–डा.विजयकुमार पौडेल
विश्वस्तरमा दास व्यवस्थाको पतन शुरु भएको झण्डै दुई हजार वर्ष भए । खासगरी सन् ४७६ मा रोमन साम्राज्यको पतनपछि विश्वस्तरमै दास व्यवस्थाको अन्त्य हुन शुरु भएको मानिन्छ । नेपालमा भने आफ्नै मौलिक विशेषतासहित सामन्तवादको उत्कर्षको बेलासम्म पनि दासप्रथा (बाँधा, कमारा राख्ने चलन) बाँकी थियो । राणा प्रधानमन्त्री चन्द्र समशेरले पशुपतिनाथको कोषमा जम्मा भएको रकम भुक्तानी गरेर दास प्रथा उन्मुलन गरेका थिए भने सतीप्रथामा पनि उनैले रोक लगाएका थिए । एकजना सामन्ती व्यवस्थाका नायकले नेपालबाट दासप्रथा उन्मुलन गरे । कमैया र हलियाप्रथाको रुपमा नेपालमा रहेको दास व्यवस्थाको अवशेषलाई गणतान्त्रिक आन्दोलनले समाप्त गरिदियो तर पनि राजनीतिक रुपमा दासप्रथा कायमै रहेको देखिन्छ, जुन नेपालको प्रगतिका लागि प्रमुखरुपमा बाधक रहेको छ ।
राजनीतिक व्यवस्थाभित्र जब आम जनताले सहन नसक्नेगरी थिचोमिचो, अन्याय–अत्याचार र शोषण–दमन, अनाचार–दुराचार हुन्छ तब जनताले विद्रोह गर्छन् । यसैगरी जब राजनीतिक पार्टीले बाटो बिराउँछ, विचार र सिद्धान्त छोडेर अवसरवाद मौलाउँछ, व्यक्तिवाद र व्यक्तिपुजाले प्रश्रय पाउँछ, चाकरी गर्नेहरु पुरस्कृत हुन्छन् तथा समीक्षात्मक चेतना हुनेहरु लखेटिन थाल्छन् तब त्यहाँ विद्रोह हुन्छ ।
वर्गीय समाजमा वर्ग संघर्षको उच्चत्तम रुप राजनीतिक संघर्ष हो भने वर्गीय प्रतिनिधित्वको उच्चत्तम अभिव्यक्ति राजनीतिक पार्टीहरु हुनु पर्ने हो । जब राजनीतिक पार्टीहरू आफ्नो वर्ग भुल्छन् अनि उनीहरूको पतन शुरु हुन्छ । कांग्रेस किन कांग्रेसजस्तो हुन सकेन ? एउटै उत्तर हो– उसले राष्ट्रिय पूँजीको विकासमा ध्यान दिन सकेन, आफ्नो घोषित विचार– प्रजातान्त्रिक समाजवादप्रति प्रतिवद्ध हुन सकेन, अहिले पनि सकिरहेको छैन । कांग्रेसमा हिङ नभए पनि हिङ बाँधेको टालो रहेको छ– बहुदलीय लोकतन्त्रप्रति अटुट आस्था । यही कारणले कांग्रेस सुकेनास लागेजस्तो भएर पनि बाँचिरहेको छ ।
कम्युनिस्ट पार्टीले किन आफ्नो स्वत्व गुमाउँछ ? किन कम्युनिस्ट पार्टीले आफ्नो नाम अनुसार आचरण गर्न सक्दैन ? जब कम्युनिस्ट पार्टी नाममा सीमित रहन्छ, जब उसले आफ्नो वर्ग आधारलाई बिर्सन्छ तब उसले आफ्नो स्वत्व गुमाउँछ। राजनीतिक पार्टी जब आफ्नो बाटो बिराउँछ तब त्यहाँ विद्रोह हुन्छ । विद्रोह सहज बाटो अवश्य होइन तर जबसम्म सम्बन्धित पार्टीले आफ्नो मूलबाटो समात्न सक्दैन तबसम्म विद्रोह भइनै रहन्छ । राजनीतिक व्यवस्थाभित्र जब आम जनताले सहन नसक्नेगरी थिचोमिचो, अन्याय–अत्याचार र शोषण–दमन, अनाचार–दुराचार हुन्छ तब जनतनाले विद्रोह गर्छन् ।
