा पु¥याएँ । अनि आफ्ना आवश्यक सामाग्रीको साथमा लगेज तयार गरेँ ।
त्यसपछि चकमन्न त्यस घरमा मैले मानिसको खोजि गरेँ । तर त्यस घरमा कोही थिएन । भुतघरजस्तो घरमा सधैँ आउने न्यानी पनि थिइन ।

‘ सबैजना कता गए ?’ मैले आफैँले आफूलाई प्रश्न गरेकी थिएँ । त्यसैवेला मेरो मोबाइल बजेको थियो । पहिलोपटक स्थानीय नम्बरबाट मेरो मोबाइलमा फोनको घण्टी बजेको थियो ।

‘तिमी फ्रेस भयौ ? त्यहाँ डाइनिङ टेबुलमा तिम्रा लागि ब्रेकफास्ट राखिएको छ । खाऊ ।केहीवेरमा तिमीलाई लिन मेरो ड्राइभर आउने छ । उसैसँग तिमी मेरो अफिसमा आउनु । त्यसपछि जे गर्नुपर्छ हामी गरौँला !’

मैले केहीबेर उताको आवाज सुनेपछिमात्र चिनेकी थिएँ । ती ऋषभका पिता थिए ।

मलाई भोक बेस्सरी लागे पनि खाने ईच्छा थिएन । तर मैले नखाएर पनि आफ्नो उद्येश्य पुरा गर्न सम्भव थिएन ।

मैले बे्रकफास्ट सक्नासाथ डोरबेल बजेको थियो । डोरहोलबाट बाहिर हेर्दा आँगनमा गाडी र ढोकामा ड्राइभरजस्तै पोशाकमा गोरा नै थियो ।

त्यसपछि म उक्त गाडी र ड्राइभरका सहयोगले ऋषभका पिताको अफिसमा पुगेकी थिएँ ।अझै पनि मेरो मष्तिश्कले सहज भएर काम गरिरहेको थिएन । त्यसैले म ती गोरा ड्राइभरको पछिपछि मात्र हिँडिरहेकी थिएँ । हिँजोको आजै मैले आफूलाई एकदम फरक मनस्थितिमा पाएकी थिएँ । हिँजोसम्मको मेरो झल्मलाउँदो संसार एकदम अन्धकारमा परिणत भएको थियो । त्यस अन्धकारमा मैले आफु हिँड्ने बाटो पहिल्याउन पनि मलाई गाह्रो भइरहेको थियो । निकै ठूलै घरमा पु¥याएर लिफ्टमा समेत चढाउँदै ड्राइभरले नै मलाई बाटो देखाइरहेका थिए । अनूप एण्ड सगुन एसोसिएट्सको अफिस निकै ठूलो थियो । ड्राइभरले क्रमिकरुपले कोठा र प्यासेजहरु पार गराउँदै अन्ततः मलाई ढोकामा ऋषभका पिताको नाउँ लेखिएको कक्षमा पु¥याएको थियो ।

उक्त कोठाको ढोकाबाट मलाई भित्र छिराएर ड्राइभर वाई गर्दै विदा भएको थियो ।

‘कस्तो छ अहिले तिमीलाई सुनिती ?’ ऋषभका पिताले मन्द मुस्कानका साथ मलाई निकै आँखा गाढेर हेर्दै प्रश्न गरेका थिए ।

‘मेरो नेपाल फर्किने टिकटको व्यवस्था भयो ?’

अब मलाई यी मानिससँग कुनै शिष्टाचार राख्नु छैन भन्ने निर्णय गरेकी मैले उनको अनुहारमा कठोरता पूर्वक हेरेर प्रश्न गरेकी थिएँ । तिनको कुटिल मुस्कानमा मैले हिँजो राति उनीबाट मेरो संवेदनशील क्षेत्रमा गरिएको श्पर्श मुछिएको अनुभूति गरिसकेकी थिएँ । तिनको मप्रतिको नियत पनि गतिलो नभएको अब मलाई पूरै थाहा भइसकेको थियो । त्यसैले पनि ती व्यक्तिप्रति मेरो कठोर भाव प्रस्तुत भएको थियो । मेरो जीवन वरवाद गर्ने यी पनि एक अपराधी हुन भन्ने यथार्थले पनि मलाई उनीसँग सहज बनाउने कुरै थिएन ।
मेरो कठोर प्रश्नपछि पनि उनी भने सहजरुपले नै आपूm बसिरहेको घुम्ने कुसीबाट उठेर म बसेकै सोफा अघिल्तिर आएर बसेका थिए ।

