- प्रा.डा. इन्दु आचार्य
नेकपा एमालेबाट विद्रोह गरि नेकपा एकीकृत समाजवादी पार्टी गठन भए पश्चात नेकपा एमालेका सुत्रधार र यस दलको साङ्गठनिक सुध्रिढिकरणका प्रमुख अभियन्ता मध्येका एक माधवकुमार नेपाल र वहाँको समूहका बारे विभिन्न प्रतिक्रियाहरु व्यक्त भईरहेका छन् । यति बेला एमालेका नेता तथा एमाले निकट बुद्दिजिवीहरु माधवकुमार नेपाल समूहको यो विद्रोहलाई गलत सावित गर्न तथा नेकपा एकीकृत समाजवादीलाई गलत देखाइ भ्रम सृजना गर्न व्यस्त रहेका छन । उनीहरुको यो प्रयास व्यक्तिगत रुपमा गालिगलौज, तुच्छ, छुद्र तथा अशोभनीयताको हदसम्म ओर्लिएको पाइन्छ । यस परिप्रेक्षमा नेकपा एकीकृत समाजवादी दलको गठन हुनु कति ठिक कति बेठिक भन्ने कुराको निक्र्यौल गर्न मद्दत पुग्ने विश्लेषण गर्न जरुरी छ ।
मार्क्स, एगेंल्स, लेनिन वा माओका समयदेखि वामपन्थी विचारधारा प्रस्टरुपमा एक सशक्त राजनैतिक विचारधाराको रुपमा अगाडि आएको हो र यो विचारधाराले वर्ग संघर्ष, सर्वहारा वर्गको अधिकारको प्राप्ति, सामाजिक न्याय, राज्यका स्रोत साधन र सयंत्रमा समतामुलक पहुंच, आम जनशक्तिको सहभागिता र समुचित परिचालन तथा राज्यश्रोतको न्यायोचित वितरण तथा त्यसमा तल्लो वर्गको सहज पहुँच जस्ता कुरालाई आफ्नो मूल आधारको रुपमा लिएको हुन्छ । आधुनिक राज्य व्यवस्थाको विकाससगैं ’राज्य व्यवस्था’नै श्रोतसाधन सम्म पहुंच र वितरणको प्रमुख साधन हो भन्ने मान्यता स्थापित हुदैं गयो । यससँगं पूँजींवादी शैलीको सामन्ती सोच र ब्यवहारको पनि विकास हुदै गयो । आज हामीले भन्ने पूँजीवादी व्यवस्था एक प्रकारले यहि पूँजीवादी शैली र सामन्ती सोचको मिश्रित नतिजा नै हो भन्नु अत्युक्ति हुने छैन । अर्थात वामपन्थी विचारधारा राज्य व्यवस्थापनको शैलीको रुपमा विकसित भएको मूल कारणनै समाजमा बिद्यमान भेदभावयुक्त पूँजीवादी शैली र सामन्ती सोंच हो भन्न सकिन्छ । सामाजिक न्यायको स्थापनाकालागि पूँजीवादी व्यवस्थाका विरुद्द लड्नुपर्ने चुनौती एक प्रमुख आन्दोलनको रुपमा सुरुदेखिनै रहेको देखिन्छ । तसर्थ यो वामपन्थी विचार धाराको विस्तार गर्दै सामाजिक न्यायको सिद्दान्त विपरितको सोच र व्यबहार राख्ने वर्गहरुको विरुध्दमा लाग्नु पर्ने भएको हुनाले विचारधाराको यो लड़ांई ुवामपन्थी आन्दोलनुको रुपमा परिचित हुँदै गयो । यो वामपन्थी आन्दोलनले माओको सांस्कृतिक क्रान्ति पछि ३२ बर्ष पहिले नेपालमा एक नयाँ तरङ्ग र नयाँ इतिहास सृजना गरि एकातिर विश्वका पूँजीवादी शक्तिहरुलाई चकित पारेको थियो भने विश्वभरिका वामपन्थी आन्दोलनका समर्थकहरुमा नयाँ उत्साह र उमंग को सृजना समेत हुन थालेको थियो । दक्षिण एसियाको राजनैतिक मानचित्रमा २०४६ पश्चात नेपालमा देखिएको यहि वामपन्थी आन्दोलनको ससक्त उदयबाट तर्सिएका उग्र दक्षिणपन्थी शक्ति र आर्थिक उपनिवेशवादको रणनीतिमा अघि बढिरहेका उग्र पूँजीवादी शक्तिहरुले यो आन्दोलनलाई निरस्त पार्न विभिन्न चाल चल्न थाले । जननेता मदन भण्डारीको रहस्यमय हत्या, माओवादी बिद्रोह, दरवार हत्याकाण्ड, संघियता, गणतन्त्र, राजनीतिक अस्थिरता, आर्थिक नाकावन्दी, विभिन्न राजनीतिक दलहरु भित्र गुट उपगुटको सिर्जना र फुट आदि सबै कुराहरुमा कहीं न कहिँ यहि दक्षिण पन्थी पुँजीवादी स्वार्थको संलग्नता रहेको देखियो । विचार र सिद्धान्तबाट प्रेरित ’वामपन्थी’ आन्दोलनलाई रोक्नु र नेपालमा आफ्नो प्रभाव÷पकड कायम राख्नु यस्ता शक्तिहरुको एक मात्र उदेश्य रहेको देखिन्छ । यिनै शक्तिहरुको कुप्रयासको फलस्वरूप आज नेपालमा ३२ बर्ष अघिदेखिको ’ससक्त वामपन्थी आन्दोलन’ फेरी एक पटक आन्तरिक सुद्धिकरण गर्नु पर्ने र पुन एकत्रित र संगठित गर्नु पर्ने अवस्थामा आईपुगेको छ ।