यसैगरी, जब राजनीतिक पार्टीले बाटो बिराउँछ, विचार र सिद्धान्त छोडेर अवसरवाद मौलाउँछ, व्यक्तिवाद र व्यक्तिपुजाले प्रश्रय पाउँछ, चाकरी गर्नेहरु पुरस्कृत हुन्छन् तथा समीक्षात्मक चेतना हुनेहरु लखेटिन थाल्छन् तब त्यहाँ विद्रोह हुन्छ । त्यसपछि सम्बन्धित विचार, सिद्धान्तको आलोकमा पुनरजागरणसहित पार्टीको पुनगरगठनको अभियान शुरु हुन्छ । हामीले केपी ओलीको नेतृत्वमा रहेको नेकपा(एमाले)बाट यस्तै परिस्थितिका कारणले विद्रोह गरेका हौं र देशको कम्युनिस्ट आन्दोलनमा पुनरजागरण र पुनरगठनको अभियान चलाउने दृढ अठोट गरेका हौं ।
पुष्पलाल, मनमोहन र मोहनबिक्रम सिंह इत्यादि नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता हुनुहुन्छ । अहिले नेकपा एमालेको पृष्ठभूमि जोडिएका माथिल्लो पदमा रहेका नेताहरू– माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, खड्गप्रसाद शर्मा ओली, इत्यादिलाई दोश्रो पुस्ता मान्नु पर्ने हुन्छ । यसै हिसाबले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि दोश्रो पुस्तामै पर्नु हुन्छ । यस हिसाबले २००७ सालको आन्दोलनको नेतृत्व गर्ने क्रममा विकसित भएका नेताहरूको टीम पहिलो पुस्ता, २०२८ सालपछि आ–आफ्नो धारको नेतृत्व गरी पुनर्गठनको अभियान चलाउनेहरु दोश्रो पुस्ता र २०३५/०३६ सालको विद्यार्थी आन्दोलन हुँदै जनआन्दोलनमा विकसित भएको परिवेशमा राजनीतिक अभ्यास सिकेका, २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका पुरा गरेका र २०६३को जनक्रान्तिमा अग्रभागमा नेतृत्व गरेकाहरुको पुस्तालाई तेस्राे पुस्ता भन्नु उपयुक्त देखिन्छ । यो तेस्राे पुस्ता यस्तो अभागी पुस्ता रहेको छ जसले तीनवटा आन्दोलनमा आफूलाई अग्रभागमा खरो प्रमाणित गर्दा पनि पार्टीको मूल नेतृत्व हाँक्ने जिम्मा पाउन सकिरहेको छैन । नेपाली कांग्रेसभित्रको हालत पनि योभन्दा भिन्न देखिन्न ।
विसं २०४६ सालको आन्दोलनका बेला ३८ वर्षदेखि बढीमा ४५ वर्षभित्रैको हाराहारीमा रहेका युवाहरु अहिले ७० देखि ८० वर्षको हाराहारीमा पुगिसकेका छन् । यिनीहरू नै पालैपालो कहिले सत्ता त कहिले प्रतिपक्षमा रहेका छन् । यो पुस्ताका नेताहरुले आफ्नो जीवनको समीक्षा गरेर आफ्नो कार्यशैली सुधार्न सकेको, आफ्ना सबल र कमजोर पक्ष पहिचान गर्न सकेको, कमजोर पक्षलाई निर्ममतापूर्वक हटाउन तयार रहेको कुनै संकेत देखिन्न । यो पुस्ताको योगदान अवश्य पनि अमूल्य छ । यही पुस्ताले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याएको छ । यही पुस्ताले पटकपटकका प्रतिगमनबाट देशको लोकतन्त्रलाई जोगाएको छ ।
