Logo जेठ ३०, २०७८ आइतबार


सम्झनामा कमरेड माधव पन्थी : खल्तिमा बीस रुपैयाँ नहुँदा ९ महिना जेल

नेपालजस्ता देशहरूमा असल मानिसको वास्तविक मूल्यांकन मरेपछि मात्रै हुन्छ भन्ने आम बुझाई सही हो जस्तो लाग्छ । पार्टी र देशलाई दिन मात्रै जानेका कमरेड माधव पन्थीकोे गतिशील जीवनका बारेमा सङ्क्षिप्तमा केही लेख्ने प्रयास गर्दै छु ।

–डा. विजयकुमार पौडेल
कमरेड माधव पन्थी यही जेष्ठ ९ गते बिहान १०.३० बजे चितवन मेडिकल कलेजमा कोरोनाको उपचार गर्दागर्दै बित्नुभयो । यो दुःखद खबर वहाँका जेठा छोरा डा. अनुप पन्थीले बताउनुभयो । मेरो लागि यो खबर असैह्य र पीडादायक थियो । कमरेड माधव पन्थी निको भएर उठ्नु हुनेछ भन्ने आशा अन्तिम समयसम्म थियो । अघिल्लो दिन, बेलुकी डा. अुनप पन्थीसँग मेरो कुरा भएको थियो । वहाँले बुवाको स्वास्थ्य अवस्था जटिल भए पनि सन्चो हुने आशा कायमै रहेको बताउनु भएको थियो ।

माधव पन्थीलाई कोभिडको आक्रमणले ग्रस्त हुनुभई चितवन मेडिकल कलेजमा लगिएको रहेछ । तर म आफैं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा कोभिडको उपचारमा रहेका कारण शुरुमा थाहा पाउन सकेको थिइनँ । जेष्ठ ६ गते बिहान मोबाइल फोनमा माधव पन्थीका कान्छा छोरा डा. प्रदीप पन्थीले संक्षिप्त सन्देश लेख्नुभयो– “अंकल, बुवा चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा हुनुहुन्छ, अवस्था अत्यन्त चिन्ताजनक छ ।” त्यसपछिका तीन दिन अत्यन्त छटपटीमा बिते । बेलाबेलामा डा. अनुप पन्थीलाई सोधिरहन्थें ।

विसं. २०३५ मा कमरेड माधव पन्थी

कमरेड माधव पन्थीले वास्तविक अर्थमा सादा जीवन उच्च विचार लाई सदैव अनुसरण गर्नुभयो । वहाँको सम्पूर्ण जीवन आदर्श कम्युनिस्टको प्रतिविम्ब थियो । वहाँमा जटिल राजनीतिक परिस्थितिका बारेमा गहिराईका साथ सरल र सटिक विश्लेषण गर्ने गज्जबको क्षमता थियो । अहंकार र घमण्डको लेस मात्रै पनि नभएको, कुनै निजी महत्वाकांक्षा नभएको, पद र प्रतिष्ठाको लोभले छुँदै नछोएको, चाकरी र चापलुसीलाई घृणा गर्ने, अभावका बीचमा पनि हाँसीहाँसी बाँच्न सक्ने माधव पन्थीजस्ता कम्युनिस्ट बिरलै भेटिन्छन् । पार्टीका उच्च तहका नेताहरूसंग माधव पन्थीको राम्रो सम्बन्ध थियो तर वहाँले आफ्नो लागि कहिल्यै केही माग्नु भएन । पार्टीका नेताहरूले जतिखेर जहाँ जान भने, वहाँ जानुभयो, जे जिम्मा लिन भने, लिनुभयो, लिएको जिम्मा कुशलतापूर्वक पूरा गर्नु भयो तर वहाँको सही मूल्यांकन कहिल्यै भएन ।

निरंकुश नेता, अनि नेतामुखी कार्यकर्ता भएपछि मूल्यांकनको विधि भनेको नेताको रोजाई हो, गुटको सिफारिस हो, गुटभित्र पनि चलाख हुनु हो ।

नेपालको कम्युनिस्ट आन्दोलनभित्र मात्रै होइन, कुनै पनि राजनीतिक पार्टी वा समूहमा कार्यकर्ताको मूल्यांकनको कुनै निश्चित विधि–पद्धति छैन । नेपालका सबै राजनीतिक पार्टीहरुमा अहिलेसम्मको कार्यकर्ता मूल्यांकनको विधि भनेको पार्टीका बैठकमा आवश्यकता पर्दाका बखत हुने छलफल हो, जसले चुनावमा टिकट र सरकार बनेका बखत राजनीतिक नियुक्ती दिन्छ । त्यो विधि पनि साँघुरिदै गएर सीमित नेताहरुमा र त्यसपछि पनि झनै खुम्चिएर पार्टीको अध्यक्ष (वा सबैभन्दा माथिल्लो पदको नेता)मा केन्द्रित हुने परिपाटी भएपछि माधव पन्थीजस्ता सोझा–सिधा मानिसलाई कसले हेरोस् । निरंकुश नेता, अनि नेतामुखी कार्यकर्ता भएपछि मूल्यांकनको विधि भनेको नेताको रोजाई हो, गुटको सिफारिस हो, गुटभित्र पनि चलाख हुनु हो । नेकपा (एमाले)को पछिल्लो अवस्था भनेको त जसले पार्टी अध्यक्षको चाकरीमा जयजयकार गर्न सक्यो, जसले गुटका स्वारे–द्वारेलाई खुसी पार्न सक्यो उसको उच्च मूल्यांकन हुने र अरु पाखा पर्ने आम अवस्था रह्यो । असल कार्यकर्ताले पार्टी र सरकार यसरी चलिदिए हुन्थ्यो, यस्तो नीति तथा कार्यक्रम बने हुन्थ्यो भनेर सुझावसम्म दिन नसकिने अवस्थामा पुगेको नेकपा (एमाले) पार्टीमा माधव पन्थीजस्ताको मूल्यांकनको के आशा गर्नु ?