‘हेर नानी, अब सबै कुरा तिम्रा सामु खुलिसकेको छ । तिमीले रिसाएर समय र आफ्नो उमेर पनि खराबनगर । हिँजोको तिम्रो व्यवहारले आत्तिएर सगुन र ऋषभ सिंगापुर गइसके ।’
तिनको यस जानकारीले घरको चकमन्नताबारे मलाईस्पष्ट पारेको थियो ।

‘अपराधीले भाग्नै पर्छ नि, के अनौठो कुरा भयो र ? भैगो मलाई अरुको कुराको के मतलब ? म आजै नेपाल फर्कन्छु । मेरो टिकट खोई ?’ मैले अलि झर्केरै भनेकी थिएँ ।

‘सुनिती, सगुनले पनि अपराधै गर्छु भनेर गरेकी त होइन, तर मोहजालले यस्तो बनाउन पुग्यो ।’ उनले भनेका थिए ।

‘तीस वर्षअघि हामी दुईबाटै सन्तान हुन नसक्ने मेडिकल रिपोर्ट आएको थियो । उक्त रिपोर्ट पढेपछि हाम्रो सुखका दिन सकिएको थियो । मैले त सगुनको अनुहार र अफिसको व्यस्तताले सन्तानमा खासै महत्व राखिन । तर सगुनलाई सन्तान चाहिएको थियो । नेपालबाट धर्मपुत्र वा धर्मपुत्री ल्याउन सकिन्थ्यो । तर त्यस्ता अधिकांश धर्मपुत्र वा धर्मपुत्रीहरु हुर्केपछि आफ्ना मातापिताकै खोजिमा लागेको देखिएको थियो ।

‘ क्लोनिङ बेबी चाहिएमा सम्पर्क राख्नु होला’

त्यसै ताक सगुनको ईमेलमा कसैले एउटा विज्ञापन हालिदिएको रहेछ । त्यहाँ दिइएको फोन नम्बर र ईमेल ठेगानामा सम्पर्क राखेर सगुनले उक्त क्लोनिङ बेबी सन्दर्भका यावत कुराहरु बुझिछन् । त्यसपछि उनले उक्त बेबीका लागि अमेरिका जाउँ भनेर मलाई हुटहुटी लगाउन थालेकी थिइन् ।

‘कसैको हक पनि नलाग्ने, हामीले पैसा तिरेपछि हाम्रो हुने, हाम्रै लागि ती वैज्ञानिकले बेबी बनाएका रहेछन् । मेरो सपना विपना हुने भयो । हाम्रो पनि एउटा बच्चा हुने भयो ।प्लिज अनूप हामी छिट्टै जाउँ न । मेरो लागि तिमीले फेरि अरु केही गर्नु पर्दैन । यो एउटा बच्चा मेरा लागि किनिदेऊ ।’ सगुनको आग्रह दिनदिनै जिद्धीमा परिणत हुन थालेको थियो ।

हुँदाहुँदै सगुनले खान पनि छोडेकी थिई । भरखरै व्यापारमा केही अघि बढेको अवस्थामा त्यति धेरै पैसा तिरेर बच्चा किन्ने मनासायमा म थिइन । तर विस्तारै सगुन चाहिँ जीवनमरणकै सवालमा पुगेपछि मैले हारिदिएको थिएँ ।

त्यसपछि हामी अमेरिकाको न्यूयोर्क सिटीको निश्चित ठेगानामा भएको वैज्ञानिकको प्रयोगशालामा पुगेका थियौँ ।

समाचार सत्य थियो । विश्वमा पहिलो पटक सफलतापूर्वक उत्पादन गरिएको क्लोनिङ बेबी बिक्रीमा राखिएको रहेछ । तर हाम्रो दुर्भाग्य, परीक्षणका रुपमा उत्पादन गरिएकातीन ओटा क्लोनिङ बेबी मध्ये दुई बेबी बिक्री भइसकेका थिए । एउटा मात्र बेबी अब बाँकी रहेछ । सगुनले बेबी देख्नासाथ मोहित भएर बेबीलाई आफूसँग टाँसिसकेकी थिइन् ।

‘ यो बिक्रीको लागि होइन’

प्रयोगशालाको म्यानेजरले भनेको थियो । त्यसपछि हामी उक्त प्रयोगशालाका प्रमुख वैज्ञानिक म्यासेसँग भेट्न गयौँ । सगुनले आँखाभरि आँसु पारेर म्यासेसँग बेबी आफूलाई बेच्नका लागि अनुरोध गरेकी थिई ।