तर यो पुस्ताले के हेक्का राख्न सकेको देखिन्न भने आत्मसमीक्षा गर्ने मामिलामा वस्तुपरक र आफैप्रति निर्मम हुन सकिएन भने पहिलेको त्यागबाट बनेको धरहरा गर्ल्यामगुर्लुम ढल्न पनि सक्छ । ताजा उदाहरण जिम्बाबेका रोबर्ट मुगाबे हुनुहुन्छ जो राष्ट्रपिताको ओहोदामा पुगेर गद्दार भै पतन पनि हुनुभयो । यही हालत खड्गप्रसाद शर्मा ओलीको भएको छ । उहाँ राष्ट्रपिता त हुनु भएन तर उहाँकै पालोमा विश्वमै उदाहरण हुनसक्ने गरी निर्वाचनको लोकतान्त्रिक विधिबाट कम्युनिस्ट पार्टीले अभूतपूर्व शक्ति प्राप्त गरेको थियो जसलाई आफ्नो अहम्, गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैलीका कारण उहाँ आफैले ध्वस्त पारि दिनुभयो । उहाँले संघीय संसदमा रहेको कम्युनिस्ट शक्तिलाई मात्रै ध्वस्त बनाउनु भएन, देशको संविधानसमेत मास्ने प्रयास गर्नुभयो ।
आज विडम्बना के छ भने नेकपा (एमाले)मा बसेका आफूलाई कम्युनिस्ट हौं भन्नेहरुले खड्गप्रसाद शर्मा ओलीले गरेको कम्युनिस्ट आन्दोलनमाथिको कुठाराघातको बारेमा ठोस आलोचना गर्न त सकेका छैनन् नै, उल्टै निजका हरेक उट्पट्याङ भनाइमा तालि ठोकिरहेका छन् । यो चिठी स्वतन्त्रजस्तै ठानिएका तर दिमागलाई व्यक्तिवादी अवसरवादको गुलामीको पाउमा चढाएकाहरुको नाममा समर्पित छ । यसलाई प्रष्ट पार्नका लागि थप केही हरफ लेख्नु आवश्यक ठानेको छु ।
खड्गप्रसाद ओलीले कम्युनिस्ट पार्टीको नेताको नाममा देशको इतिहासमा सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुने मौका पाउनु भयो । यस्तो मौका राणा प्रधानमन्त्रीहरूलाई थियो जसले केही अपवाद बाहेक देशलाई लुटेर हरितन्नम बनाए । त्यसपछि त्यस्तो शक्ति २०१५ सालको निर्वाचनपछि विपी कोइरालाले पाउनु भएको थियो जसको सरकारलाई डेढ वर्षमै लखेटियो । पञ्चायतकालका प्रधानमन्त्रीहरु राजाका निजी सचिवभन्दा माथिल्लो राजनीतिक हैसियतमा थिएनन् नै ।
विसं २०४६ सालपछिको पहिलो आम निर्वाचनबाट दुईतिहाई नभए पनि सुविधाजनक बहुमतका साथ गिरिजाप्रसाद कोइराला सत्ताको नेतृत्वमा पुग्नु भएको थियो । पार्टीभित्रको समस्यालाई लोकतान्त्रिक विधिले समाधान गर्ने र आफूले सो गर्न नसके सहकर्मी साथीहरूलाई ‘लौ तपाईहरु चलाउनुस् न त’ भन्ने नैतिकता वा त्याग देखाउने प्रयास मात्रै गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हुन्थ्यो भने २०५१ सालमा प्रधानमन्त्रीमा कुनै अर्को व्यक्ति आउँथे होला, नेपाली कांग्रेसको सरकार जोगिने थियो र देशमा त्यसपछिका अस्थिरताहरु पनि संभवतः हुने थिएनन् । जसरी गिरिजाप्रसाद कोइरालाले आफ्ना गल्तिहरुको समीक्षा गर्नु भएन, त्यसैगरी खड्गप्रसाद शर्मा ओलीले पनि आफ्ना कमजोरीहरुको कहिल्यै समीक्षा गर्नु भएन र गर्नु हुन्न पनि । अहंकार यस्तो चिज रहेछ जसबाट ग्रसित मानिस सत्ताबाट सडकमा पछारिँदा पनि गल्तिको समीक्षा गर्न तयार नहुँदो रहेछ ।
