–सानु शर्मा
आधारात घर्कीसकेको छ तर म अझैसम्म च्याटमा ब्यस्त छु । भोलि बिहानै पाँच बजे उठेर काममा हिड्नुछ तर उसका कुराहरु अझै सकिएका छैननन् । म आफैँलाई पनि कुरा टुङ्ग्याउन मन छैन । तर, केही घन्टापछि तयार भएर काममा हिडनुपर्ने बाध्यताले घरी घरी मन छड्काई रहेकोछ ।
“ सुनन यूविन, म भोलि कुरा गर्छु नि है ? आज...“
“तिमीलाई अचेल मसँग कुरै गर्न मन लाग्दैन, मलाई थाहा छ ।“ मेरो कुरा पूरा हुन नपाउँदै उसले गुनासो गरÞ्यो । मेरो मन कटियो– हरे ! कस्तो कुरा नबुझिदिएको होला ?
“त्यसो नभनन यूविन, मेरो भोलि बिहानैको सिफ्ट छ । २ घन्टापछि काममा जानलाई उठनुपर्छ । एकैछिन पनि नसुती..“
“उ, मैले भनिहालेँ नि, अचेल तिमीलाई मसँग कुरागर्न भन्दा निन्द्रा प्यारो लाग्छ । जाऊ, जाऊ गएर सुत । अब म डिस्टर्भ गर्दिनँ तिमीलाई ।“ उसले उताबाट डिसक्नेक्ट गर्यो । मैले कति कोशिश गरेँ तर ऊ अफलाईन भैदियो । मोबाइलमा फोन गरेँ, त्यो पनि स्विच अफ थियो । म मन मारेर ओछ्यानमा पल्टिएँ ।
११–१२ बर्षदेखि म यो बिरानो देशमा रगत र पसिना बेचिरहेकोछु । आउँदा राम्ररी अठार बर्षमा टेकेको पनि थिइनँ तर अहिले २९–३० बर्षकी परिपक्व युवती भैसकेकी थिएँ म । मन भने अझै पनि १७–१८ बर्षकै थियो मेरो । मेरो बाध्यता दिमागले बुझे पनि मनले बुझ्न नकारीदिएको थियो सायद । त्यसैले त यो सपना देख्न सक्थ्यो । विश्वास गर्न सक्थ्यो । माया गर्न सक्थ्यो अझै पनि ।
१२ क्लासमा एकदमै राम्रो मार्क्स ल्याएर उत्तीर्ण भएको बदलामा बाबाले मेरो अष्ट्रेलिया आएर नर्सिङ पढने धोको पूरा गरिदिनु भएको थियो, आफ्नो हैसियत भन्दा बाहिर गएर । म बाबाको विश्वासपात्र, भरपर्दो छोरी थिएँ । आमा कराउनु हुन्थ्यो, “ छोरीको जात पो त, धेरै टाउकोमा नटेकाउनुस् है । के फाईदा यत्रो ऋण धन गरेर बिदेश पढ्न पठाएर ? भोलि एउटाको पछि लागेर हिंडिहाल्छे क्यार ? कसले तिर्छ यसले लगाएको ऋण ? छोरा भए पो ?“
“ यसैले तिर्छे । तँ हेरिराख, सुख दिन्छे, पाल्छे यसले तँलाई, मलाई ।“ बाबाको कुरा सुनेर आमा सधैँ ओठ लेप्राउनुहुन्थ्यो ।
निम्न मध्यवर्गिय परिवारमा जन्मनुभएको बाबाका आफ्ना कुनै सपना पूुरा हुनसकेका थिएनन् । त्यसैले पनि होला उहाँले मेरो सपना पूरा गरिदिनुभयो, आफ्नो जीवनभरिको कमाई, भएको एउटा घर पनि धितो राखेर । आमाले रुवाबासी गर्नुभयो । बहिनीले समेत “भए जति सबै दिदीकै लागि खÞर्च गरेर मेरो लागि के नि ?“ भनेर गनगन गरी । तर बाबाले कसैको कुरा सुन्नुभएन ।
“यो अरुजस्ती छैन क्या । यसले हाम्रो दुःख बुझेकीछ । यसलाई राम्ररी पढेर सकिहाल्न दे, यसले सबैको हेर बिचार गर्छे“ उहाँ बारम्बार भन्नुहुन्थ्यो । तर आमा करकर गर्न छोडनुहुन्थेन । हुन पनि बाबाको अलि बढीनै भरोसा र बिश्वास थियो ममाथि । थाहा छैन किन ?