नेपालजस्ता देशहरूमा असल मानिसको वास्तविक मूल्यांकन मरेपछि मात्रै हुन्छ भन्ने आम बुझाई सही हो जस्तो लाग्छ । पार्टी र देशलाई दिन मात्रै जानेका कमरेड माधव पन्थीकोे गतिशील जीवनका बारेमा सङ्क्षिप्तमा केही लेख्ने प्रयास गर्दै छु ।

आमा इन्दुमती र बुवा युवराज पन्थीको माहिलो छोरा माधवराज पन्थीको जन्म वि.सं. २०१६ साल आषाढ १७ गते गुल्मी जिल्लाको धुर्कोट, रजस्थलमा भएको थियो । बुवा युवराज पन्थी स्थायी शिक्षक हुनुहुन्थ्यो । देशमा भर्खरै आधुनिक शिक्षाको जग बस्दै थियो । सरकारी शिक्षकहरू देशको एक कुनाबाट अर्को कुनामा आवश्यकता अनुसार सरुवा गर्ने चलन थियो । यस्तै परिवेशमा युवराज पन्थीको पहिलो पदस्थापन कपिलवस्तुको तौलिहवास्थित श्री तौलेश्वर माध्यमिक विद्यालयमा भयो । त्यो वि.सं. २०२३ सालको समय थियो । यसै सालको मंसिरमा पन्थी परिवार तौलिहवामा बसाईं सर्यो । २०२६ सालमा युवराज पन्थीको सरुवा अर्घाखाँची जिल्लाको वाङ्लास्थित श्री जनज्योति माध्यमिक विद्यालयमा भयो । पन्थी परिवार पुनः पहाड फर्कियो–गुल्मी धुर्कोटमा । अर्को वर्ष बुवा युवराज पन्थीको सरुवा पुनः तौलिहवास्थित तौलेश्वर माध्यमिक विद्यालयमा भएपछि पन्थी परिवार पुनः मधेश झर्यो ।

कमरेड माधव र कमला पन्थी

माधव पन्थीको बाल्यकाल मधेश–पहाडका विभिन्न विद्यालयमा शिक्षा लिएर बित्यो । “जेठो दाजु मदनराज पन्थी तत्कालिन सोभियत रुसमा इन्जिनियरिङ विषय पढ्दै हुनुहुन्थ्यो भन्ने कुरा बुवाले बताउनु भएको हो । पारिवारिक भेटघाटका लागि आउनु भएको ठूलो दाजु २०२३ साल माघ ९ गते अध्ययन जारी राख्न भन्दै हिँड्नु भएको थियो रे । त्यसपछि वहाँ कता जानु भयो, आजसम्म कुनै जानकारी पाउन सकिएको छैन । त्यतिखेर म त धेरै सानो थिएँ, मलाई जानकारी हुने कुरै भएन । अर्को वर्ष, २०२४ सालमा, दिदी बित्नु भयो । यी दुई वर्ष हाम्रो परिवारका लागि धेरै पीडादायी भए ।” लामो सुस्केरा हाल्दै कान्छा भाइ डा.रामराज पन्थी बताउनुहुन्छ ।

माधव पन्थीको विवाह २०३८ साल जेष्ठ ६ गते रुपन्देहीको मोतीपुर निवासी कमलासँग भयो । अत्यन्त व्यवहार कुशल र दृढताकी प्रतिमूर्ती महिला श्रीमतीको रुपमा पाउनु वहाँको जीवनको एक सुखद संयोग थियो । मैले कमला पन्थीलाई दिदी भन्दै आएको छु । कमरेड माधव पन्थीको जोगीजस्तै फक्कड र लापरवाह जीवनशैली देखेर म बेलाबेलामा वहाँलाई जिस्काउँदै भन्ने गर्थें, “माधव गुरू, हाम्री दिदीसँग विवाह नभएको भए तपाईं साँच्चैको जोगी भएर हिँड्नु हुन्थ्यो होला ।” माधवले यो कुरा दिदी कमलालाई मेरै अगाडि सुनाउनु भएको थियो ।