विद्रोह कसैको रहर हुँदैन, बाध्यता हुन्छ । जवानीका सुन्दर दिनहरुको बलि चढाएर बनाएको एमालेबाट विद्रोह गर्नुको एक प्रमुख कारण पार्टी नेताको रुपमा केपी ओली र उहाँसंँग रहेको बहुमत पक्ष कम्युनिस्ट विचार, सिद्धान्त र आचरण एवं नैतिकताबाट च्युत हुनु हो ।
नेकपा(एमाले) जसको निर्माणमा हाम्रो पुस्ताको जवानी समाप्त भएको छ, जीवनका रहरहरुको बलि चढेको छ, त्यो पार्टी चटक्क छोडेर विद्रोहमा उत्रिनु कुनै रहर थिएन । हाम्रो पुस्ताका संघर्षशील मानिसहरु सबैका आ–आफ्नै कथा–ब्यथा छन्– प्रहरी हिरासतको कठोर यातनादेखि जिउँदै खाल्डोमा पुरिने खतरा र मण्डलेहरूले कुटेर मर्यो भनेर फालिनेसम्म । त्यस्ता यातनाबाट बाँचेका हामीहरुले लहडको भरमा विद्रोह गरेका छैनौं । एमालेबाट विद्रोह गर्नुका प्रमुख छवटा कारण छन्, सहायक कारण त कति छन् कति, सिंगै पुस्तक लेख्नु पर्ने हुन्छ ।
विद्रोह कसैको रहर हुँदैन, बाध्यता हुन्छ । जवानीका सुन्दर दिनहरुको बलि चढाएर बनाएको एमालेबाट विद्रोह गर्नुको एक प्रमुख कारण पार्टी नेताको रुपमा केपी ओली र उहाँसँग रहेको बहुमत पक्ष कम्युनिस्ट विचार, सिद्धान्त र आचरण एवं नैतिकताबाट च्युत हुनु हो । सैद्धान्तिक/वैचारिक विषयमा छलफल नै गर्न नचाहनु खड्गप्रसाद शर्मा ओली र उहाँका आसेपासेहरुको चारित्रिक विशेषता रहेछ । आफैलाई अध्यक्ष बनाउने नवौं राष्ट्रिय महाधिवेशनका निश्कर्षहरुलाई लागू गर्न र त्यसबारेमा छलफल गर्नसमेत केपी ओली कहिल्यै तयार हुनु भएन । सात दशकभन्दा लामो संघर्षबाट बनेको शक्तिशाली कम्युनिस्ट सरकारलाई कसरी समाजवादी दिशामा लैजान सकिन्छ भन्ने बारेमा एउटा गोष्ठी आयोजना गर्नसमेत केपी ओलीमा अनिछ्या देखिनु बिडम्बना नै रह्यो । हामीले एमालेको नवौं महाधिवेशनमा निश्कर्ष निकालेका थियौं– देशमा पूँजीवादी–जनवादी क्रान्ति सम्पन्न भैसकेको छ ।
अब कस्तो समाजवादी कार्यक्रम तयार गर्ने भन्ने बारेमा पार्टी अध्यक्ष आफैले अग्रसरता लिनु पर्नेमा हामीले गरेको प्रयासलाई पनि योजनाबद्ध रुपमा असफल पार्ने काममा लाग्नुभयो । विद्रोहको एक नम्बर मूल कारण यही नै हो । अब देशमा जतिसुकै तर्कवितर्क गरेपनि सामन्तवाद विरोधी अर्को क्रान्ति हुनेवाला छैन । सामन्तवाद समाप्त भैसकेपछि पुनः अर्को पूँजीवादी–जनवादी वा जनताको बहुदलीय जनवादी क्रान्ति हुनुपर्छ भन्नु सैद्धान्तिक–वैचारिक रुपमा प्रतिगमन नै हो ।
विद्रोहको दोस्राे कारण ओली सरकारले जनतासँग गरेका बाचा तोड्नु हो ।
