विद्यालय व्यवस्थापनको चुनावपछि युवकको हत्या, वडाध्यक्षसहित ४ पक्राउ

बझाङ । छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवाद भइ खुँडा प्रहारबाट सिंहकाे मृत्यु भएपछि वडाध्यक्ष सहित चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा २ नम्बर वडाका वडाध्यक्ष ३२ वर्षीय विकास ऐडी, ३२ वर्षीय ज्ञानबहादुर कडायत, ३५ वर्षीय केदार ऐडी, ३२ वर्षीय प्रकाश ऐडी छन्। प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको बताएको छ।
मृतक सिंह नेपाली कांग्रेसको भातृसंस्था तरुण दलका गाउँपालिका सदस्य थिए । विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट बनेकाहरूसँग झडपका हुँदा सिंहकाे मृत्यु भएकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयाे ।
हत्याको विरोधमा नेविसंघले बुधबार सदरमुकाम चैनपुर बजार बन्द गर्नुका साथै जयपृथ्वी राजमार्गसमेत बन्द गरेको छ। हत्यामा संलग्नलाई कारबाही गर्न माग राख्दै सदरमुकाम चैनपुरमा विरोध र्याली निकालिएकाे हाे ।