-दुर्गा वनवासी
गाईलाई लग्यो नि आज कसले बाच्छी छुटाइकन
पोथी पाश परी मरी नि गुँडका बच्चा नहुर्कीकन
के हेछ्र्याै यतिको विजोग धरती माता तिमी फाट हे
आमा बालककी नमार भगवान संसार भर्ने भए !
राष्ट्रकविको गौरीका प्रत्येक श्लोकले रुवाउँथे उसलाई । उपरोक्त अनुच्छेदमा अझ धेरै भावविव्हल हुँदै भक्कानिन्थी । हुन त हर कसैको मनलाई द्रवित गर्ने आँसु–कोशेली हो गौरी । सरल, सुललित र मार्मिक भाषामा उनिएका हरेक हरफहरु मनभित्रै गड्थे गौरी पढ्यैपिच्छे । म पनि रुन्थेँ तर ऊभन्दा कम ।
मभन्दा दुई वर्ष कान्छी प्रमिला, हामी ८ छोराछोरीमध्येकी कान्छो सन्तान । दुई वर्षको मात्रै अन्तर भए पनि कान्छो सन्तान हुनु भनेको सबैका अगाडि निर्धक्क रुन, हाँस्न पाउनु पनि हो शायद । हामी केटाकेटी छँदा बुबाले वाचन गर्नुहुन्थ्यो गौरी, सुनेर रुन्थ्यौँ । बुबाको वाचन असाध्यै मीठो अनि गौरीका प्रत्येक पंक्ति अत्यन्तै मन छुने र बुझिने पनि । पछिपछि हामी नै पनि पढ्थ्यौँ बेलाबेला । कहिले ऊ पढ्थी, कहिले म । आफैले वाचन गर्दा पनि गला अवरुद्ध हुन्थ्यो उसको । मैले पढ्दा पनि भक्कानिएर रुन्थी । बुबाको अवसानपछि झन रुलाउँथे गौरीका श्लोकहरुले शायद बचपनका यादहरु अझै ताजा हुन्थे । ऊ रोएपछि मेरो पनि मन भरिन्थ्यो । हिक्क हिक्क गरेरै रुन्थी ऊ, सानी भएको फाइदा उठाउँथी । म चाहिँ उसलाई जिस्क्याए झैँ गरेर टार्थेँ, आमा मुसुमुसु हाँस्नु हुन्थ्यो ।
ती दिनहरुमा कहिल्यै सोचेकी थिइनँ–उसको पनि गौरीकै नियति हुनेछ । गौरीरुपि गाईबाट विछोडिएका शान्ति र कान्तिरुपि बाच्छीहरुको कल्पना गर्दा दुई अबोध बालमुहार आँखाभरि नाच्थे । आज प्रमिलारुपि गाईले पनि उसको ९ वर्षे बाच्छो छोडेर गएकी छे । ऊ त गईसकी तर गौरीका ती श्लोकहरु अचेल झन धेरै दुख्छन् । हिजो ऊ भक्कानिन्थी, आज मलाई डाँको छोड्ने बनाई । उसलाई त म जिस्क्याउँथेँ तर आज मलाई जिस्क्याउन ऊ छैन अनि त्यो जिस्क्याइमा साथ दिने आमा पनि छैनन् । टेबुलमाथि गौरी छ, कानमा उसको हिक्क हिक्क रुवाइ अनि सम्झनापटमा धूमिल हुँदै गरेको आमाको मायालु मुस्कान ।
आज प्रमिलारुपि गाईले पनि उसको ९ वर्षे बाच्छो छोडेर गएकी छे । ऊ त गईसकी तर गौरीका ती श्लोकहरु अचेल झन धेरै दुख्छन् । हिजो ऊ भक्कानिन्थी, आज मलाई डाँको छोड्ने बनाई । उसलाई त म जिस्क्याउँथेँ तर आज मलाई जिस्क्याउन ऊ छैन अनि त्यो जिस्क्याइमा साथ दिने आमा पनि छैनन् ।