बाबाले हरेक कुरामा मेरो पक्ष लिन थालेपछि आमा र बहिनी झन झन मेरो बिरुद्ध हुन थाले । उनीहरू बातैपिछे मलाई ’बाउकी साख्खै’ भनेर भन्थे ।
अनेक किसीमको जुगाड गरेर, मद्दत मागेर बाबाले मलाई अष्ट्रेलिया जानको लागि सबै ब्यवस्था मिलाउनुभयो ।
समयसँगै भिषा लागेर आयो । म भन्दा पनि बाबा दङ्गदास पर्नुभयो । आमा र बहिनी, खासगरी बहिनीको असन्तोष र गुनासो चरम सिमामा पुग्यो । मेरो मन खिन्न भए पनि बाबाको उत्साहमा कुनै कमी आएन । मेरा सामानहरू प्याक भए । म हिंड्न ठिक्क परेँ ।
हिड्ने अघिल्लो दिन बाबाले मलाई पशुपति लिएर जानुभयो । दर्शन गरिसकेर हामी पारीपटीको बेन्चमा गएर बस्यौँ । निक्कैबेर बाबा मेरो हात समातेर त्यतिकै बसिरहनुभयो । मलाई थाहा थियो उहाँ मसँग कुरा गर्न चाहनुहुन्थ्यो तर हिचकिचाई रहनुभएको थियो । मैले उहाँको सजिलोकालागि बिस्तारै भनेँ–“ बाबा मैले सबै कुरा बुझेकीछु । तपाईँ ढुक्क हुनुस्, म घरको ऋण तिरेर नसकेसम्म, बहिनीको पढाई नसकिएसम्म आफ्नो लागि गाँस र बास भन्दा अरू केही सोच्ने छैन । तपाई कसम बाबा ! म तपाईँले ममाथि गरेको विश्वासलाई लज्जित हुन दिने छैन । तपाईँको बोलीको मान राख्नकालागि आफूलाई, आफ्नो मनलाई बिर्सिएर आमा र बहिनीको सबै आवश्यकता पूरा गर्नेछु ।“
बाबाले निक्कै बेर टाउको उठाउनु भएन । मेरो हात दह्रोसँग समातेर उहाँ त्यसरी नै बसिरहनुभयो ।
“मलाई तँमाथि भरोसा छ नानु ।“ उहाँले उठेर हिड्नु भन्दा पहिले बिस्तारै भन्नुभयो–“ छोरा छोरीकालागि केही गरेको बदलामा केही माग्नु उचित होईन, म माग्दा पनि माग्दिनँ, म जिउँदो रहुन्जेल तर कथंकदाचित मलाई केही भईहालेछ भने आफ्नो कसम नबिर्सनु । आमा र बहिनीको ख्याल राख्नु । उनीहरुको आशंकालाई सत्य बन्न नदिनु ।उनीहरुले भनेझै मेरी छोरी भएर देखाउनु ।“
भोलिपल्ट म गह्रुगाें मन लिएर अष्ट्रेलिया हिडेँ । मलाई छोडन एयरपोर्ट आउनुभएको बाबाले मेरो हात समातेर काँतर स्वरमा भन्नुभयो “– कुसुम ! मैले कुनै करकाप र दवावमा केही गरेको होइन । तँ मेरी लायक छोरी होस्, तैंले कहिल्यै कुनै कुराको जिद्दी गरिनस् । सधैँ हामीले भनेको सुनिस्, मानीस् । तेरो यो एउटा इच्छामा मैले आफ्नो इच्छा पनि मिसेर पूुरा गर्ने कोशिश गरेको मात्रै हूँ । तँ मनमा कुनै बोझ नराख । आमा र बैनिको कुराले चित्त नदुःखा । जसले जे भने पनि तँलाई बाहिर पढन पठाउने इच्छा मेरो पनि हो त्यसैले मनलगाएर पढेस् । म सधैँ तेरो साथमा छु ।“
म भक्कानिएर उहाँको छातीमा टासिएँ । त्यो दिन बाबाको भरोसा र बिश्वासको उठाउनै नसक्ने बोझका साथसाथै आमा र बहिनीको जिम्मेवारीको गह्रुगो बोझ आफूमाथि अनुभव गर्दै म बाबासँग अलग भएँ !
कलेजमा राम्ररी ब्यवस्थित हुन पनि भ्याईसकेको थिईनँ, अष्ट्रेलिया आईपुगेको पाँचौ दिनको दिन नेपालबाट बाबाको मृत्युको बिभत्स खबर आयो ।
“तेरो कारणले ।“ आमाले अलाप बिलाप गर्दै फोनमा भन्नुभयो–“ तैँले गरेर नै उहाँको मृत्यु भयो । तैँले अष्ट्रेलिया जाने जिद्दी नगरेकोभए यो सब हुन्थेन । ऋको बोझ, तेरो फिस तिर्ने चिन्ताले नै उहाँलाई हृदयघात भयो । तैँले गरेर ।“
यो नाजायज आरोप थियो उहाँको ममाथि । मैले आजसम्म कुनै कुराको जिद्दी गरेकी थिईनँ उहाँहरुसँग । बाहिर पढ्न जान चाहेको कुरा मात्र गरेको थिएँ मैले बाबासँग । घरको स्थिति राम्ररी बुझेकी म जिद्दी त परै जाओस,इच्छा ब्यक्त गर्न पनि डराउँथेँ । तर मैले त्यसबेला केही भन्न सकिनँ । चुपचाप बहिनीको, आमाको हरेक आरोप सुनिरहेँ । त्यस पछिका कैयौँ दिन म आफूले गर्दै नगरेको अपराधबोधमा आफैँलाई सरापी सरापी एक्लै रोएँ ।
“अब कसले फिस भर्छ र पढछेस् ? खुरुक्क घर आईज । यहीँ कुनै काम खोज । घर निखन्न पर्यो, बहिनी पढाउन पर्यो । तँ घरकी जेठीबाठी छोरी, तैंले नगरे कल्ले गर्छ ? खुरुक्क घर आईज ।“ आमाले हुकुम जारी गर्नुभयो ।
आमाले फोन राखेको घन्टौँसम्म म बिलौना गरिगरि रोएँ । रुँदै रुँदै सबै सामान समेटेँ । टिकट बुक गर्न फोन गर्नै लाग्दा मनले भन्यो ’छ महिनाको फिस तिरिसकेको छ । यो टिकटको पैसामा अलिकति पैसा थपे अर्को सेमेस्टरको फिस तिर्न पुग्छ । घर फर्केर पनि के गर्छु म ? बाह्र क्लास पास गरेकी मैले कहाँ खोज्छु घर निखन्न पुग्ने पैसा कमाउने जागिर ?’
