Logo बैशाख २, २०७८ बिहीबार


कथा : पासपोर्ट

दिनेश रावल
दश बज्न दश मिनेट मात्र बाँकी थियो । परीक्षा शुरु हुन पनि दश मिनेट नै बाँकी थियो । म अझै त्रिपुरेश्वरको जाममा थिएँ । यो जाम छिचोलेर कहिले रत्नपार्क पुग्ने ? रत्नपार्कबाट शंकरदेव क्याम्पस (परीक्षा केन्द्र) पुग्न अर्को दश मिनेट लाग्छ । आज परीक्षा त जसरी पनि छुट्ने नै भयो । आत्तिएर पिसाब चुहिएला झैँ भइरहेको थियो । पसिनाले शरीर पूरै भिजिसकेको थियो । कहिले घडि, कहिले गाडीको झ्यालबाट बाटो हेर्दै थिएँ । कानैमा एउटा सँधै सुनिरहेको आवाज बज्यो, ‘हजार सपनाको माया लागेर आउँछ………’ । म झसंग भएँ । निन्द्रा छताछुल्ल भयो । मोबाइलमा फोन आइरहेको रहेछ । उनको फोन । साँच्चै जोडले पिसाब लागिरहेको रहेछ । पसिनाले निथ्रुक्क भिजेछु । छ्या..कस्तो नराम्रो सपना, ठ्याक्कै भोगिरहेको विपना जस्तै ।

फोन उठाउन खोजेँ । पसिनाले भिजेको हातले फोन टच भएन । फोन कट्यो । एक पटकमै फोन उठेन भने कति रिसाउँछे मोरी । रिसाइहोली । अब दोहोर्याएर गर्न उसको घमण्डले दिँदैन । यस्तै सोच्दै थिएँ । फेरि मोबाइलमा उही आवाज बज्यो ‘हजार सपनाको माया लागेर आउँछ……..’ उसैको फोन रहेछ । मैले सोचे जति घमण्डी पनि छैन ऊ ।

एक रिङमै उठाएँ । हेल्लो भन्न नपाउँदै ऊ पड्किन थालि, ‘के हो के पारा ? फोन उठाउन पनि कति गाह्रो ? अहिलेसम्म सुतिरहेका छौ ? म कति काम सकेर अफिस पुग्न लागिसकेँ तिमी भने दश बजेसम्म सुतिराख । के गरिखाने होला यो मान्छेले ।’

ऊ यस्तै हो सँधै कराइरहन्छे तर माया पनि औधि गर्छे । त्यसैले ऊ जति रिसाए पनि म हाँस्दै फकाउँछु, ‘नरिसाउन न प्यारी । म तिमीलाई अफिससम्म छोडिदिन आउँ ?’ ऊ अलि ठुस्किँदै भन्छे, ‘भयो पर्दैन दुःख नगर ।’ उसलाई थाहा छ मसँग उसलाई पुर्याइदिन सवारी साधन छैन । त्यसैले सँधै दुःख नगर म आफैँ जान्छु भन्छे । आज पनि त्यसै भनि । ‘अरे मैले दुःख गर्ने तिम्रै लागि त हो । कुनै दिन हाम्रो पनि गाडी हुन्छ । म गाडी पार्किङबाट निकालेर हर्न बजाउँदै तिमीलाई पर्खिनेछु । तिमी कति हर्न बजाएको आउँदै त छु भन्दै रिसाउँदै आउँछौ । म तिमीलाई अफिससम्म पुर्याइदिन्छु । साँझ तिमीलाई लिन आउँछु ।’ मेरो कुरा सुनेर ऊ गिज्याएको हाँसो हाँस्छे र भन्छे, ‘धेरै सपना नदेखाउ । चाँडै उठेर समयमै खाना खाउ । म अफिस पुगेँ पछि कुरा गरौँला ।’

ऊ मेरो कुरा पत्याउँदिन । पत्याओस पनि कसरी । अहिलेसम्म बुबाको कमाइ खाएर बसिरहेको छु । यति दुःख गरेर पढाइ सकेँ अहिले भने जस्तो जागिर पाउन यति मुस्किल छ । दुई महिनादेखि सर्टिफिकेट बोकेर हिँडेको हिँड्यै छु । सबैलाई निकाल्दै देखाउँदै गर्दा सर्टिफिकेट मैलिसक्यो । म थाकिसँके । तर जागिर पाइएन । सबैलाई अनुभव चाहिने कसैले जागिर नदिए अनुभव कहाँबाट ल्याउने ? सबैले आफ्नै मान्छे राख्नुपर्ने, आफ्नै मान्छे छनौट गर्नुपर्ने अनि हामी कोही नहुनेले कसरी जागिर गर्ने ?