विद्रोहको दोस्राे कारण ओली सरकारले जनतासँग गरेका बाचा तोड्नु हो । ओली सरकारले तीनवटा नीति कार्यक्रम र बजेट संसदमा प्रस्तुत गर्यो भने संसद विघटन गरिएको अवस्थामा पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्रीको भाषणको रुपमा नीति तथा कार्यक्रम र अर्थमन्त्रीको बजेट विवरण प्रस्तुत भए । ती चारवटै नीति कार्यक्रम र बजेटमा समाजवादको जग बसाल्ने कुनै योजना छैनन् । पहिलो नीति कार्यक्रम र बजेट नै पार्टीमा छलफल नगरी ल्याइयो । त्यसपछि सुधारका अनेकन प्रयास भए तर कहिल्यै पनि जनतासँग गरिएको बाचाबमोजिम गरीबमुखी बजेट ल्याउने काम भएन । जब चौथो नीति कार्यक्रम र बजेट जनमुखी ल्याउने दबाब बढ्यो, ओलीजीले संसद नै भंग गरिदिनुभयो ।
विद्रोहको तेस्राे कारण ओली सरकारले गरेको संस्थागत भ्रष्टाचार हो । पार्टीको नेतृत्व नै भ्रष्टाचारलाई संरक्षण गर्न तत्पर रहन्छ भने त्यस्तो पार्टी कम्युनिस्ट पार्टी हुने त कल्पना पनि गर्न सकिन्न । यति होल्डिङ्सलाई काैडीको मूल्यमा राष्ट्रका तमाम सम्पदा सुम्पिनेदेखि औषधि खरिदमासमेत व्यापक मात्रामा भ्रष्टाचार भएको कुरा संसदीय समितिले समेत किटानी गरेको विषय सार्वजनिक जानकारीमै आएका छन् । एमाले पार्टीको नेतृत्वमा रहेको संघीय सरकार मात्रै हाेइन, प्रदेश र स्थानीय तहमा पनि भ्रष्टाचारले सीमा नाघेको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रयास गरियो । स्थानीय तहमा मेयर आफैले डोजर किनेर आफ्नै पालिकामा भाडामा लगाउने, आफ्नै गाडी आफ्नै पालिकामा भाडामा लगाएर चढ्ने मात्रै हाेइन, सार्वजनिक निर्माणमा खुल्लमखुल्ला भ्रष्टाचार गर्ने कुरा स्थानीय तहमा आम विषय भएको छ । स्थानीय तहका केही सीमित पदाधिकधारी मात्रै भ्रष्टाचारमा लिप्त हुनबाट जोगिएका होलान् । जो इमान्दार छन् तिनीहरु पार्टी नेताबाट लखेटिने र भ्रष्टाचार गर्नेहरु केन्द्रीय नेताबाटै संरक्षित हुने प्रणाली हटाउनेबारेमा अनेकन प्रयास गर्दा पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष तथा उहाँको नजिक रहेको नेतृत्वपंक्तिलाई सहमत गराउन सकिएन ।
ओली नेतृत्वका तलदेखि माथिसम्मका सरकार भ्रष्ट त भए नै, पार्टीलाई स्विकृत विधि र पद्धतिबाट सञ्चालन गराउन फिटिक्कै सकिएन । अध्यक्षले पार्टीको बैठक नै बोलाउन नचाहने, कथंकदाचित बैठकको आयोजना भैहालेमा आफू अनुकूल नहुने संकेत मात्रै पाउँदा बैठकमै नआइदिने अवस्था सार्वजनिक जानकारीमा आएकै विषय हुन् । कतिसम्म भने केन्द्रीय कमिटीको बैठक बोलाईपाउँ भनेर एकसय एकाउन्न जनाको प्रत्यक्ष हस्ताक्षर र सय जनाको विद्युतीय माध्यमबाट रहेको सहमतिसहितको पत्र बुझाउँदा पनि केन्द्रीय कमिटीको बैठक बोलाउन पार्टी अध्यक्ष तयार हुनु भएन। ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन धराशायी हुने निश्चित देखिनु नै विद्रोहको चौथो प्रमुख कारण हो ।