मैले नेपाल नफर्कने निधो गरेँ । आमा फोनमा तथानाम आरोप लगाउँदै मलाई गाली गरिरहनुभयो, घर फर्कन दवाव दिईरहनुभयो तर म घर फर्किनँ ।
त्यसपछि सातै दिन केवल पानीले पाउरोटी निलेर म १८–२० घन्टा, भेटेजति काममा खटिन थालेँ । सबैभन्दा सस्तो, सेयर गरेर बस्ने ठाउँ र सबैभन्दा सस्तो खानामा बाहेक म आफ्ना लागि एक सेन्ट खÞर्च गर्थिनँ । एक कप कफीकालागि पनि फ्रि कुपन खोजेर हिंड्थेँ वा पिउँदैपिउँथिनँ । मन मार्न त सानै उमेर देखि आउँथ्यो मलाई, अब त झन आवश्यकतालाई पनि पाखा लाउन जानेकी थिएँ ।
फिसको पैसा जम्मा भएको दिन मैले पहिलोपल्ट एक बोतल जुस किनेँ र त्यसलाई आँसुसँगै पिएँ ।
घरमा पहिलोपल्ट पैसा पठाएको दिन मैले यहाँ आएदेखि पहिलो पटक राम्ररी पैसा तिरेर खाना खाएँ, नशालागे झैँ लाग्यो त्यो खाना मलाई ।
घर पैसा पठाउन शुरु गरेपछि आमाको आरोप र गाली त कम भयो तर माग दिन प्रति दिन बढ्न थाल्यो । साथमा बहिनीको मागको लिस्ट पनि लामो हुनथाल्यो । उनीहरुको माग कसरी पूरा हुन्थ्यो, त्यसको उनीहरुलाई कुनै पर्वाह थिएन। बस् माग पूराहोस, त्यसैसँग सरोकार थियो उनीहरुलाई ।
दिनहरु पढ़ाई र कामकोलागि भागदौड़ गर्नमै बितिरहे । म झन–झन काममा ब्यस्त हुँदै गएँ तर पनि मैले पढाईमा कुनै सम्झौता गरेकी थिईनँ । मलाई थाहा थियो–यो मेहनत र इमान्दारीको बाहुल्य भएको देशमा टिकिरहनकालागि मैले आफ्नो पढाईमा ध्यान दिन कति आवश्यक थियो भनेर । कम सुत्थेँ, फिस र आफ्नो एकदमै सीमित ब्यक्तिगत खÞर्च बाहेक अरु सारा पैसा घर पठाउँथेँ । आमा र बहिनीको सबैखाले आवश्यकता मात्र होइन, इच्छाको पनि ख्याल राख्थेँ तर बदलामा आमाको मीठो वचन कहिल्यै सुन्न पाउँथिनँ ।
म यहाँ आएको तेस्रो बर्षको अन्त्यतिर आमाले बहिनीले मेडिकलको पढ़ाई शुरु गरेकोले बढ़ी पैसा पठाउने आज्ञा दिनुभयो । कमाएजति पैसा त पठाईरहेकै थिएँ, त्यो भन्दा धेरै कहाँबाट पठाउनु मैले ?
“तर आमा डाक्टरी पढ्न कम पैसाले त पुग्दैन, म कसरी...“
“तँलाई त्यहाँ जान पनि त कम पैसा लागेको थिएन नि ? त्यही पैसाको पीरले तेरो बाबा बित्नुभयो । उहाँको ज्यान भन्दा पनि महँगो छ र डाक्टरी पढ़ने फिस ? तेरो खÞर्च पुरÞ्याउन घर बन्धक नराखेको भए म त्यही बेचेर भए पनि पढाउँथे उसलाई तर...“
मैले चुपचाप फोन राखिदिएँ । मेरो बोल्नुको कुनै अर्थ थिएन ।
दिन, महिना, बर्ष बितिनै रहे त्यसपछि पनि, तर मेरो दिनचर्यामा कुनै बिविधता आउन सकेन । मरुन्जेल काम गर्नु, आमा र बहिनीका जायज, नाजायज माग पूरा गर्नु, पैसा कमाएर पनि हरेक कुराकोलागि कल्पिदै बाँच्नु, जत्तिखेर पनि निन्द्राले लोथ भएर टुसुक्क बस्ने ठाउँ भेट्ने बित्तिकै निदाउनु, ट्रेनमा बस्दा निदाएरै ओर्लेने ठाउँभन्दा कैंयौ स्टप पर पुग्नु र त्यसरी निदाएकोमा आफूलाई सराप्दै, अपराधवोध अनुभव गर्दै फिर्ता आउनु –यही थियो मेरो दिनचर्या ।
पढ़ाई सकियो । रेसिडेन्ट भएँ म । यो खुशीको खÞबर आमालाई सुनाएर पुलकित हुँदै मैले भनेँ–“ आमा ! अब घर आउँछु म ।“
“त्यत्रो पैसा खर्च गरेर किन आउनुपरÞ्यो ? बरु टिकटमा खÞर्च गर्ने पैसा यहाँ पठाईदे, बहिनीलाई एजुकेसनल टुरमा जान पुग्छ ।“ आमाको जवाफ थियो । मैले उहाँको त्यो जवाफ पनि पचाएँ । म घर गईनँ ।
मेरो पोस्ट ग्य्राजुएसन सकियो । नेपाल छोडेको सात बर्ष बितिसकेको थियो । त्यसबेलासम्म राम्रै पैसा कमाउनथालेकी थिएँ मैले । नर्सिङ् गर्नेलाई कामको कमी थिएन यहाँ । म एउटा असल नर्स थिएँ । मेरो कामसँग सबै खुशी हुन्थे । पेसेन्टहरुको फÞेवरेट नर्स थिएँ म । तर मेरो कामको बोझ कम भएको थिएन । न नै कमाएको लगभग सारा पैसा घर पठाउने क्रम बन्द भएको थियो ।
नेपालमा आमाले घर मात्र निखन्नु भएको थिएन, तला थपेर भैँतले घरलाई साढेँ तीन तले बनाउनुभएको थियो । सबै भन्दा माथिल्लो तलाहरूमा आफू बस्नु हुन्थ्यो बाँकी दुईतला भाडामा लागेका थिए । यो बर्ष त बहिनीको पढ़ाई पनि सकिंदै थियो । तर मेरो आमाको माग आज पनि उस्तै थियो । बहिनीको डिमाण्डको त झन के कुरा गर्नु र ?
