सरकार र नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडाैं । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । संघीय राजधानी काठमाडाैंकाे राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोलीका सदस्यहरुले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सरकार र विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्यहरु वार्ता मार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपाका माथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाई गर्ने सहमति भएको हो ।
सहमति पत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं । आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाईएको प्रतिवन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।’
हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो । सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लब समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयवहादुर चलाउने दिपक सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका बार्ता टोलीले वार्ता गरी विहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।
हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पार्नुभयो । हस्ताक्षर समारोह आयोजित राष्ट्रियसभाहलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी संञ्चारकर्मी र मन्त्री एवं नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खचाखच भरिएको थियो ।