संसदलाई निरिह बनाउनु र संसद छलेर तानाशाही साशन लाद्न चाहनु केपी ओली प्रधानमन्त्री रहेका बेला छरपस्ट देखिएका विषय हुन् । केपी ओली निर्वाचित तानाशाह बन्न चाहनु र हामीले त्यसलाई रोक्न खोज्दा नसक्नु नै विद्रोहको पाचौँ कारण हो ।
आफ्नो निजी चाहनामा अलिकति पनि धक्का लाग्ने भएपछि केपी ओलीले योजनावद्ध रुपमा शुरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित गराउने खेलमा लाग्नुभयो । यदि वहाँ पार्टी एकताको पक्षमा हुनुहुन्थ्यो भने अदालतले तत्कालीन नेकपा टुक्र्याउने फैसला दिइसकेपछि पन्ध्र दिनको म्यादभित्र पार्टी जोगाउने प्रयासमा लाग्नु हुने थियो । त्योभन्दा पहिले पटकपटक अध्यादेश ल्याएर पार्टी टुक्र्याउने अभ्यास त उहाँले गर्नु भएकै हो । नेकपा टुक्र्याइसकेपछि त्यसमा पनि चित्त नबुझेर उहाँले नेकपा(एमाले) टुक्र्याउन पनि सक्रियतासाथ लाग्नुभयो । केपी ओलीबाट अब आइन्दा देशको कम्युनिस्ट आन्दोलन एकीकृत हुन सक्दैन भन्ने निश्कर्ष निकालिसकेपछि हामीले विद्रोह गरेका हौं । हाम्रो विद्रोहको छैटौं प्रमुख कारण यही हो ।
तत्कालीन नेकपा (एमाले) ले अर्को पार्टी नेकपा (माओवादी केन्द्र)सँग एकता गरेका कारणले नै संघीय संसदमा अत्यधिक बहुमत जुटेको थियो । त्यो संसदीय शक्ति केपी ओलीको निजी कमाई थिएन । त्यस्तो अवस्थामा अर्को अध्यक्षसँग आवश्यक तालमेल मिलाएर काम गर्नुको साटो लखेट्ने कुरालाई केपी ओलीले बहादुरी ठान्नु भयो ।
विदेशी जासुससँग प्रधानमन्त्रीले आधा रातमा भेट्नु तर पार्टी र सरकारलाई जानकारीसमेत नदिनु, आफ्नो वरिपरि भ्रष्ट तत्वहरुलाई रमाउन दिनु, असंलग्न परराष्ट्र नीतिलाई लत्याउँदै एकातिरको अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग लहसिँदै जानु, कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीले कोरोना महामारीको बेला राम–सीताका मूर्ती बनाएर लावालस्करसहित हिडाउनु अथवा कम्युनिस्ट पार्टीभित्र धार्मिक एजेण्डा घुसाउनुजस्ता तमाम सहायक कारणहरु छन् जसलाई ओलीको नेतृत्वमा रहेर सुधार्न सकिन्न भन्ने ठहर गरिसकेपछि हामीले विद्रोह गरेका हौं ।