एउटा मैँ थिएँ जसमा कुनै परिवर्तन आएको थिएन । म कामले खिइएर झनै सानो, मरन्च्याँसे हुँदै गएको थिएँ । मसँग आज पनि नेपालबाट आउँदा ल्याएको त्यही एउटा सुटकेस थियो । तिनै खुईलिएका, सिलाई उध्रिएर सिलाईएका, धस्किएका पुराना लुगाहरू नै थिए । आउने बित्तिकै काम खोज्ने क्रममा एकजना नेपालीसँगै किनेको सेकेण्ड ह्याण्ड मोबाइल थियो ।
आज पनि म कैयौँ जनासँग शेयर गरेर बस्थेँ । आज पनि मेरा कोही साथी थिएनन् । आज पनि एउटा बर्गर किनेर खानुभन्दा पहिले ५ फेर सोच्थें म र गिल्टी फिल गर्थेँ आफूमाथि खर्च गरेको प्रत्येक सेन्टकालागि ।
बहिनीले इन्टर्न गर्न शुरु गरेपछि मैले एउटा ल्यापटप किनेँ । यहाँ आएदेखि यो नै सबैभन्दा ठूलो रकम थियो मैले आफ्नोलागि खÞर्च गरेको । ल्यापटप किनेको कति दिनसम्म म अपराधबोधले ग्रस्त भैरहेँ, त्यतिका पैसा आफूमाथि खर्च गरेकोमा ।
यही त्यो समय थियो जब मैले यूविनलाई भेटेथेँ फेसबुकमा । हुनत मजस्तो आफैँमा सीमित, ब्यस्त मान्छे कसरी कसैसँग नजिकिन सक्थे र ? त्यो त यूविन नै थियो जसले मलाई आफ्नो बसमा गरेको थियो ।
उसँगको सामान्य चिनजानमा मैले आफ्नो सही नाम भन्नसकेकी थिईनँ उसलाई, पछि पछि मलाई आफ्नो फÞेसबुके नामकै बानी पर्दै गयो तथापि उसँग झुठो बोल्ने, उसलाई ढाटने मेरो कुनै उद्देश्य थिएन ।
फेसबुकमा फेक आइडी देखाउनुको अरुको जे जस्तो उद्देश्य भएपनि मेरो उद्देश्य एउटै थियो–आमा र बहिनीको आँखामा नपर्नु । आमा र बहिनीको डरले गर्दा मैले आफ्नो सही नामसम्म राख्न सकेको थिईनँ प्रोफाइलमा । मलाई डर थियो कि मेरो फेसबुक अकाउण्ट देखेर उनीहरु यो नसोचुन– म उनीहरुदेखि उदासीन या फेसबुकमा रमाई रहेकोछु । यही कारणले मैले फोटो कहिल्यै राखिनँ आफ्नो प्रोफाइलमा ।
लगभग दुई बर्ष यूविनको गफमै भुलेर बित्यो । गफ त उही गथ्र्याे म त बस सुन्थेँ । सुनेर मोहित हुन्थेँ उसप्रति । एकदमै कम बोल्ने मलाई उसका कुराले एउटा छुट्टै संसारको सपना देखाउँथ्यो, जहाँ कुनै जिम्मेवारी हुन्थेन । अभाव हुन्थेन । आरोप र अपराधबोध हुन्थेन ।
ऊ मलाई “ नेपाल आऊ, अनि बिहे गरेर सेटल हैँ“ समेत भन्न भ्याउँथ्यो अनि म कल्पनामै उसँग बिहेवारी गरेर, एउटा छुट्टै घर संसारमा, उसका छोराछोरीकी आमासम्म भएको अनुभव गरिसक्न भ्याउँथेँ । उसको साथको सपना देखेर आफ्नो बाध्यता र दुःख बिर्र्सन सक्थेँ । मेरो निश्चल मन, कुमारी भावना र शरीर हरेक रात उसका कल्पना र सपनाहरुसँग बिटुलीन्थे । म मनले आफूलाई उसैकी भैसकेकी मान्थेँ । यो महामुर्खता थियो मेरो, मलाई थाहा नभएको होइन तर मेरो जस्तो जीवन बिताई रहेको ब्यक्तिको लागि यो मुर्खता बाँच्ने उद्धेश्य बनिदिएको थियो ।
जहाँ आमा र बहिनीको लागि म आवश्यकता पूरा गर्ने एउटा साधन मात्र थिएँ, त्यहीँ यूविनकोलागि हाड छालामा बेरिएको एउटा सुन्दर आत्मा । ऊ मेरो खोज खबर राख्थ्यो । खाए न खाएको सोध्थ्यो । थाकेको न थाकेको चिन्ता गर्थ्यो । निदाउने मौका जुरेको बेला लोरी समेत गाउँथ्यो ऊ मेरोलागि । ऊ यति ख्याल राख्थ्यो मेरो, जति मेरी आमाले कहिल्यै राखेको याद थिएन मलाई ।
उसको मीठो, मनमोहक कुरागराई, मायालु सोधखोजमा मलाई मेरो बाबाको कुराको महक, स्पर्श र चासो मिसिएझैँ लाग्थ्यो ।
म उसलाई पनि पैसा पठाँथेँ, जसकोलागि झनै धेरै काम गर्नुपथ्र्याे मैले । हुन त ऊ मसँग मुख फोरेर पैसा माग्थेन तर आफ्ना रहर र आवश्यकताहरूको वर्णन यसरी गथ्र्याे–म पैसा पठाउन बाध्य हुन्थेँ । उसलाई पैसा पठाउनकालागि एक्ट्रा सिफ्ट काम गर्नु पथ्र्याे मैले तर पनि म उसको ४–५ लाखको बाइकको रहर, उसको महँगो मोबाइल र ल्यपटपको रहर, महँगा रेस्टुरेन्ट र लुगाफाटाहरुको रहर सबै पूुरा गरिदिन्थेँ –उसलाई आफ्नो जीवन साथी मानेर । आमा र बहिनी जस्तै ऊ पनि परिवार बनिदिएको थियो मेरा लागि ।