केही दिनअघि अन्तर्वार्ता दिएको एउटा कम्पनीले नतिजा सार्वजनिक गर्यो । अन्तर्वार्ता राम्रो भएको थियो । छनौट भइहाल्छु कि भन्ने आशा थियो । तर नतिजा विल्कुलै सोचेभन्दा फरक अयो । नतिजा देखेर अब अरु ठाउँ कोशिस गर्ने जाँगर पनि मर्यो । अन्तर्वार्ताको दिन सयौँ मान्छेमध्ये मेरो छेउमा एउटा मेरै उमेरको केटा पनि थियो । खुब बोलिरहेको थियो । त्यो कम्पनीको ‘डिजिएम’ आफ्नै मामा भएको र आफ्नो जागिर पक्का भएको सुनाउँदै थियो । नभन्दै आजको नतिजामा उसकै नाम पहिलो नम्बरमा रहेछ । मेरो नाम मैले यहाँ पनि भेटिनँ ।

साँझ पर्न लागिसक्यो । मलाई आज खाना पनि खान मन छैन । मन भुलाउन बाहिर निस्कनु पर्यो भनेर नयाँबजारसम्म पुगेको थिएँ । मितकाका भेटिनुभयो । भएभरका गाउँका मान्छे आफन्त कीर्तिपुरमै बसेका छन् । यो कीर्तिपुर पनि आफ्नै गाउँजस्तो लाग्छ मलाई त । बाहिर निस्कियो कि कोही न कोही गाउँले वा आफन्त प्राय भेटिन्छन् । मितकाकालाई ढोग मात्र गरेको थिएँ सन्चो–बिसन्चोको खबर सोध्नुभन्दा पहिले , ‘के गर्दै छौ बाबु आजभोलि ? जागिर कता गर्न थाल्यौ ? लौ अझै बुबाको कमाइ खाएर बसिरहेको छौ ? यस्तो त भएन है अब त यसो घरतिर पनि हेर्ने बेला भयो बुबाआमा बुढा भए ।’ काकाको प्रश्नको ओइरो लाग्न थाल्यो ।

यी प्रश्न मेरा लागि नौलो होइनन् । घरबाट आमाबुबा, दिदी, काकाकाकीले फोन गर्दैपिच्छे सोध्ने प्रश्न यी नै हुन् । आफन्त साथीभाइ भेटिँदा गर्ने कुरा यी नै हुन् । हरेक दिन सुन्दा पनि मलाई यी प्रश्न पचाउन निकै मुस्किल लाग्छ । मितकाकालाई ‘केही गर्दै छु काका हुँदैछ ’भनेर टारिदिएँ र कोठा फर्किँए । अब त कहीँ निस्किन, पारिवारिक कार्यक्रममा जान, साथीभाइ भेट्न पनि डर लाग्छ किनकी मसँग यी काँडा जस्ता मनमै बिज्ने प्रश्नको सामना गर्ने सामथ्र्य नै छैन । बुबाको कमाइ खाएर यो उमेरसम्म बस्नु एउटा अपराध नै रहेछ । मलाई अपराधी महसुस हुन थालिसक्यो अब त ।

यति मेहनत गरेर पढेको छु केही त पक्कै गर्छु भन्ने आत्मविश्वास पनि गुमिसक्यो । साथदिने, हौसला दिने भन्दा ‘तनाव’ दिने मात्र भेट्छु । घरबाट आउने फोन उठाउन डर लाग्छ । बुबाले त्यही प्रश्न गर्नुहुन्छ सँधै, ‘जागिर भेटिस केटा ?’ आमा भन्नुहुन्छ, ‘ब्या हर्न माठा भयो । के सुत्तोछै तँ ? ठूलो भै भन्या फलेउटि पाइनिन् हेर लाटा । पढि पनि सकेली अब ब्या हर र नौकरी हर ।’ जिस्किएरै सहि कहिलेकाँही ऊ पनि आफ्नो मनको कुरा पोख्छे, ‘कुन दिन अर्को गतिलो केटो खोजेर पोइला गइदिन्छु अनि थाहा पाउँछौ ।’

सबैलाई आखिर चाहिने धनसम्पत्ति नै रहेछ । धेरै सोचेँ र आफ्नै सिद्धान्त विपरित एउटा निर्णय गरेँ सबैको खुसीका निम्ति । यति बेला अन्य सयौँ युवाहरु झैँ म पनि लैनचौरस्थित राहदानी विभागमा लाइन लागिरहेको छु । पासपोर्ट बनाउन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…