-जीविका ‘अश्रु’
शुक्रवार बिहानै ६ बजे घरबाट निस्कियौं । श्रीमानज्यूले ल्याइदिनुभयो देउराली स्टेसनसम्म । छुट्नेबेला केही रुपैयाँ खर्च पनि दिनु भयो र भन्नुभयो, ‘राम्रोसँग जानु र खबर गर्नु है पुगेपछि ।’ आहा ! मन हर्षले पुलकित भयो । साहित्यिक कार्यक्रममा जाने श्रीमतीलाई स–प्रेम बिदाइ बिरलै गर्दाहुन अरुका लोग्नेले । आफूलाई भाग्यमानी स्वास्नी ठान्दै बसेँ गाडीमा । ७ बजिसक्दा पनि गाडी गुडेको हैन । बल्ल ७ः१५ मा हिंड्यो । हिंडेपछि कतै रोकिएन । एकैपटक १०ः३० मा पेशोक पुगेर चिया नास्ताको लागी रोकियो । होटेलको नर्थवेस्ट तर्फ छ्याङ्ग देखिन्थ्यो सिक्किमको चारधाम र नाम्ची बजार । पेशोक दार्जीलिङ जिल्लामा पर्छ । गाडी गुडिरह्यो,समय छिचोल्दै । १२ः३० बजे नेपालको पशुपति नगरमा आइपुग्यो । त्यहाँबाट इलामको लागि जम्मा दुइटा सवारी नामका गाडी जाँदोरैछन । त्यस मध्येको दोस्रोमा म पनि बसेँ र लागेँ इलामतिर ।
सिक्किमबाट पाँच जना महिला लेखक, कवि थियौ तर म आफ्नै काम भएको कारण एक्लै गएकी थिएँ । रत्ना सुब्बा, उषा शर्मा, मुना बराल र प्रा.डा.पुष्प शर्मा पछिल्लो गाडीमा आउनुभएको थियो । पशुपति नगरबाट दुई घण्टामा रमणीय इलाम बजार पुगेँ ।सारदा उप्रेतीसँग फोन बार्तापछि म होटेल तमुमा गएँ । होटेल तमुकी गुरुङसेनी दिदीले गुलियो स्वागत गर्नुभयो । उहाँको यो मीठो आतिथ्यका लागि गुरुङ्सेनी दिदीलाई म यहीँबाट धन्यवाद भन्न चाहन्छु।
इलामको मुख्य प्रवेशद्वारमा रत्नकुमार बान्तावाको शालिक छ उनी चैत्र २७ गते जन्मेको र चैत्र २७ मै मृत्यु भएको कम्युनिस्ट नेता साथै इलाम क्याम्पसमा अध्यापन पनि गराउनुहुन्थ्यो । शालिकको अग्रभागमा पुरानो टँुडिखेल छ । इलामको नाम चलेको टुँडिखेल नै यही हो भन्दै प्राज्ञ नन्दु उप्रेतीले जानकारी गराउनु भयो । उहाँले हाम्रो गाइडझैँ भएर इलाम आसपासका पर्यटकीय स्थलको भ्रमण गराउनु भएको थियो । महेन्द्र रत्न महाविद्यालय (बहुमुखी क्याम्पस) स्थापना २०२२, नन्दु उप्रेतीले आफूले पढेको कलेजको स्मरण गर्दै हामीलाई जानकारी गराउनु भयो । भिरालो भएपनि मिलेको ठाँउ । वरिपरि चियाका एकैनाशका बुट्टाहरु माझ हाँस्यब्यङ्ग्य साहित्यकार बिष्णु नविन जो बिद्रोही स्वभावका साहित्यकार हुन् । उनको शालिक थियो । नविनको २०४० सालताका निधन भएको थियो ।