त्यो दिन मैले आमालाई फोन गरेँ । म उहाँसँग यूविनको बारेमा कुरा गर्न चाहन्थेँ तर मैले ’हलो’ पनि राम्ररी भन्न न भ्याउँदै उहाँले भन्नुभयो–“ म फोन गर्नै लागेको थिएँ तँलाई । राम्रै भयो तैंले गरिस् ।“ उहाँले मेरो हालखबर सोध्ने औपचारिकतासम्म पूरा नगरी एकनाशसँग भन्नुभयो –“ मैले कविताको बिहे छिनिदिएँ । अब बिहेको तयारी गर्न पर्यो अर्को त को छ र अरु, तँ र मैँ त हो ? ३ महिनाभित्र कविता अमेरिका पुगिसक्नपर्छ । त्यो भन्दा पहिल्यै केटाहरु बिहे सकाउन चाहन्छन् । तँ पैसा पठा, म यहाँ तयारी सुरु गर्छु, बरु अलि चाँडै गर है !“
म केही बोल्न सकिनँ । कविता एमडी गर्न अमेरिका जाँदैथिई, त्यो मलाई यसकारण थाहा थियो कि त्यसको तयारीका लागि मैले पैसा पठाएको थिएँ । तर बिहे ? यसरी ? अचानक ? मेरो भन्दा पहिले ? मलाई भाउन्न छुट्यो । के, मेरो कुनै अस्तित्व पनि थियो र उनीहरुको आँखामा ? म केवल पैसा छाप्ने मेसीन भन्दा बढ़ी अरु केही मान्यता राख्थेँ र त्यो परिवारमा ? सधैँ पैसा चाँहिदा आमा मलाई ’तँ परिवारको जेठीबाठी छोरी, तैंले नगरे कसले गर्छ ?’ भन्नु हुन्छ । तर के यतिबेला, यति महत्वपूर्ण निर्णय गरिँदा म परिवारकी जेठीबाठी छोरीलाई सम्मिलित गराउन आवश्यक लागेन उहाँलाई ?
अचानक मलाई बाबासँग रिस उठ्यो त्यतिबेला । मैले काठमाण्डौ छोडेको दिन देखि यदि मलाई निदाउने मौका जुरÞ्यो भने, उहाँ प्रायः मेरो सपनामा आउनुहुन्छ । दरोसँग मेरो हात थामेर यसरी मसँग बस्नुहुन्छ मानौ म जिउँदो हुँदा सम्म उहाँले मेरो हात छोड्नुहुने छैन । किन ? ताकी म उहाँको ऋण तिर्नबाट न पन्छिऊँ ? उहाँले छोडेको उहाँको परिवारको जिम्मेवारी उठाउन नछोडौँ ? नत्र किन छोड्नुहुन्न उहाँले मेरो हात ? किन मुक्त गर्नु हुन्न मलाई यो बोझबाट ? बोझै त थियो यो ? जसलाई म सकी न सकी बिगत ११–१२ बर्ष देखि आफूमाथि लादी रहेकोछु । यदि यो बोझ नभएको भए शायद मेरो परिवारको महत्वपूर्ण निर्णयमा म पनि सम्मिलित गराईन्थेँ होला । मलाई अनायास रुन मन लागेर आयो ।
म निक्कैबेर नबोलेपछि आमाले भन्नुभयो –“सोच्न त मैले तेरो बिहेको बारेमा पनि सोचेथेँ तर कविता र युवराज एक डेढ़ बर्षदेखि एक अर्कालाई चिन्छन्, एक आर्काको नजिक छन् । केटो राम्रो घर परिवारको र भलाद्मी छ । अहिले बिहे नगरे भोलि के होला होला, तेरो बिहे त गर्दै गरौला नि । केटा पनि त खोज्नैछ ।“
यत्रो उमेरकी भैसकेँ म, उहाँलाई अझै कुनै हतार छैन मेरो बिहेको तर मभन्दा अढाई बर्ष सानी बहिनीको बिहेको हतार छ उहाँलाई । के म साँच्चै नै कुनै महत्व राख्दिन उहाँको आँखामा ? यदि यस्तो हो भने मलाई के जरुरी छ उहाँकोलागि यसरी खटिएर काम गरिरहन ?
“ घर आँउदैछु म अर्को हप्ता ।“ मैले दृढ़ स्वरमा भने ।
“तँ किन आउनु पर्यो अहिले ? टिकटमा किन तेत्रो पैसा खर्च गर्नु पर्यो ? म बिहेको डीभीडी पठाईदिउँला । तँ काम छोडेर नआईज । कवितालाई अमेरीकामा सेटल हुन दिहाल, यता म तेरालागि केटा हेर्दै गर्छु । मिल्यो भने अर्को बर्षतिर हेरौँला ।” आमाले सधैँ जस्तै हुकुम दिनुभयो ।
मलाई भएभरको शक्ति बटुलेर चिच्याउन मनलाग्यो “ भो, नखोज्नुस् मेरो लागि केटा, त्यो एक चिज पनि किन गर्नुहुन्छ तपाईँ मेरा लागि ?“ तर मैले केही भन्नुभन्दा पहिल्यै उहाँले ’छिट्टो पैसा पठाईहाल नत्र ढिला हुन्छ’ भन्दै फोन राखिदिनुभयो । त्यो दिन म बाबा मरेको बेलामा भन्दा धेरै रोएँ । बाबा बित्दा शायद मलाई यो ढाडस थियो कि मेरी आमा र बहिनी अझै मेरो साथमा थिए तर आज मलाई आफू सम्पूर्ण अनाथ भएझै लाग्यो । शायद त्यसैले नै होला, हिजो सम्म गरेका ती अनगिन्ती संघर्षले आज थकाएझैँ लाग्यो । भोको पेट, असुरक्षित महसुस गर्दै ती अञ्जान मानिसहरुसँग शेयर गरेको कोठामा बिताएका आधा अधुरा रातहरुले आज तर्सायो मलाई । आफ्नोलागि मारेर राखेको मन र रहरहरुले गिज्यायो मलाई आज । मैले नेपाल जाने निधो गरेँ ।
त्यो रात मैले आफ्नो निर्णय यूविनलाई सुनाउनु भन्दा पहिल्यै उसले दुःखद खÞबर सुनायो–गाउँमा उसकी हजुरआमा बितेको खबर । मैले केही भन्नै सकिनँ ।
“कुशा !“ उसले गम्भीर स्वरमा भन्यो–“ मलाई थाहा छैन त्यहाँ कति समय लाग्छ ? मेरो ड्याडी एक्लो छोरो भएको हुनाले हाम्रोलागि अर्को बिकल्प पनि छैन । हामीले गाउँ जानै पर्छ । तर त्यहाँ इलेक्ट्रिसीटी छैन । त्यसैले म त्यहाँ बस्दासम्म तिमीसँग सम्पर्क गर्न सक्दिनँ । हुनत म गाउँबाट निस्केरै भएपनि तिमीलाई कन्ट्याक्ट गर्ने कोशिश गर्नेछु । फÞोन गर्न कोशिश गर्नेछु । त्यसरी कन्ट्याक्ट गर्दा महँगो त पर्ला तर पनि म कोसिश गरौँला...“
