Logo बैशाख ३१, २०७८ शुक्रबार


‘संविधानको ठाडो उल्लंघन हुँदा मूकदर्शक बन्न सकिएन’

काठमाडौं । अदालतको अवहेलना मुद्दामा विपक्षी बनाइएका चार पूर्वप्रधानन्यायाधीशले संविधानको ठाडो उल्लंघन र अपमान भएको घटनामा आफूहरू मूकदर्शक बन्न नसक्ने जवाफ दिएका छन् । आफूहरूले अदालतको अवहेलना गरेको नभएर देशको कार्यकारिणी प्रमुखबाट नै संविधान मिचिएकोमा चिन्ता व्यक्त गरेको पूर्वप्रधानन्यायाधीशको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्माले सोमबार सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ दिनुभएको हो । शर्माले छुट्टै र अन्य तीन पूर्वप्रधानन्यायाधीशले संयुक्त जवाफ दिनुभएको छ ।

आफूहरूले यसअघि जारी गरेको विज्ञप्तिमा अदालतको अवहेलनाजन्य कुनै पनि विषय नरहेको रायमाझी, श्रेष्ठ र कार्कीले लिखित जवाफमा स्पष्ट पार्नुभएको छ । संविधानको उल्लंघन भएको अवस्थामा आफूहरू मौन बस्न नसक्ने विज्ञप्तिमा उल्लेख छ । ‘संविधानको ठाडो उल्लंघन भएको वा अपमान भएको घटनाको मूकदर्शक बन्न सक्दैनौँ र मौनव्रत धारण गर्न सक्दैनौँ,’ जवाफमा भनिएको छ ।

तीनैजना पूर्वप्रधानन्यायाधीशहरूले विचार र अभिव्यक्तिको स्वतन्त्रता सामान्य नागरिकझैँ न्यायकर्मीको पनि सरोकारको विषय रहेको उल्लेख गरेका छन् । ‘विज्ञप्ति आपत्तिजनक हो भने विज्ञप्तिको अनुहारबाटै गरे, विराएजस्तो देखाउन सक्नुपर्छ । मनगढन्ते आरोप बोकेर अदालतमा प्रवेश गराउनु न्यायका लागि सहयोग हुन सक्दैन । सामाजिक क्षेत्रमा छलफलका निम्ति जारी हुने वक्तव्य र अदालती फैसलाको अन्तर छुट्याउन सक्नुपर्ने हो,’ लिखित जवाफमा भनिएको छ ।

‘नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतालगायतका मौलिक हकको प्रयोग, प्रचलन र संरक्षणमा अन्य नागरिकझैँ पूर्वन्यायकर्मीको पनि सरोकार रहने कुरा प्रस्ट छ,’ आफूहरूद्वारा जारी गरिएको विज्ञप्तिमा अझै पनि अडिग रहेको भन्दै रायमाझी, श्रेष्ठ र कार्कीले लिखित जवाफमा अगाडि भन्नुभएको छ, ‘उक्त विज्ञप्तिमा संविधानको यथार्थ चित्रण गरी संवैधानिक पद्धतिको संरक्षणका लागि आह्वान गरिएको छ । संविधानको अध्ययन गर्ने, त्यसबाट धारणा बनाउने र सर्वसाधारणसँग विचार–विमर्श गर्ने जनताको मौलिक हक हुने भएकाले वैधानिक प्रक्रियालाई हस्तक्षेप नगरी आफ्नो हक अधिकार प्रयोग गर्न डराउनुपर्दैन भन्ने हामी ठान्दछौँ ।’

त्यस्तै, पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले पनि आफूहरुले जारी गरेको विज्ञप्तिमा कार्यकारिणी प्रमुखबाट भएको कार्य संविधानविरोधी रहेको प्रस्टीकरण दिनुभएको छ। ‘विज्ञप्तिले विचाराधीन मुद्दालाई इंगित गरेको छैन । कार्यकारिणी प्रमुखको संविधानविरोधी कदमप्रति चिन्ता व्यक्त गरेको हो,’ उहाँले आफ्नो लिखित जवाफमा भन्नुभएको छ ।

आफूहरूको विज्ञप्तिमा ‘यस्तो फैसला हुनुपर्छ’ नभनी कार्यकारी प्रमुखको कार्यको विवेचना गरिएको शर्माको जवाफमा उल्लेख छ । आफू पूर्वप्रधानन्यायाधीश मात्र नभई मानवअधिकार आयोगको अध्यक्षसमेत रहिसकेकाले यस विषयमा टिप्पणी गर्नुलाई स्वाभाविक रूपमा लिइनुपर्ने उहाँको जिकिर छ ।

सर्वोच्चलाई दिएको जवाफमा शर्माले भन्नुभएको छ, ‘वर्तमान संविधानले सरकार गठन हुन नसकेमा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था गरेको छ । हाम्रोमा लिखित संविधान छ । लिखित संविधान भएको हामीले हाम्रो संविधानलाई बिर्सेर अरू देशको परम्परा पछ्याउनुहुँदैन । उपरोक्त सही तर्कका आधारमा सार्वजनिक भनाइ प्रकट गर्नुबाट अदालतको अवहेलना हुँदैन ।’

जननिर्वाचित प्रतिनिधिसभा विघटनविरुद्ध विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशलाई तर्साउन अवहेलनाको मुद्दा दायर गरिएको थियो । तर, सर्वोच्चमा लिखित जवाफ दिँदै उनीहरूले प्रस्टसँग भनेका छन्– हाम्रो दृष्टिकोणमा प्रतिबद्धता यथावत् छ । त्रास देखाउन खोजिए पनि जनसाधारणको मनोबल गिर्न नदिनु हाम्रो जिम्मेवारी हो, मौन बस्दैनौँ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…