माधव पन्थीका दुई छोरा अनुप र प्रदीपले चिकित्सा शास्त्रमा एम.डी. गर्नु भएको छ । जेठी बुहारी नर्स र कान्छी बुहारी डाक्टर हुनुहुन्छ । कान्छो भाइ रामराज पन्थी प्रतिष्ठित चिकित्सक हुनुहुन्छ । रोग र प्रकृतिको अगाडि कसको के लाग्छ र ? घरभरीका चिकित्सकहरूले सकेको मिहिनेत गर्दागर्दै पनि माधव पन्थीलाई असामयिक रुपमा गुमाउनु पर्यो ।

माधव पन्थीले काठमाडौंस्थित बाल्मिकी विद्यापिठबाट शास्त्री, नेपाल कानून क्याम्पसबाट स्नातक(बी.एल.) र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नु भएको थियो ।

काठमाडौंमा विद्यार्थी जीवन विताउँदा विरोध खतिवडा अनेरास्ववियु काठमाडौं जिल्लाको अध्यक्ष र माधव पन्थी सचिव हुनुहुन्थ्यो । “अहिले काठमाडौं उपत्यकाका धेरैजसो स्थापित पार्टी कार्यकर्ता र पार्टी नजिकका विभिन्न पेशामा आवद्ध बुद्धिजीवीहरु हाम्रै समयका अनेरास्ववियुका उत्पादन हुन् । माधव पन्थी निजी जीवनलाई बेवास्ता गर्नु हुन्थ्यो र संगठन निर्माणमा लागिरहनु हुन्थ्यो । अनेरास्ववियुको काठमाडौंको सचिव भएपनि वहाँलाई देशभरीको संगठनको चिन्ता लाग्थ्यो ।” विरोध खतिवडा अझै सम्झनुहुन्छ ।

विद्यार्थी जीवनमा खर्चको जोहो गर्नका लागि उपाय खोज्ने क्रममा माधव पन्थीले २०३५ सालमा नायब सुब्बाको अस्थायी जागिर खानुभयो । तत्कालिन नेकपा(माले)को भूमिगतरुपमा सक्रिय राजनीतिमा संलग्न भएका कारण वहाँले अस्थायी जागिरलाई भनसुन गरी निरन्तरता दिने वा लोकसेवाको परीक्षा दिनेतिर लाग्नु भएन । पार्टीले जहाँजहाँ जान भन्यो, त्यहाँत्यहाँ जाने र दिएको जिम्मेवारी पुरा गर्ने चरित्रका कारण वहाँले धेरै पटक जागिरसमेत छोडे हिँड्नु भएको थियो ।

माधव पन्थी परिवारका साथमा

माधव पन्थीसंग मेरो पहिलो भेट २०४४ सालमा बुटवलमा भएको थियो । त्यतिखेर वहाँ बुटवल क्याम्पसमा पढाउनु हुन्थ्यो । त्यसपछि वहाँसंग गहिरो मित्रता गाँसियो ।

पञ्चायती तानाशाहीका कठोर दिनहरुमा पार्टीलाई खुला रहेर काम गर्ने कार्यकर्ताको तीव्र्र आवश्यकता थियो । यसैले पार्टीको सल्लाह बमोजिम कहिले कुन जिल्लामा त कहिले कुन जिल्लामा शिक्षक भएर पार्टी संगठन विस्तारमा माधव पन्थीको भूमिका उल्लेख्य छ । जस्तो कि वहाँ २०४० सालमा सुर्खेत क्याम्पसमा शिक्षकको आवरणमा रहेर पार्टी काममा खटिनुभयो । त्यतिखेर पार्टी नेता वामदेव गौतम, जीवराज आश्रित र देवेन्द्र घिमिरे (नेकपा एमाले, अनुशासन आयोगका पूर्व सभापति)संग वहाँको घनिष्ठ सम्बन्ध रह्यो । यसैगरी २०४६ सालमा पाल्ही क्याम्पस नवलपरासीमा शिक्षक भएर पार्टी काममा सहयोग गर्नुभयो ।

वि.सं. २०४१ सालमा सुर्खेत क्याम्पसमा शिक्षक रहेकै बेला विदाको समयमा पार्टी संगठन विस्तारका लागि वहाँ चिसापानी (हाल कर्णाली पुल रहेको स्थान) मा जानुभएको थियो । अकस्मात वहाँसंग प्रहरीको जम्काभेट भयो । प्रहरीले झोला खानतलासी गरे । तत्कालिन नेकपा (माले)का दस्तावेजहरु भेटिएपछि प्रहरीले हतकडी लगाएर जिल्ला सदरमुकाम लैजान हिँडाल्यो । त्यो घटना संझिँदै माधवले भन्ने गर्नुहुन्थ्यो– “त्यतिखेर मसँग बीस रुपियाँ मात्रै भएको भए गिरफ्तारीमा पर्ने थिइनँ ।” खल्तिमा बीस रुपियाँसमेत नहुँदा वहाँ धनगढी जेल चलान गरिनुभयो । नौ महिनाको जेल बसाइपछि वहाँ रिहा हुनुभयो । घुम्दै–फिर्दै वहाँ २०४४ सालमा बुटवल क्याम्पस आइपुग्नु भयो ।