‘ यस बेबीमा प्रोडक्सन इरर छ । त्यसैले हामी यो बेबी बिक्री गर्दैनौँ । किनभने यस बेबीको सेक्सुअल अर्गेन छैन ।’

वैज्ञानिक म्यासेले जानकारी गराएका थिए । तर सगुनले उसका कुनै कुरा नै सुन्न मानिन । उ एकनास ‘बेबी मलाई देऊ ,मलाई बेबी देऊ’ भनेर रुन थाली ।

‘सगुन, म्यासेको कुरा ठीक हो, यस्तो बेबी किन किन्नु प¥यो । जिद्धी नगर । ’ मैले सगुनलाई सम्झाउने कोशिश गरेको हुँ ।

‘अनूप, मलाई यही बेबी चाहिन्छ ,मलाई उसको सेक्सुअल अर्गेन किन चाहियो र ? म तिमीसँग फेरि जिन्दगीमा केही माग्दिन, तिमीले जे भने पनि मान्छु । तिमीले मलाई किनिदिएका सबै गहना पनि सबै म तिमीलाई नै दिन्छु । रियल स्टेटको मेरो सबै शेयर पनि तिमीलाई नै फिर्ता दिन्छु । तर मलाई यो बेबी किनिदेऊ ।’ सगुनको एकोहोरो ढिपीमा ममात्र होइन, म्यासे पनि गलेका थिए ।

वैज्ञानिकले डिस्काउन्ट गरेर दिन्छु भनेको भए पनि मैले ऋषभका लागि गतिलै दाम तिर्नु परेको थियो ।

‘यो लिगल व्यापार होइन, त्यसैले यसको बील तपाईँहरुले पाउनु हुन्न । मेरो साथीको मेटर्निटी हस्पीटलबाट म वर्थ सर्टिफिकेट बनाउन लगाइदिन्छु । त्यसका लागि तपाईँहरुले थप अलिकति पैसा उक्त हस्पीटललाई तिर्नु पर्छ ।’

म्यासेले जे भने पनि मैले सगुनका लागि सबै कुरा सहजपाराले स्वीकार गर्नुको विकल्प मसँग त्यसबेला अर्को थिएन पनि । यो लोग्नेमानिस भन्ने जात स्वास्नीका अघिल्तिर किन यति कमजोर हुन्छ ? मैले कहिल्यै बुझ्न नसकेको कुरा यो, बुझ्यौ सुनिती ! स्वास्नीले रुँदै भनेपछि चाहिँदो नचाहिँदो जे कुरा पनि थप थप मान्ने जात हो लोग्ने भनेको । लोग्नेहरुको स्वास्नीका आँसुका अघिल्तिर विवेक भन्ने त हुँदै नहुने रहेछ, बुझ्यौ ? त्यसबेला सगुनका आँसुका धाराका अघिल्तिर मेरो पनि विवेक हराएको थियो । मैले नहुने कुरामा सगुनका सामुन्ने हारेका थिएँ । त्यसैले सगुनको सन्तुष्टिका अघिल्तिर मैले पैसाको मुख पनि हेरेको थिइन ।

यसरी सगुनले ऋषभलाई हाम्रा घरमा ल्याएकी थिई ।

ऋषभ सगुनको जीवनमा नआउञ्जेल सगुनले नानाथरीका रोगव्याधीहरु बोकेकी थिई । तर ऋषभ उसको जीवनमा आउनासाथ जादू भए जसरी उ चङ्गा हुन थाली । उ क्रमशः रोगहरुबाट मुक्त हुँदै गएकी थिई । ’

ऋषभका पापाको कुरा सुनेर म त्यसबेला केही बोल्न सकेकी थिइन । संसारमा यस्ता पनि घटना हुँदा रहेछन् भनेर म त अचम्म नै परेकी थिएँ ।

‘ यतिसम्म त ठिकै थियो, सुनिती ! मैले ऋषभको बिहे नगरौँ भनेर सगुनलाई धेरै सम्झाएँ । तर सगुनले फेरि अर्को जिद्धी समातेकी थिई । उसलाई ऋषभकी राम्री दुलही भित्र्याउने रहरले उद्युम मच्चाएको थियो ।

