काठमाडौँ । आज माघ १, परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ ।
आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा मेला लाग्ने गर्दछ ।
आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।
माघे संक्रान्तिलाई विभिन्न जाति समुदायले भिन्नभिन्नै रुपमा मनाइने चलन छ । थारु समुदायले माघी भनेर मनाउँछन् भने काठमाडौ उपत्यकाका नेवार समुदायले घ्यू चाकु सँल्हु’ भनेर मनाइन्छ । थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षको रुपमा यो पर्व धुमधामसँग मनाउँछन् ।
पश्चिम तराईका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाउँछ । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा थारु महोत्सवको आयोजना गरिदै आएकोमा यसवर्ष भने स्थगित गरिएको छ । सरकारले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रुपमा मुलुकभर सार्वजनिक बिदा दिँदै आएको छ ।