वि.सं. २०४६ सालको परिवर्तनपछि पार्टीले माधव पन्थीलाई जाजरकोट जिल्लामा खटायो । युवा कम्युनिस्ट नेता निरज आचार्य वहाँलाई सम्झिँदै भन्नु हुन्छ– “माधव पन्थी हाम्रो जिल्लामा पार्टी सचिव हुनुहुन्थ्यो । वहाँले नै अहिलेको युवा पुस्तालाई संगठित र प्रशिक्षित गर्नुभएको हो । मलाई पनि वहाँले नै कम्युनिस्ट बनाउनु भएको हो ।” माधव पन्थीको नेतृत्वमा जाजरकोटमा २०४८ सालको पहिलो निर्वाचनमै नेकपा(एमाले)ले कृष्णबहादुर शाहीलाई सांसद जिताउन सफल भयो । गज्जबको सांगठनिक क्षमता थियो माधव पन्थीमा ।

पहिलो आम निर्वाचन सकिएपछि जाजरकोटमा नयाँ नेतृत्व स्थापित गर्दै माधव पन्थी घर फर्किनुभयो । पार्टीले वहाँलाई गृहजिल्ला कपिलवस्तुमा काम गर्न भन्यो । त्यतिखेर तत्कालिन नेकपा (एमाले)का लागि तौलिहवामा दुई–चार घर मात्रै आश्रय पाउने ठाउँ थिए । वहाँ तौलिहवा क्याम्पसमा शिक्षक हुनुभयो र पार्टी काम शुरु गर्नुभयो । लामो समयपछि घरपायक जागिर थियो । परिवारमा खुसी छायो । २०५१ सालसम्म वहाँ कपिलवस्तु क्याम्पसमा अध्यापन गर्दै पार्टीको संगठन विस्तार र प्रशिक्षणमा सक्रिय हुनुभयो ।

विं.सं.२०४९ सालमा पार्टीका पुराना कार्यकर्ता तथा समाजसेवी पुरुषोत्तम आचार्यको अगुवाईमा कपिलवस्तुको बैरियामा सिद्धार्थ क्याम्पस खोल्ने अभियान शुरु भयो । म त्यतिखेर नेकपा(एमाले)को रुपन्देही जिल्ला कमिटीमा संगठित थिएँ । पुरुषोत्तम आचार्यले घरैमा आएर मलाई अर्थशास्त्र पढाइदिन अनुरोध गर्नुभयो । म आफू पूर्णकालिन कार्यकर्ता भएको कुरा बताएँ । वहाँले बिहान आठ बजे अगावै सकिनेगरी पिरियड मिलाइदिन्छु, अनि दिनभरी पार्टी काम गरे भैहाल्यो भनेर कर गर्नुभयो । चन्दा उठाएर तलब खुवाउनु पर्ने सामुदायिक क्याम्पसमा पढाउने जनशक्ति जुटाउनु गाह्राे थियो । अनिवार्य नेपाली पढाउने शिक्षकको रुपमा माधव पन्थीलाई ल्याइयो । माधवजी बिहान सिद्धार्थ क्याम्पसमा पढाउनु हुन्थ्यो र दिउसोको कक्षा भेट्न तौलिहवा जानु हुन्थ्यो । यसरी वहाँसँग डेढ वर्षजति संगै प्राध्यापन पनि गरियो ।

माधव पन्थी र विजय पैाडेल

वि.सं.२०४९ साल माघमा नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशन भएको थियो । त्यतिखेर पार्टीमा चलेको वैचारिक बहसमा माधव पन्थी जननेता कमरेड मदनकुमार भण्डारीको अगुवाईमा अगाडि सारिएको जनताको बहुदलीय जनवादको पक्षमा दृढतापूर्वक उभिनुभएको थियो ।
वि.सं.२०५१ सालको मध्यावधि चुनावपछि कमरेड मनमोहन अधिकारीको नेतृत्वमा देशमा पहिलो कम्युनिस्ट सरकार बन्यो । पार्टी काम सञ्चालनका लागि कमरेड वामदेव गौतमलाई उपमहासचिव बनाइयो । पार्टी विधानमा नभएको पद सिर्जना गर्दा त्यसले पछि के परिणाम ल्यायो भन्नेतिर अहिले जान चाहन्न । पछिको कुरा बेग्लै हो, नेकपा (एमाले)को सरकारलाई लोकप्रिय बनाउनका लागि कमरेड वामदेव गौतमको नेतृत्वमा पार्टीबाट देशव्यापी अभियान चलाइयो । कमरेड सी.पी. मैनालीलाई कारवाही गरी मन्त्रीबाट बर्खास्त गरिएको घटनाबाहेक त्यतिखेर पार्टी र सरकारको नेतृत्वका बीचमा गहिरो तालमेल थियो । सरकारले कुनै कदम चाल्नुअघि पार्टीको बैठकबाट सुझाव लिने व्यवस्थित प्रणाली कायम गरिएको थियो । कुनै पनि राजनीतिक नियुक्ति राज्य व्यवस्था विभागको सिफारिसमा स्थायी समितिले निर्णय गरेपछि मात्रै लागू गर्ने प्रणाली स्थापित गरिएको थियो ।