‘समस्या पर्छ, ऋषभ बिहे गर्न लायक छैन सगुन !’ मैले पटकपटक भनेको हुँ ।

‘नेपालको केटी बिहे गर्ने । सबै म सम्हाल्छु, तिमी केही चिन्ता नगर । तिमीले गर्दा मैले मातृत्व सुख प्राप्त गरेँ । म तिमीसँग जन्मजन्मसम्म अनुगृहित त छु नै । तर यत्ति ऋषभको बिहे गरी दिऊँ त्यसपछि म तिमीसँग केही माग्ने छैन ।’ सगुनले पुनः जिद्धी गरेकी थिई ।

म फेरि पनि पत्नीमोहमा परेँ । सुनिती ! अन्ततः यस अपराधमा म पनि सामेल भएँ ।’

त्यसबेला अनूपको स्वर साँच्चै आद्र भएको थियो आन्टी । एकैछिन मैले पनि आफूमाथि परेको बज्र विर्सेर उनको पीडालाई आत्मसात गर्न पुगेकी थिएँ । विवश लोग्ने मानिसको यो पीडाले कता कता मलाई आत्मसन्तुष्टि पनि दिन खोजेको थियो ।

अनूपले यो सबै कथाव्यथा मसँगै सोफामा टाँस्सिएर बसेर सुनाएका थिए । उनी मसँग अलि बढि नै टाँस्सिएको आभास भएपछि म त्यस सोफाबाट उठ्न खोजेकी थिएँ ।
‘बसन सुनिती, बस, हिँजो रातिको तिम्रो अवस्था देखेर मलाई निकै पीर प¥यो । एउटी युवतीको त्यस अवस्थालाई म महसुस गर्न सक्छु ।’ यसो भनिरहँदा उनले मेरा दुवै हात आफ्ना दुवै हातका वीचमा राखेर केही थिचेका थिए । मलाई उनको यो चर्तिकला ठीक लागेन । म उनीसँगैबाट जुरुक्क उभिएर अलिपर गएकी थिएँ ।

‘हेर्नुस, अब मलाई अरु कुनै कथा सुन्नु छैन । तपाई मेरा लागि नेपालको हवाई टीकटको बन्दोबस्त गरिदिनुस । म तुरुन्त नेपाल फर्कन चाहान्छु ।’
मैले अलि कठोर भएरै भनेकी थिएँ ।

‘ हेर सुनिती, तिमीलाई नेपालको टीकट लिइदिएर नेपाल फर्काउनु मेरो लागि ठूलो कुरा होइन, र तिम्रै लागि पनि यो ठूलो कुरा हुने छैन । तर तिमी नेपालबाट त्यस्तो धुमधामले बिहे गरेर आएकी हौ । अब एक्लै नेपाल फर्किएर कोकोसँग केके जवाफ फर्काउँछौ ? ठीक छ यहाँ तिमी ऋषभकी दुलही भएर अब नबस न , म तिम्रा लागि राम्रो जागीर, एपार्टमेन्ट र भेकलको व्यवस्था पनि गरिदिन्छु । हप्ताको छ दिन तिमी जोसँग जे गर मेरो तर्फबाट तिम्रो स्वतन्त्रतामा कुनै अवरोध हुने छैन । तर मसँग हप्तामा एक रात चाहिँ तिमीले बिताउनु पर्छ ।’

वाध्र्यक्य प्रवेश गरिसकेको व्यक्तिले मसँग यो कस्तो प्रस्ताव राख्दैछन् ? जसलाई उनैले पुत्रवधुका रुपमा सम्बोधन समेत गरिसकेका थिए, उसैसँग यो कस्तो सम्बन्धको आग्रह गरिरहेका छन् ?तिनको कुरा सुनेर मेरो मस्तिष्कले काम गर्न नसक्ने जस्तो भएको थियो । मेरो सारा शरीरमा दन्दनी आगो सल्केझैँ भएको थियो । मलाई तिनको अनुहारमै थुकिदिउँ झैँ भएर दिगमिग पनि लागेको थियो ।

‘छि… छोरी समान मसँग, हिँजोसम्मकी बुहारीसामु यस्तो घृणित प्रस्ताव राख्न तपाईँलाई शरम पनि लागेन ?’ म निक्कै कड्केर नै उनीसँग बोलेकी थिएँ । यसरी बोल्दा मेरो शरीर कामिरहेको थियो ।

‘सुनिती ! एउटी परिपक्व स्त्रीसँग अर्को परिपक्व पुरुषले सहमतीय समागमका लागि अनुरोध गर्नुमा शरम मान्नु पर्ने कुनै कारण छैन । स्त्रीपुरुष यौन सम्बन्ध भनेको सहमतीय हुनुपर्छ ।