१० बजे सिटी मार्ट इलामको तेस्रो तलामा रहेको सभाहलमा हामी भेला भयौं । अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलनको ब्यानर सहितको फूलैफूलले सजिएको मञ्च थियो । भेटघाट चिनजान र फोटोमा सम्झना कैद गर्न लाग्यौं । यत्तिकैमा ११ बजिसकेको थियो र उद्घोषकज्यूले कार्यक्रम सञ्चालन गर्न लाग्नुभएको थियो । इलाम जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उदेश्यले गरेको यस सम्मेलनमा भएको कुरा प्रकाश अधिकारीले स्वागत सम्बोधनमा भन्नुभयो भने इलामको उत्पादन अथवा इलामलाई चिनाउने पाँच ’अ’ मध्येका अलैंची ,अधुवा, अकवरे,अम्लिसो र ओलन साथमा तेजपत्ता, सिलाम, खुवा (बम्बैसन), छुर्पी अनि चिया आदि चिजको प्रदर्शनी पनि गरिएको थियो ।
कार्यक्रम अघि बढिरहेको बेला इलामका नगर प्रमुख अर्थात मेयर महेश बस्नेतज्यूले भाषा साहित्यको प्रवर्द्धनको लागि हामी आफैंले पहल गर्नुपर्ने हुन्छ भन्नुभयो । उहाँ एउटा राजनीतिकज्ञ भएर पनि विश्व साहित्यमा पूर्ण दखल भएको कुशल व्यक्तित्व हुनुहुदोरहेछ । त्यसैले गर्दापनि हुन सक्छ उहाँले साहित्य सम्मेलनका लागि नगरबाट बजेट छुट्याउनुभएको ।
युद्धप्रसाद वैध इलामको मुहारको एक झलक नै हुनुहुन्छ भनेर आफ्ना गुरुप्रति श्रद्धाभाव राख्दै पत्रकार साहित्यकार चन्द्र भण्डारीले मञ्चबाट नै आफ्नो प्रस्तुति दिनुभयो । यसै क्रममा भारतीय नेपाली भारतीय नागरिक हुन् प्रवासी नेपाली हैनन् भन्ने एउटा महत्वपूर्ण कुराको जानकारी दिनुभयो । यही कुरा नेपालमा रहनुहुने सम्पूर्ण नेपालीले बुझिदिए हुन्थ्यो भन्ने भारतीय नेपालीहरुको विचार हो । र यो विषयमा गम्भीर छलफल होस् हामी पनि चाहन्छौं । र यस्तो सान्दर्भिक मन्तव्य सुन्न पाए दिनैभरि पनि सुनिरहन सकिन्थ्यो जस्तो लागिरह्यो । केही कार्यपत्र, त्यसपछि कार्यपत्रमाथि टिप्पणी, नृत्य अनि कविताको कार्यक्रम र नारायण गोपाल साँझ हुँदै कार्यक्रम समापन गरिएको थियो ।
भोलिपल्ट बिहान मन्दिर लगायतका ठाँउहरु घुम्यौं । पल्टनको नाममा नामाकरण गरिएको निशान चिन्ह रहेछ माइस्थान मन्दिरमा । सामान्य आखाले हेर्दा चारवटा त्रिशुललाई कपडाले बेरेको मात्र देखिएपनि निशानको अलग्गै महत्व रहेछ । त्रिशुलझैं देखिने निशान सुन, हिरा र मोती माणिक्यले भरिपूर्ण हुदोरहेछ । सैनिकद्वारा सुरक्षा गरिएको मन्दिर सफा र रमणीय लाग्यो ।
इलामको सुन्दरताको बयान गरेर गरिनसक्नु रहेछ । हामीले अवलोकन गरेको अर्को स्थल हो माइपोखरी । शक्तिपिठका रुपमा हेरिने माइपोखरी नौवटा कुना बनाएर फैलिएको रहेछ । झट्ट हेर्दा सानो छ झैं लाग्ने पोखरी परिक्रमा गर्दा भने ठुलो रहेछ । यसको गहिराइ यति नै हो भन्ने यकिन गर्न भने अहिलेसम्म नसकेको कुरा स्थानीयबासीको रहेछ । पोखरीको एकाछेउमा बसेर कविता वाचनको कार्यक्रम राखिएको थियो, म भने एक्लै यसो टहलिन लागें यताउता । केही परसम्म एक्लै गएँ । अर्को बाटो भेटियो । त्यहीँ कवि बिर्खे अञ्जानलाई देखेँ र दुबैजना एका अर्काका तस्वीर कैद गर्दै निस्कियौं बाटोमा । त्यहाँ अघिबाटै सिक्किमका कवि लेखकहरु निस्किसक्नु भएको रहेछ । भेट भयो । चिसो निकै भएकोले चिया पिउन दोकानतिर जाँदै गर्दा कवि विमल दाइको आवाज आयो ‘बिर्खे भाइ !’ हामी त्यतै मोढियौं । उहाँ र किशोर पहाडी माइपोखरीको प्रसिद्ध टिम्मुरको पेय पदार्थ पिउदै हुनुहुदोरैछ । मैले यसो सुँघी हेरेँ । मीठो वासना आयो । दाइहरुले पिउन आग्रह पनि गर्नुभयो । मलाई लाग्यो यो त साँच्चै टिम्मुरको जुस नै होला जस्तो र चम्चामा अलिकति राखेर चाखेँ तर मैले सोचे जस्तो कहाँ हो रहेछ र ! मेरो अनुहारको प्रतिक्रिया देखेर दाइहरु मज्जैले हास्नु भयो म भने आफ्नो कलेजा ठण्डा बनाउन चिसोपानी पिउन लागेँ ।
एउटा मैले यसो सुँघी हेरेँ । मीठो वासना आयो । दाइहरुले पिउन आग्रह पनि गर्नुभयो । मलाई लाग्यो यो त साँच्चै टिम्मुरको जुस नै होला जस्तो र चम्चामा अलिकति राखेर चाखेँ तर मैले सोचे जस्तो कहाँ हो रहेछ र !
रसिलो, हँसिलो र वेवकुफीलो स्मरण बन्यो । सम्झिदा अहिले पनि हाँसो लागेर आउछ । टिम्मुर, खनकपा र पदमचाल जस्ता जडिबुटीबाट त्यहाँ औषधिको रुपमा पिउन मिल्ने पेय बनाइदो रहेछ । नेवार मित्रहरुले आइला भन्दै हुनुहुन्थ्यो । म फेरि अलमल परेँ । नेवारी भाषामा औषधिलाई आइला भनिदिरहेछ । यहाँ भने आइला यही टिम्मुरको रक्सीलाई भनिदैथियो ।
हामी चढेको गाडीका चालकले हामीलाई केही स्थानीय कुराको जानकारी गराउने क्रममा भने जस्बिरेबाट माइपोखरी माता सरेकी हुन् भन्ने भनाइछ । यहाँ पनि नौ कुना नै छ पोखरीमा । तर अहिले भने पोखरी सरेपछि चिया बगान बनाइएको हो ।
दिउँसोको माइपोखरी अवलोकनपछि साँझको खाजाको प्रवन्ध कवि विमल वैध र राधेश्याम लेकालीले भिउ टावरमा गरेका थिए ।
फेरि पनि इलामको कोदोको लोकल पेय अनि सितन । पिउनेले पिए नपिउनेले खाए । तर सबै रमायौं । कवि न पर्यौं कविता शुरु गर्यौं र बिस्तारै गीत नृत्यसम्म पुगेर होटेलतिर लाग्यौं ।
बेलुकाको खाना होटेल तमुमा खाएर आफ्नो कोठातर्फ पसेँ म साथमा थिइन झापाकी कवि लक्ष्मी ढुङ्गाना । भोलि फर्किनु छ आफ्नो आफ्नो घर । केहीछिन गफगाफपछि सुत्यौं
अर्कोदिन कवि सुरेन्द्र अस्तफल, चन्द्र भण्डारीसँग चारआलीसम्म आउने सल्लाह थियो । तर सुरेन्द्र दाजु रात्रि बसबाट चितवन जानुहुने भएकोले चन्द्र भण्डारी , लतिका जोशी , ललिता जोशी र उषा नन्दीसँग म चाराली हुँदै इलामको गुलियो सम्झना बोकेर बिराटनगर आएँ । उहाँहरु पनि आ–आफ्नै घर जानुभयो ।
क्रमशः