जब जब देशको लोकतन्त्र खतरामा पर्छ, तब तब नेपाली कम्युनिस्ट आन्दोलनले नेपाली कांग्रेससँग सहकार्य गरी लोकतन्त्र जोगाउने गरेको छ । अहिले गरिएको त्यही हो । कम्युनिस्ट पार्टीको सरकारलाई ढाल्ने काम कपी ओली आफैले गर्नु भएको हो भन्ने सामान्य जानकारी त जतिसुकै अन्धसमर्थकलाई पनि हुनु पर्ने हो । यी अन्धसमर्थकलाई थाहा हुनु पर्ने हो– २०६२ को आन्दोलन शुरु हुनु अगाडि तत्कालिन एमालेको प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस नै थियो तर जब जनक्रान्ति अगाडि बढाउनु पर्ने भयो तब कम्युनिस्ट शक्तिले नेपाली कांग्रेससंग सहकार्य गर्नु परेको थियो । अहिले यही गरिएको हो ।
केपी ओलीले नेतृत्व गरेको पार्टीलाई त्यहीँभित्र रहेर सुधार्न सकिन्छ, गलत प्रवृतिलाई दण्डित र हतोत्साहित गर्न सकिन्छ भनेर कोही त्यता बस्नुभएको छ भने वहाँहरुको प्रयासको सराहना गर्न सकिन्छ, परिणाम त केही निस्कने वाला छैन नै । त्यहाँ बसेर झिनै स्वरमा भए पनि गलत कुराको विरुद्ध आवाज उठाउनेहरु कोही हुनुहुन्छ भने वहाँहरुप्रति केही आशा गर्न सकिएला । तर जसले हरेक गलत कुराको समर्थन गरिरहेका छन् ती वास्तवमा आधुनिक दास हुन् । ती दासहरुले आफ्नै मालिकको भजन–किर्तन गरे भयो, किन बेकारमा हामीसँग भिड्न आउनु ? बरु आफूमा अलिकति भए पनि कम्युनिस्ट अंश बाँकी छ भने ओली नेतृत्वमा रहेको व्यक्तिवाद, अहंकारवाद, अलोकतान्त्रिक चरित्रको बारेमा आवाज उठाउनु हितकर हुने छ ।
कम्युनिस्ट विचार/सिद्धान्त र आचरणमा प्रतिबद्ध रहेर पनि अहिले नेकपा (एमाले)मा बसिरहेका कतिपय साथीहरुले हाम्रो विद्रोहलाई मात्र पार्टी विभाजनको रुपमा बुझ्ने गल्ति गरिरहनु भएको छ । हाम्रो विद्रोह पार्टी विभाजन हुँदै होइन, यो त कम्युनिस्ट आन्दोलनभित्र देखापरेको विसर्जनवादी धारका विरुद्ध कम्युनिस्ट आन्दोलन जोगाउने इमान्दार प्रयास हो । एमालेभित्र पनि नेता–कार्यकर्ताहरुमा स्वतन्त्र कम्युनिस्ट चेतना जागृत भएका बेला त्यहाँ ओली प्रवृति अवश्य परास्त हुने छ ।
केपी ओली व्यक्तिको नाम हाेइन, त्यो कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउने गैरबौद्धिक, लहडी, अहंकारी, गुटवादी, राष्ट्रिय आत्मसमर्पणवादी प्रवृतिको नाम हो । यसैका विरुद्ध विद्रोह गरिएको हो । हामीले विद्रोहबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउने, पुनरजागृत र पुनरसंगठित गर्ने अभियानको नेतृत्व गर्ने प्रयास गरेका छौं । जहाँ प्रमुख नेताको बोलीको कुनै ठेगान छैन, जहाँ प्रमुख नेताको भाषणमा कहिल्यै कुनै सैद्धान्तिक/वैचारिक सार भेटिन्न र त्यस्तो भाषणमा तालि बजाउनेहरुको भीड हुन्छ, त्यहाँबाट कम्युनिस्ट आन्दोलनको विकासको कुनै संभावना देखिन्न । हामीसँग बहसमा भिड्न आउनेहरुले पहिले यति कुरामा ध्यान दिनुहोस् । दिमागी दासता नत्यागेसम्म साशकहरुका अपानवायुलाई पनि महान वाणी ठान्ने प्रवृति कायम रहन्छ ।