चलिआएको सामाजिकता बिगारेर पशुवत रुपमा चौरमा बसेर मानवीय यौनक्रिया सम्पन्न गरिनु हुँदैन । चारपर्खालको बन्द कोठाभित्र यौनानन्द ग्रहण गर्न पाउनु मानवीय जीवनको उपलब्धि हो । पारम्परिक हिसाबले पुस्ता र वैज्ञानिक हिसाबले जीनभित्र सन्तानको जायजन्म हुनु वंशका लागि नै हितकर मानिँदैन । तर तिमी मेरी छोरी होइनौ न ऋषभ नै मेरो छोरो हो । अनि मानसपुत्र ऋषभद्वारा तिमीसँग शारीरिक सम्बन्ध पनि राखिएको छैन । अझ यौनको आकांक्षा पुरा हुन नसक्नाले विछिप्त भएकी तिमीसँग मैले हिँजो राति नै त्यस्तो सम्बन्ध राख्न सक्नु पथ्र्याे । तिम्रो आवश्यकता बुझेर पनि हिँजोको वातावरणमा मैले सामाजिकताको पालना गर्नु आवश्यक थियो । त्यसैले मैले हिँजो आफ्नो धर्म पालन गर्न सकिन । तिमी जीवन भोगाईको प्रारम्भिक अवस्थामा छौ ।कुरा बुझ्ने प्रयत्न गर सुनिती ! जुनसुकै सम्बन्ध भनेको पनि के हो र मात्र दिने र लिने त हो नि ! हरेक सम्बन्धका तरिका र शैली मात्र त फरक हुन्छन् !

हेर नानी, अझ म त व्यपारी मानिस हुँ । म संसारलाई व्यापारिकदृष्टिले नै हेर्छु र बुझ्छु पनि । मेरा लागि मानिसका हरेक सम्बन्ध भनेको सिर्फ व्यापार मात्र हो, फगत् व्यापार । त्यसबाहेक सबै आडम्बर !

मेरो विचारमा तिम्रो र मेरो वीच अब एउटा परिपक्व स्त्री र पुरुषको मात्र नाता छ । मलाई तिम्रो सौन्दर्यले परिपूर्ण यौवन रुचिकर भएकाले मैले तिमीसँग प्रस्ताव राखेँ । यसमा अन्यथा सोच्नुपर्ने कुरा अथवा शरम मान्नु पर्ने कुरा नै के छ र ? म शिष्ट र सभ्य तरिकाले आफूलाई मनपरेको कुरा तिमीसँगबाट किन्न चाहान्छु । मेरो सुझाव छ तिमी पनि अनावश्यक भावनामा नबगी समयले जुराएको यो स्वर्णीम अवसर र प्रकृतिले तिमीलाई भरिपूर्ण पारेको यसबेलाको रुप यौवनबाट सक्दो फाइदा उठाऊ । ’ वृद्ध खुलेरै बोलेका थिए ।

‘मलाई नेपाल आजै फर्किनु छ । मेरो टिकटको व्यवस्था गरिदिनोस् ।’ मैले निकै कठोरतापूर्वक फेरि पनि भनेकी थिएँ । वास्तवमा मलाई ती वृद्धको अनुहार हेर्न पनि मन लागेन ।

संसारमा यति निर्लज्ज मानिस पनि हुँदा रहेछन् भनेर मलाई ती वृद्ध अति नै घृणीत लागेका थिए । तर त्यसपछि उनले पनि केही भनेनन् ।

केहीबेर मै मेरा लागि टिकटको व्यवस्था भएको थियो । त्यसपछिआफ्नो पासपोर्ट, टिकट र लगेजका साथ म नेपाल फर्किएकी थिएँ ।’

अब सुनिती चुप लागेकी थिई । उसको अनुहार घनघोर वर्षापछिको आकाश झैँ उजेलिएको थियो ।

‘आन्टी, एउटा कुरा भन्छु है !’ सुनितीले अनुरोध भावमा भनेकी थिई ।

‘भनन् नानू भन !’

मैले उसको केश मुसार्दै भनेकी थिएँ ।

‘हजुर त कथाकार, तर मेरो कथा नलेखी दिनु है !’

मौन प्रतिउत्तरमा केवल उसको केश मुसारीरहेका मेरो हातले उसैगरी उसका केशराशी खेलाइरहेको थियो ।

मैले उसँग झुठो वाचा पनि त गर्न मिल्दैनथ्यो ।

समाप्त

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…