“पार्टी र सरकारका कामको व्यापक प्रचार–प्रसार हुनुपर्दछ, तपाईं प्रचार विभागको काममा पूर्णकालीन भएर खट्नेगरी तुरुन्तै काठमाडौं आउनु होस् ।” उपमहासचिव वामदेव गौतमको आदेश सुनेपछि घर पायक मिलेको जागिर चटक्क छोडेर माधव पन्थी काठमाडौं हिँड्नुभयो । पार्टी सरकारमा रहेको बेला कमरेड शंकर पोखरेललाई प्रचार विभाग प्रमुख बनाइएको थियो । पार्टीको केन्द्रीय प्रचार विभागमा रहेर इमान्दारीसाथ उत्कृष्ट काम गरेका थोरै नेतामा पर्नुहुन्छ माधव पन्थी ।

वि.सं. २०५२ साल भदौ १२ गते तत्कालिन सर्वोच्च अदालतले प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको मध्यावधी निर्वाचनको सिफारिसलाई खारेज गरिदियो । सरकारले अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय ग¥यो । त्यतिखेरका गृहमन्त्री के.पी.शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर सरकार बनाउने प्रस्ताव पार्टीको बैठकमा राख्नुभयो तर मनमोहन अधिकारीले त्यसो गर्नु गलत हुने बरु प्रतिपक्षमा बस्नु राम्रो हुने भनेर अडान लिनुभयो भन्ने सुनिएको हो ।

अहिलेजस्तो मन्त्री पनि हुने, भूगोलको पार्टी कामको इन्चार्ज पनि भई टोपल्ने काम त्यतिखेर हुँदैनथ्यो । सरकार राम्रोसंग चलाउनु नै मन्त्रीहरुको पार्टी काम हो भनिएको थियो । पार्टी सरकारबाट हटेसंगै पुनः कार्यविभाजन भयो । कमरेड शंकर पोखरेल प्रचारविभाग प्रमुखबाट हटाइनु भयो । सो जिम्मा राधाकृष्ण मैनालीलाई दिइयो । पार्टीको आदेशमा केही महिनाअघि मात्रै घर पायकको जागिर छोडेर आएको कार्यकर्ता, जसले दिएको जिम्मा कुशलतापूर्वक पूरा गरेको छ, उसलाई बिना कुनै कारण प्रचार विभागबाट हटाइयो, पार्टी कामको कुनै अरु जिम्मा पनि दिइएन । पार्टीमा नेता फेरिएसंगै कार्यकर्तालाई बेवारिसे बनाउने घृणित तरिकाको शिकार हुनुभयो माधव पन्थी । त्यतिखेर मेरो र वहाँको बीचमा धेरै अन्तरंग कुरा भएको थियो । तत्काल कपिलवस्तु फर्किनु अपमानजनक लाग्यो वहाँलाई ।

पार्टी कामका लागि स्वयंसेवक हुन सकिन्छ तर कामको जिम्मा नभएको अवस्थामा बेरोजगार बस्ने कुरै भएन । यसैले वहाँले चिनेका साथीभाइसँग काठमाडौंमा बाँच्ने आधार खोजिदिन आग्रह गर्नुभयो । सुवोध प्याकुरेलले सञ्चालन गरेको इन्सेक नामको संस्थामा जागिर गर्न थाल्नुभयो । पूर्णकालिन राजनीतिक कार्यकर्ता भएर बाँकी जीवन गुजार्ने योजनालाई वहाँले सदाका लागि त्यागिदिनु भयो । “मैले स्थायी जागिर नखाने नै विचार गरेको थिएँ । पार्टीले जहाँ पठाउँछ त्यहाँ जाने हो भने स्थायी जागिर खानु हँुदैन भन्ने सोँचाइलाई अब मैले त्यागिदिएँ । अब त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षाको तयारीमा लाग्छु । अब जागिर गर्र्दै आंशिक कार्यकर्ता हुने हो ।” मुटुमा भक्कानो पार्र्दै उहाँले भनेको झलझली सम्झिरहेको छु । २०५४ सालदेखि त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकमा नियुक्ति भएसंगै वहाँको स्थायी जागिरे जीवन शुरु भयो बुटवल क्याम्पसमा ।

नेकपा (एमाले)को छैटौं महाधिवेशन (२०५४ साल)मा महाकाली सन्धीको बारेमा पार्टीमा विवाद हुँदा माधव पन्थी र म लगायतका धेरै साथीहरूको यस्तो धारणा थियो– यो सन्धी हतारिएर संसदबाट अनुमोदन गर्नु गल्ति थियो तर यही विषयमा पार्टी विभाजनमा जानु हुँदैन । हामीले भारतीय पक्षलाई स्पष्टताका साथ भनिदिनु पर्दथ्यो– यो हाम्रो आन्तरिक मामिला हो । यसको बारेमा भविष्यमा छलफल गर्दै जाउँला । हाललाई यो सन्धी अनुमोदन गर्न सकिन्न । महाकाली सन्धीकै विषयलाई लिएर तत्कालिन नेकपा (एमाले) विभाजित भयो । माधव पन्थी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनुभयो ।