“तिमी पैसाको चिन्ता नगर यूविन, म भोलि बिहानै पुग्नेगरी यहाँबाट पैसा पठाई दिन्छु ।“ मैले भनेँ ।
“ तिमीलाई अफ्ट्यारो त हुन्न नि कुशा ? मन त लाग्दैन तिमीसँग यसरी पैसा लिन तर...“
“ मलाई केही अफ्ट्यारो हुन्न यूविन, तिमी राम्ररी गएर आऊ त्यसपछि कुरा गरौँला । मलाई तिमीसँग केही भन्नु पनि थियो, तिमी फर्केर आऊ अनि भन्छु । फोन गर्न नमिले पनि केही छैन तिमी आफ्नो ख्याल राख ।“ मैले भनेँ । निक्कै बेर मेरो चिन्ता गरेर अलग भयो ऊ ।
भोलिपल्ट मैले उसलाई पैसा पठाईदिएँ । गाउँ हिडनु अघि उसले फोन गरेर पैसा पाएको कन्फर्म गरÞ्यो साथमा मलाई आफ्नो ख्याल राख्न आग्रह गर्दै बिदा भयो ऊ । मैले कविताको बिहे भन्दा २ दिन अघिको काठमाण्डौको टिकट बुक गरेँ अनि पाए जतिको, भ्याएजतिको काम गर्न लागि परेँ । यतिबेला त म यूविनसँग कुरा गर्ने समय पनि काममै लगाउन सक्थेँ ।
एघार बर्ष भन्दा पनि लामो अवधिपछि काठमाण्डौ एयरपोर्टमा ओर्लदा एकै क्षण त जिल्लिएँ म ।
मैले घरमा कसैसँग आफू आउने कुरा गरेको थिईनँ । बिना कुनै पूर्वसूचना त्यसरी आएकी मलाई आफ्नै घर खोज्न हम्मे परÞ्यो । बस्ती बाक्लिएर गजमज्ज सहरमै परिणत भएको थियो । त्यसमाथि मेरो घर पूरानो घर कहाँ थियो र अब ? त्यो शान्दार घरको त मैले कल्पना सम्म गरेको थिईँन आफ्नो घरको रुपमा । सोध्दै खोज्दै गएर मैले घरको बेल बजाएँ । एउटी अधबैसे महिलाले ढोका खोलिन् । पछि थाहा पाएँ–उनी घरको काम धन्दा सघाउन भनेर राखिएकी रहिछन्–बर्षौं देखि ।
घरमा बिहेको चहल पहल धुमधामका साथ सुरु भैसकेको थियो । त्यो घरको चमक दमक र त्यहाँका मान्छेहरूको रहन सहन देखेर पत्याउनै गाह्रो थियो– त्यो एउटा निम्न मध्यवर्गीय परिवार थियो भनेर ।
आमा र कविता दुबै खासै खुशी भएनन् मलाई देखेर । बाँकी अरु कसैले त मलाई चिन्दा पनि चिनेनन् । कामको बोझले थिचिएर म उमेरसँगै ठूली हुनु भन्दा झनै सानी भएथेँ । मेरो तुलनामा कविता अग्ली, मच्योर र सुन्दर देखिन्थि । हाड़ र छाला मात्रकी म त त्यो भिडमा देखिँदा पनि देखिन्नथेँ र शायद आमा र कविता म नदेखिएकै रुचाउँथे । उनीहरूको मप्रतिको रुखो, निरस ब्यवहार देखेर आएको केही घन्टा बित्दा नबित्दै मलाई पछुतो लाग्न थालिसकेको थियो घर फर्केर आएकोमा ।
साँझमा निम्तो लिएर बेहुलाको घर जाने बेलामा म पनि जान तम्सिएँ ।
“ तँ किन जानुपर्यो ?“ आमाले अप्रिय भावले भन्नुभयो ।
“म पनि त हेरौँ न, मेरो हुनेवाला ज्वाईं ।“ मैले तथस्ट स्वरमा भनेँ । कविता र आमाले आँखै आँखामा मंन्त्रणा गरे । आमाले भन्नुभयो–“ भोलि देखिहाल्छेस् नि । तँ जेठी सासूले जान हुन्न क्या, निम्तो लिएर ।“
“कसले मान्छ आजकल यस्तो कुरा ?“ मैले आफ्नो जिÞद्दी छोडिनँ –“ त्यैपनि म नभनौँला नि त, कविताको दिदी हूँ भनेर ।” मेरो कुरा सुनेर कविताको अनुहारको रंग फेरियो । मैले जिद्दी नछोडेपछि आमाले मलाई तानेर अर्को कोठामा लग्नुभयो र कविताको एउटा झिलीमिली साड़ी लगाउन दिनुभयो तर मैले त्यो लगाउन मानिनँ । अरुबेला भएको भए मलाई कुनै आपत्ति हुन्थेन तर यतिबेला म उनीहरुको ब्यवहारले यति दुःखेको थिएँ की उनीहरुले भनेको बिरुद्ध गएर एककिसिमको खुशी अनुभूत भैरहेथ्यो मलाई ।
म आफ्नो त्यही पुरानो पूुरानो लुगामै जान तयार भएँ ।
बेहुलाको घर देखेर त झन तीनछक परेँ म । साईडमा दुई वटा महँगा गाडीहरु पार्क गरिएका थिए । एक पटक त गर्व पनि लाग्यो –मेरी बहिनी यति राम्रो घरमा बुहारी बनेर भित्रिदै छ भनेर ।
केटाको बाबु आमाले हाम्रो भव्य स्वागत गरे ।
कति राम्रो घर ! कति सुन्दर परिवार । कति भाग्यमानी मेरी कविता । मेरो मनबाट मानौ सारा अफसोच र गुनासो पुछियो ।
केटाकी आमाले गएर छोरालाई लिएर आईन् । म हेरेको हेरै भएँ । कति सुन्दर र सभ्य देखिन्थ्यो ऊ । कति राम्रो ब्यक्तित्व । बिगत दुई बर्ष देखि मैले मेरो कम्प्यूटरको स्क्रीनमा, फेसबुकमा देखिरहेको भन्दा सर्वथा भिन्न देखिन्थ्यो ऊ !