राष्ट्रकविले आफ्नी पत्नीलाई जीवन्त तुल्याए गौरी शोककाव्य लेखेर । गौरी अमर भइन्, कैयौँ पाठकका आँखामा र मनमुटुमा बसिन् । त्यही भवितव्य अनि त्यस्तै आकस्मिकता घटित भए पनि मेरी बहिनीको हकमा त्यसरी नै अमर हुने सौभाग्य नहोला शायद किन कि मेरा जुवाइँ कवि होइनन्, न चित्रकार हुन्, न गायक, न त गजलकार । उनका भावना, उनका पीडा र मर्महरु उनीभित्रै लुकेर उनीसँगै हराउलान् एकदिन । आँसुको गीत नगाएरै र शोककृति नलेखिएरै हराएर जाला प्रमिला–गाथा ।
भन्छन् ईश्वरलाई पनि राम्रै मान्छे चाहिन्छ रे ! शायद यही सत्य हो । मरेपछिको गुणबखान लाग्न सक्छ मेरो यो अश्रुलेखनी पनि तर वास्तवमै ऊ धेरै असल थिई, जरुरतभन्दा बढी । हर कसैका पीडा बेस्सरी दुख्थे उसलाई । आफूलाई नराखेरै अरुलाई बाँड्न सक्ने महानता किताबहरुमा खूब पढियो, कथाहरुमा धेरै सुनियो । वास्तविक जीवनमै उसले यसलाई चरितार्थ गरेकी थिई । हात्तीको चपाउने र देखाउने दाँतजस्तो दुई रुप कहिले थिएन उसको । जति नै विपत आउन्, कसैले सम्झाउन्, गाली गरुन्, धम्क्याउन्, उसको आदर्श कहिले डग्मगाएन, ऊभित्रको ’ऊ’ कहिले परिवर्तन भएन ।
‘अति सर्वत्र वर्जयेत्’ भने झैँ उसको त्यही अति आदर्श, अति दयालु, अति त्यागी र अति दानी स्वभावले उसलाई आफ्नै स्वास्थ्यप्रति पनि खासै चिन्तित हुन दिएन कहिले । आफूलाई आफ्नो प्राथमिकतामा कहिल्यै राखिन । परिवार, आफन्त, छरछिमेकी र दीनदुखीपछिको उब्रेको समय र सुविधा मात्र आफूलाई दिई सधैँभरि । आफूलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो रोगी ज्यानको यथोचित ख्याल गरेकी भए यति चाँडै यो निर्दयी आकस्मिकता व्यहोर्नु पर्ने थिएन कि ! यो अपूरणीय क्षति, यो बिझाइरहने खालीपन, यो खट्किरहने अभाव सोच्न बाध्य बनाइरहेछ कि शायद... !
अब जति सोचे पनि र जति नै ’शायद’ का विकल्पहरुमा घोत्लिए पनि राष्ट्रकविले लेख्नुभए झैँ गुँडको बचेरो नहुर्किँदै पोथी नियतिको निष्ठूर पाशोमा परिहाली जुन पाशोबाट कहिल्यै, कोही उम्कन सकेन र सक्दैन ।
मृत्यु अकाट्य शाश्वतता हो, सृष्टिको अनिवार्यता हो । जबसम्म आफैलाई पर्दैन, मान्छेले केहीबेर सहानुभूति देखाउने र पुनः जीवनका स्वभाविक दैनिकीतिरै फर्किने हो । प्रमिलाको नियति पनि अपवाद निश्चय होइन । कसको दिनचर्या रोकिएको छ र कोही नहुँदा ? वस्, पर्नेहरुलाई र भोग्नेहरुलाई सिंगै आकाश खसे झैँ हुन्छ केही समय । सम्झनाहरु आलो रहुन्जेल र थोरै परिवर्तित दैनिकीको बानी नपरुन्जेल न खट्किने हुन् अनुपस्थितिहरु ! गाई बिनाको बाच्छोले पनि हुर्किनैपर्छ र आफ्नो आयु बाँच्नुपर्छ । माउसँग विछोडिएको बचेराले पनि भोलि उड्नु नै पर्छ आखिर । भिन्नता यो हो कि कुनै कथाव्यथाहरु लेखिन्छन्, पढिन्छन्, गुन्गुनाइन्छन् र गाइन्छन् । फरक यत्ति हो नियति उस्तै भएर पनि गौरीहरु अमर हुन्छन अनि गौरी पढेर भक्कानिने प्रमिलाहरु चाहिँ त्यतिकै ओझेल पर्छन्, हराउँछन् र बिर्सिइन्छन् ।