महाकाली सन्धीमा गल्ति भएको छ, यसबारे आत्मालोचना गर्नुपर्दछ भनेर मैले बुटवल गोलपार्कस्थित लालप्रसाद बस्यालजीको घरमा बसेको बैठकमा कुरा राख्दा तत्कालिन अञ्चल इन्चार्ज विष्णु पौडेलको जवाफ थियो– “कुनै पनि कुराको मूल्यांकनको समय आउँछ । अहिले त्यो समय आएको छैन, त्यतातिर नजाउँ ।” त्यसको केही दिन पछि रुपन्देही जिल्ला कमिटीको बैठक भएको थियो । सो बैठकमा माधव पन्थीले सोही आशयको कुरा राख्नु भयो । अञ्चल इन्चार्जको त्यही जवाफ थियो ।

माधव पन्थी, अशेष घिमिरे र विजय पाैडेल

कमरेड वामदेव गौतमको नेतृत्वमा नेकपा (माले) बनेको केही समयपछि पुनः पार्टी एकीकरणको कुरा भित्रभित्र चल्न थाल्यो । त्यतिखेर नेकपा (एमाले) कांग्रेसी सरकारले गरेको भ्रष्टाचारका विरुद्ध देशव्यापी आन्दोलनमा थियो । दुई महिना चलेको भ्रष्टाचार विरोधी आन्दोलनको क्रममा काठमाडौंमा विशाल आमसभा गर्ने र सो आमसभामा देशका प्रमुख भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने भनिएको थियो । ठूलो जोशका साथ देशभरीका कार्यकर्ता काठमाडौं ओइरिएका थिए । खुलामञ्चको प्राङ्गण, रत्नबाटिका, बीर अस्पताल अगाडिको सडक र विद्युत प्राधिकरण अगाडिको सडक भरिभराउ थियो । देशका प्रमुख भ्रष्टाचारीहरुको नाम सुन्न कार्यकर्ताहरू कान सोझ्याएर उभिएका थिए । कमरेड प्रदीप नेपालले देशको एक नम्बर भ्रष्टाचारी बामदेव गौतम हो भन्ने गरी विवरण सुनाउन थाल्नुभयो । धेरैको बीचमा कुराकानी हुनथाल्यो– ‘यो नेकपा (माले) र एमालेका बीचको एकीकरण रोक्ने योजना अनुसार गरिएको काम हो ।’ शुरुमा आमसभामा उपस्थित हुँदा कार्यकर्तामा जुन जोश थियो, फर्कँदा त्यति नै निराशा छाएको थियो । माधव पन्थी र मैले कुरा ग¥यौं– ‘के चाला हो यो ? के देशका एक नम्बर भ्रष्टाचारी वामदेव गौतम नै हुन् त ?’

पछि अञ्चल कमिटीको बैठकमा मैले कुरा उठाएँ– “भविष्यमा वामदेव गौतमसहितको नेकपा(माले)संग एकीकरण हुन्छ कि हुँदैन ? यदि वामदेव गौतम साँच्चिकै एक नम्बरका भ्रष्टाचारी हुन् भने निजसहितको नेकपा(माले)सँग एकीकरण गर्नु अनैतिक हुने छ । यदि एकीकरण गर्न चाहनु भयो भने तपाईंहरुले माफी माग्नु पर्नेछ ।” यस विषयमा पनि इन्चार्ज विष्णु पौडेलको जवाफ थियो– “यस विषयको समीक्षा गर्ने बेला भएको छैन । मौकामा समीक्षा गरिने छ ।”

डा.रामचन्द्र आचार्य, डा.माधव पन्थी र डा.कृष्णचन्द्र शर्मा (बुटवल बहुमुखी क्याम्पस)मा प्राध्यापन गर्नु हुन्थ्यो भने डा. कपिलदेव लामिछाने र बालकृष्ण भट्टराई भैरहवा क्याम्पसमा । वहाँहरू पार्टी विस्तार तथा प्रशिक्षणको शिलशीलामा रुपन्देही जिल्लाका सबै गाउँ र शहरमा पुग्नु भएको छ । यसमा माधव पन्थीको विशेष योगदान छ ।