“हजुरआमा मरेको दुई महिना पनि नपुग्दै बिहे गर्न मिल्छ यूविन तिम्रो कास्टमा ?“ मैले टीका थाप्न ठीक्क परेको उसको सामु गएर बिस्तारै भनेँ । उसको अनुहार बिवर्ण भयो । उसले आतंकित भावले मतर्फ हेर्यो । म ब्यङ्ग्यपूर्वक मुस्कुराएँ ।
“को यूविन ?“ छेउमा बसेकी उसकी आमाले भनिन्–“ तिमी को हौ ?“
“छोरालाई सोध्नुसन्, उसले के भनेर चिनाउँछ कुन्नी तर यदि मलाई सोध्नुहुन्छ भने, म तपाईँ कि फÞेसबुके बुहारी, जोसँग तपाईँको छोरो बिगत दुई बर्षदेखि बाँधिएकोछ ।“ म फÞरक्क फर्किएँ र बाहिर निस्किएँ ।
यत्रो धोका ? कति पतन भएको समाज यो ? केवल मन बहलाउन, फाईदा उठाउन कसैले म जस्तो सरल मन भएको मान्छेलाई कसरी प्रयोग गर्न सक्छ ? तर फेरि टाठा बाठा कहाँ ठगिन्छन र ? म जस्तै भावनात्मक सहाराको खोजिमा भौतारिरहेकै मान्छे त ठगिन्छन नि । यदि घर परिवारको साथ र सहयोग भएको भए किन ठगिन्थेँ होला र त्यति सहजै ? दुई शब्द माया र सहानुभूतिको सुन्न ब्याकुल भएकी म उसका ती मनछुने मीठा कुराहरुमा नै त बाँधिएको थिएँ आखिर ?
“यो बिहे हुँदैन ।“ घरमा पस्ने बित्तिकै मैले घोषणा गरेँ ।
“होइन के भन्छे यो ?“आमाले मलाई तानेर अलि छुट्टै कुनातिर लग्दै भन्नुभयो–“ बहुलाउन त बहुलाईनस् तँ ?“
“मलाई अरु केही थाहा छैन, तर त्यो केटासँग कविताको बिहे हुँदैन ।“
“तैंले भनेर ?“ पछिपछि आएकी कविताले च्याँठिदै भनि–“ एक डेढ बर्षदेखि हामी एक अर्कालाई चिन्छौँ, मन पराउँछौ, यो कुरो आमालाई पनि थाहा छ । अब अहिले आएर तैंले भन्दैमा किन हुन्न मेरो बिहे ऊसँग ?“
“किनकी दुई वर्षदेखि ऊ मसँग फÞ्लर्ट गरिरहेकोछ फेसबुकमा । तँलाई चिन्नुभन्दा पनि पहिलेदेखि मसँग बिहेगरेर सेटल हुने सपना देखाइरहेछ ऊ मलाई ।“ मैले नचाहँदा नचाहँदै मेरो स्वरमा तिक्तता मिसियो–“ मेरो एक्लोपन र भावना सँग खेलाँची गरिरहेछ ऊ । मेरो रगत पसिनाले भिजेको कमाईमा मोज गरिरहेछ ऊ । सबैभन्दा असह्य कुरा, मेरो पवित्र भावना र मनसँग लगातार बलात्कार गरिरहेछ ऊ ।“
“झुठ !“ ऊ कराई–“ युवराज बस्नेत जस्तो धनि मान्छेलाई तेरो पैसाको के खाँचो ? अनि म जस्ती गर्लफ्रेण्ड हुँदाहुँदै गर्छ होला नि खुब तँसग त्यस्तो कुरा ?“
“किन ? तँसँग गर्ने कुरा मसँग किन गर्न सक्दैन उसले ?“ मेरो स्वर चिसो भयो ।
“कहिल्यै ऐनामा अनुहार हेरेकी छस् आफ्नो ? कतै नपाएर तँसँग बिहे गर्छु भन्छ होला नि उसले ? मेरो राम्रो घरमा, राम्रो केटासँग बिहे हुन लागेको देख्न नसकेर भनेकी होस् तैले यी सबैकुरा,मलाई थाहा छ, मेरो रिस गरेर...“
मैले कसेर एक झापड लगाएँ उसको गालामा र झम्टेर मतिर बढ्नुभएकी आमालाई हातको इसाराले त्यहीँ अडिन संकेत गर्दै कवितालाई अगाडि बोल्ने मौकै नदिइकन भनेँ–“तेरो रिस ? कुन कुरामा बेटर छस तँ म भन्दा ? र म तेरो रिस गरौँ ? के छ तँमा त्यस्तो रिस गर्न लायक ? तेरो यो चमक दमक ? तर त्यो त मैले रगत पसिना पोखेर कमाएको पैसाको बुताको । तेरो डाक्टरको डिग्री ? त्यो पनि मैले कमाएर दिएको पैसाले आर्जेको । यदि तँसँग यो सब नहुँदो हो त फर्केर हेर्ने थिएन उसले तेरो अनुहार ।“
“चुपलाग !“ आमाले भन्नुभयो“– यही सब गर्न आएकी तँ यहाँ ? बिहे गरेर जान लागेकी बहिनीको मन दुःखाउन ?”
