पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुईका दरले मूल्यवृद्धि गरिएको हो ।
नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय १६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँचले वृद्धि गरी ७२ कायम गरिएको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८ सय ९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको जनाएकाे छ ।