म रुपन्देही जिल्लाको सचिव थिएँ । हाम्रो सल्लाहबमोजिम नै माधव पन्थी बुटवल क्याम्पस आउनु भएको थियो । उहाँ नेकपा (एमाले) रुपन्देही जिल्ला सल्लाहकार समितिको सभापति हुनुभयो । डा.रामचन्द्र आचार्य, डा.माधव पन्थी र डा.कृष्णचन्द्र शर्मा (बुटवल बहुमुखी क्याम्पस)मा प्राध्यापन गर्नु हुन्थ्यो भने डा. कपिलदेव लामिछाने र बालकृष्ण भट्टराई भैरहवा क्याम्पसमा । वहाँहरू पार्टी विस्तार तथा प्रशिक्षणको शिलशीलामा रुपन्देही जिल्लाका सबै गाउँ र शहरमा पुग्नु भएको छ । यसमा माधव पन्थीको विशेष योगदान छ । विडम्बना भन्नु कि के भन्नु, २०५९ सालमा मैले रुपन्देही जिल्ला छोडेपछि माधव पन्थी र राष्ट्रियस्तरका ती सबै बुद्धिजीवीहरूलाई पार्टी कामको ठोस जिम्मा दिनछोडिएछ, कहिलेकाहिँ काम पर्दा सम्झिने र औपचारिकता पुरा गर्ने बाहेक ।

नेकपा (एमाले) पाँचौ महाधिवेशनपछि नवाँै महाधिवेशन अगाडिसम्म म पार्टीको केन्द्रीय स्कूल विभागमा पनि थिएँ । देशका विभिन्न जिल्ला र भारत प्रवासका विभिन्न स्थानमा कमरेड माधव पन्थी पार्टी प्रशिक्षणका लागि पुग्नु भएको त्यतिखेरै हो । मैले नेकपा (एमाले)को नवौं महाधिवेशनपछि पार्टी कामको कुनै ठोस जिम्मा पाउन सकिन । आफूले नरुचाएका कार्यकर्तालाई जिम्मेवारीविहीन बनाउने वा नाम मात्रैको जिम्मा दिने, त्यही सीमित जिम्माको काम पनि गर्न नदिने ओली शैली शुरु भयो । त्यति हुँदाहुँदै पनि विभिन्न जिल्लाबाट प्रशिक्षणका लागि बोलाइन्थ्यो । यसै मेसोमा माधव पन्थी र म विभिन्न जिल्लामा पुगेका छौं । विर्सन नहुने कुरा के छ भने जहाँ जहाँ जिल्लाका साथीहरूले प्रशिक्षणका लागि बोलाएका बखत माधवजी र म पुग्यौं, हामीलाई बोलाउने कार्यकर्ताहरूले ओलीटीमबाट हप्काई खान्थे ।

त्रिभुवन विश्वविद्यालयको स्थायी जागिरे भैसकेपछि अध्ययन, लेखन र वृत्तिविकासतिर पनि माधवजीको ध्यान केन्द्रित भयो । वहाँले २०६५ सालमा नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान शोध शीर्षकमा विद्यावारिधि गर्नुभयो । २०६६ सालमा सहप्राध्यापक (रिडर) हुनुभएका माधव पन्थीलाई प्राध्यापक (प्रोफेसर) हुने ठूलो धोको थियो, मैले सम्झेसम्म वहाँले दुईपटक परीक्षा पनि दिनु भएको हो तर त्यसमा सफलता प्राप्त हुन सकेन । २०७७ सालमा प्रमाणपत्रमा उल्लिखित जन्ममितिका आधारमा वहाँ सेवानिवृत्त हुनु भएको हो । छिटोछिटो कक्षा उत्तिर्ण गर्ने कतिपय विद्यार्थीहरूको उमेर एस.एल.सी. दिनकालागि सोह्र वर्ष पुग्दैनथ्यो । उमेर बढाएर परीक्षा फारम भरिन्थ्यो । माधवजीको उमेर पनि प्रमाणपत्रमा दुई वर्ष बढाइएको थियो । शैक्षिक प्रमाणपत्रअनुसार माधव पन्थीजीको जन्म मिति वि.सं. २०१४ साल मंसिर ३० गते रहेको छ ।

विद्यावारिधिका लागि आवश्यक अध्ययन सामाग्री जुटाउन तथा पुष्पलालसँग सम्बन्धित पुराना कम्युनिस्ट नेता–कार्यकर्तासँग भेटघाट तथा अन्तर्वार्ताका लिनका लागि माधव पन्थी २०६२ सालमा काठमाडौं आउनुभयो । देशमा तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगमनका विरुद्धको आन्दोलनले गणतान्त्रिक दिशा समाउँदै थियो । सबैभन्दा पहिले नेकपा(एमाले)ले लोकतान्त्रिक गणतन्त्रलाई तत्कालको कार्यवाहीको नारा बनाएको थियो । माधवजी दिनभरी जुलुशमा हिँड्नु हुन्थ्यो भने राति अबेरसम्म अध्ययन गर्नु हुन्थ्यो । आन्दोलन सफल भएपछि श्रवण शर्मा र माधव पन्थीको संयुक्त लेखनमा पुस्तक निस्कियो– लोकतन्त्र अपहरण र अवतरण । माधव पन्थीका प्रकाशित अन्य पुस्तकहरु– नेपाली राजनीतिको मूल बाटो (२०६९), आजादी र गान्धीजी (२०६९), संविधानसभा : पार्टी र जनताको अग्नी परीक्षा (२०६५) रहेका छन् । विभिन्न पत्रपत्रिकामा वहाँका दर्जनौं लेख–रचनाहरु प्रकाशित भएका छन् ।