“अनि मेरो मन नि आमा ? यो त दुःखेको मात्र होईन दुःख्दा दुःख्दा कुहिसकेकोछ बाबा बितेदेखि ।“ मैले काँतर स्वरमा भनेँ–“ कुनै दिन एकै पलकोलागि मेरो मनको बारेमा पनि सोचेर हेर्नुभयो तपाईँले ? हेर्नुस मलाई, यो मेरो जिउमा भएको लुगा त्यही हो जुन यहाँबाट जानुअघि बाबाले किनिदिनुभएको थियो । आज यत्रा बर्ष पछि पनि त्यही लगाउँदैछु म । तपाईँहरुको यत्रो शान सौकतको खÞर्च उठाउन सक्ने मैले यदि चाहेको भए आफ्नालागि के गर्न सक्थिनँ, भन्नुस् त ? तर मैले त आजसम्म आफूलाई मनलागेको खानेकुरा सुद्धा राम्ररी किनेर खान सकिनँ । आमा ! तपाईँहरुको ऋण तिर्ने कोशिसमा मैले त बाँच्नै बिर्सिदिएँ तर मैले तपाईहरुबाट एप्रिशेशन, आफ्नोपनको त कुरै छोडौँ, साहनुभूतिको एक शब्द समेत सुनिनँ ।“ म कवितातिर फर्किएँ–“ सुनिस्, केही छैनस् तँ मेरो तुलनामा, किनकी तँ अर्को सात जन्मसम्म कोशिश गरेर पनि म बन्न सक्दिनस् । आज मसँग मेहनत, इमान्दारी, कर्तव्यनिष्ठा र बोलीको मान राख्ने जुन खुवी छ त्यो तँसग कहिल्यै हुनेछैन, त्यसैले मलाई तँसँग रिस गर्नुपर्ने कुनै कारण नै छैन । तँ यदि त्यो केटासँग बिहे गर्छेस भने खुशी खुशी गर तर त्यो भन्दा पहिले यो सत्य सुनिराख् कि युवराज बस्नेत चाहे जतिसुकै धनाढ्य होस्, जतिसुकै रुपवानहोस्, उसको र एउटी बेश्याको औकातमा केही अन्तर छैन आज मेरो नजरमा । फरक यति नै हो की बेश्या शरीर बेच्छे, ऊ शब्द र भावना बेच्छ । तर शायद बेश्याहरु ऊ भन्दा इमान्दार हुन्छन्, कमसेकम उनीहरु जोसँग पैसा लिन्छन्, उसलाई इमान्दारीपूर्वक शरीर सुम्पन्छन् तर युवराज बस्नेतमा त त्यो इमान्दारी पनि रहेनछ । त्यसैले त ऊ त्यतिका उपहार र पैसा लिएर पनि मप्रति इमान्दार हुनसकेन । भावना मसँग र शरीर तँसँग बाँडिरह्यो ....“
“कुशुम !“ आमा कराउनु भयो तर म पूर्ववत कवितासँग भनिरहेँ–“ त्यो मान्छेले तँलाई चढाएको महँगो बाइक मेरो पैसाले किनेको, त्यसमा हालेको पेट्रोल मेरो पैसाको । तँलाई खाना खुवाएको बिल तिरेको मेरो पैसाले । तँलाई किनेर दिएको फूल, गिफ्ट मेरो पैसाको । शायद तँलाई दिने औँठी समेत मेरो पैसाले किन्यो होला उसले । किनकी केही समय अघिमात्र ३ लाख पठाएथेँ मैले उसलाई हजुरआमाको मृत्युमा गाउँ जानलागेको बहानामा ।” मैले एकछिन अडिएर आमाको रङ्ग उडेको अनुहारतिर हेरेँ अनि फेरि भनेँ –“मलाई थाहा छ तिमीहरु मैले भनेका कुरामा बिश्वास गर्ने छैनौ, त्यसैले म अष्ट्रेलिया पुगेर उसलाई पैसा र गिफ्ट पठाएको साबै रसिदहरु पठाई दिन्छु । त्यसपछि पनि तँ आफूलाई सर्वश्रेष्ठ र उसलाई आफ्नो लायक सोच्छेस् भने मेरो भन्नु केही छैन ।“
मैले गएर आफ्नो सुटकेश झिकेर ल्याएँ ।
आमा र कविता अझै मुर्तिवत त्यहीँ उभिएका थिए । मैले आमालाई लक्ष्य गरेर भने–“ तपाईँहरुलाई जति अपसोच छ म घर आएकोमा त्यो भन्दा कैयौँ गुणा बढ़ी अपसोच मलाई छ, मलाई यहाँ आएकोमा । त्यहाँ हुँदा जे जस्तो भए पनि सोच्नकै लागि सही, मेरो घर थियो परिवार थियो तर घर आएर त म सर्वथा अनाथ र बेघर भएर फर्कदैछु ।“ मेरो स्वर रुँघियो–“ तर एउटा कुराको भने मलाई सन्तोष कि मैले बाबाको ऋण मात्र होइन, तपाईँको दूधको भारा पनि चुकाईसकेको रहेछु आमा । उऋण भैसकेछु म । आजसम्म मैले बाबालाई दिएको कसम बाँचे तर अब स्वतन्त्रछु म, आफ्नो जीवन बाँच्न ! ऋण मुक्त, उऋण बाँच्न !“ म बाहिर निस्किएँ । कसैले मेरो पछाडि आउने कोशिश गरेन ।
००००