माधव पन्थी र डा विजय पैाडेल

कमरेड माधव पन्थीको चाहना थियो– सेवा निवृत्त भैसकेपछि बाँकी जीवन पार्टीको पूर्णकालीन कार्यकर्ता भएर बिताउने । पार्टीको वैचारिक र सांगठनिक पुनर्गठनका लागि कमरेड माधव पन्थीले आफ्ना विचारहरूलाई समेटेर दस्तावेज लेख्नु भएको थियो । त्यो दस्तावेज मलाई इमेलबाट २०७७ चैत्र २८ गते (१० अप्रिल २०२१) मा प्राप्त भएको थियो । २०७८ बैशाख १ गते हामीेबीचमा नयाँ वर्षको शुभकामना साटासाट हुनुका साथै नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशाका बारेमा लामो वार्तालाप भएको थियो । त्यसपछि म आफैँ कोभिडबाट ग्रस्त भई अस्पताल भर्ना हुनुपरेको कारणले होला कुनै कुराकानी हुन पाएन । जब म अस्पतालबाट निस्केर बोल्नसक्ने अवस्थामा पुगें त्यतिखेर कमरेड माधव पन्थी बोल्न नसक्ने अवस्थामा पुगिसक्नु भएको रहेछ ।

डा. माधव पन्थीले लेख्नुभएको अन्तिम दस्तावेज केही दिन भित्रैमा पाठकहरूका सामु प्रस्तुत गर्ने छु ।

मन–पेट साट्न सकिने, हरेक खालका ठट्टा–मजाक गर्न सकिने, परिवारका भित्री कुरा पनि गर्न सकिने मित्र ज्यादै कम हुन्छन् । त्यस्ता मित्रमध्ये माधव पन्थी एकजना हुनुहुन्थ्यो, ज्यादै असमयमा जानु भयो ।

राजनीतिक कार्यकर्ता भएका कारणले देशभरी तमाम साथीहरू हुनुहुन्छ, दुईहजार जनाजति नजिकका साथीहरूको फोन नम्बर सेभ गरेर राखिएको छ । धेरै साथीहरूसँग महिनामा कम्तिमा एक दिन त फोन सम्पर्क हुन्छ, भलाकुसारी हुन्छ । मजस्तो मामुली मानिसलाई पनि भर गर्ने, यसले आफूले लिएको राजनीतिक जिम्मा पार लगाउँछ भनेर विश्वास गर्ने थुप्रो साथी हुनुहुन्छ । मन–पेट साट्न सकिने, हरेक खालका ठट्टा–मजाक गर्न सकिने, परिवारका भित्री कुरा पनि गर्न सकिने मित्र ज्यादै कम हुन्छन् । त्यस्ता मित्रमध्ये माधव पन्थी एकजना हुनुहुन्थ्यो, ज्यादै असमयमा जानु भयो ।

मलाई अहिले अनुभूति भैरहेको छ– सादा जीवन उच्च विचार भन्ने मान्यतालाई आजीवन अपनाउन सक्नु धेरै ठूलो कुरा हो । माधवजी यसमा अब्बल हुनुहुन्थ्यो । आफैंप्रति लापरवाह जीवनशैली चाहिँ अलि ठीक हैन कि ? घरबाट टाढा भएको सन्तानलाई बुढा–पाकाले आफ्नो ख्याल गर्नु है भन्छन्, घरबाट हिँड्ने बेलामा ख्याल गरेर जानु है भन्छन् । आफ्नो बारेमा पटक्कै ध्यान नदिने कमरेड माधव पन्थीले खतरनाक रोगलाई पनि सामान्य रुघाखोँकीजस्तो ठान्नु भयो कि भन्ने मनमा थकथकी लागि रहेको छ ।

कमरेड माधव पन्थी कम्युनिस्ट आन्दोलनमा ठूलो नेता हुन सक्नु भएन तर आफ्नै स्वास्थ्य र लवाई–खवाइप्रति लापरवाह रहने नितान्त निजी कमजोरी बाहेक वहाँमा धेरै ठूलो कम्युनिस्ट राजनेता (स्टेट्सम्यान) मा हुनु पर्ने खुबी थिए– सादा जीवनशैली, जहिले पनि आफ्नोभन्दा अरुको चिन्ता लिने, हार्दिक व्यवहार, कम्युनिस्ट आन्दोलन र समाजवादप्रति अटूट आस्था, सिद्धान्तलाई जीवनसंग जोड्नु पर्ने कुरामा दृढता र लगनशीलता, पार्टीप्रति गुनासोरहित समर्पण, सरकार होस् वा पार्टीसत्ता लोकतन्त्रप्रति निरन्तर खबरदारी । सबैभन्दा ठूलो कुरा जटिल परिस्थितिमा पनि नआत्तिने धैर्यता थियो माधव पन्थीमा ।

कमरेड माधव पन्थी, तपाईंका योगदानलाई निरन्तर सम्झिने छौं ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।