जब पूँजीवादी शक्तिहरु कुनै पनि सुधारवादी राजनीतिक बिचार र आन्दोलनसंग वाहिरबाट लड्न सक्दैनन् तब उनीहरु त्यस्ता आन्दोलनलाई भित्रवाट कम्जोर पार्न प्रयत्न गर्दछन् । उनीहरुले त्यस्ता आन्दोलनका सम्वाहक मध्ये बैचारिक रुपले कमजोर तथा पूँजीवादी प्रणालीका विषाक्त गुलियोप्रति आसक्ति भएका व्यक्ति र समूहहरु लाई हात लिने र आफ्नो प्रभावमा पार्ने प्रयास गर्दछन । यस्ता प्रयासहरुको संकेत एमाले भित्र विगत केही वर्ष यता विस्तारै देखिंदै गए र त्यसवाट उत्पन्न विकृतिले पार्टीलाई कब्जा गर्दै जाँदा आज एमाले वाट ’वाम आन्दोलन प्रति समर्पित एउटा ससक्त समूह बाहिरिएर नेकपा एकीकृत समाजवादी बन्न पुगेकोछ ।
लोकतान्त्रिक बहुदलीय ब्यबस्थामा राजनीतिक दलहरु लोकतान्त्रिक पद्धति, सुशासन, विचारधारायुक्त अभियान र जनउत्तरदायी प्रणालीका श्रोत हुन्छन् र उनीहरुको यहि चरित्रले राज्य व्यवस्थालाई निर्देशित गर्दछ भन्ने मान्यता राजनीतिशास्त्रले राख्दछ । यदि राजनीतिक दलहरु स्वयम् अलोकतान्त्रिक परिपाटीबाट चल्न थाले, आफ्नो सिद्धान्त र विचारको विपरित वाटो चल्न थाले, नेतृत्व अहंकारी, अधिनायकवादी, भ्रस्ट र पक्षपाती हुँदै गयो, कार्यकर्ताहरुलाई काखापाखा गनर्,े गुटवन्दी गर्ने, दलभित्र एउटा समूहको हाली मुहाली हुने, र दलभित्र विधि बिधानको वेवास्ता हुन थाल्यो भने एकातिर त्यो दल आफ्नो राजनीतिक सिद्धान्त र विचारको दृष्टिकोणबाट कमजोर हुँदै जान्छ भने अर्कातिर दल भित्र सिद्धान्त र विचारबाट चल्ने समूहहरु अलग हुँदै जान्छन् । बिगतका आठ वर्षको स्थितिको बिश्लेषण गर्ने हो भने विकृतिका यी माथि उल्लेखित सबै चरित्रहरु नेकपा एमाले भित्र टड्कारो रुपमा देखिंदै गएका हुन् र यसको प्रमुख जिम्मेवारी यसको वर्तमान नेतृत्वको शैली र व्यबहारलाई नै जान्छ । एमाले भित्र न ’वाम आन्दोलन’ बाँकी रह्यो, न विचार र सिद्धान्तको बहस बाँकी रह्यो । बाँकी रह्यो त केवल एक व्यक्तिको सनक, अहंकार, लोभ, र अधिनायकवादी शैली । अनि वाँकी रह्यो त्यस्तो नेतृत्वको छत्र छायाँमा निजी पूँजीवादी अभिलाषा पूरा गर्न चाहने भ्रष्ट चाटुकारहरुको झुण्ड मात्र । त्यस्तो अधिनायकवादी चरित्रको नेताले ’दिनलाई रात भने रात भन्ने र रातलाई दिन भने दिन भन्ने’ झुण्डको हालीमुहाली भएको राजनीतिक दलले न त ’वाम आन्दोलन’ जस्तो गम्भीर राजनीतिक प्रवाहलाईनै अगाडि बढाउँन सक्छ न यसबाट सुशासन र सामाजिक न्यायमा आधारित राज्य ब्यबस्था बनाउने एजेण्डाको रक्षानै हुनसक्छ । यसैले समाजवादमा आधारित वामपन्थी आन्दोलनप्रति समर्पित कार्यकर्ताहरुको छटपटाहट र चिन्ताको परिणाम स्वरुप नेकपा एसको प्रादुर्भाव गर्नै पर्ने अवस्था सिर्जना भएको देखिन्छ ।
राजनीतिक दलहरुका लागि (खासगरी वामपन्थी दलहरुकालागि) जनवर्गीय संगठनहरु पार्टीका रक्तनली हुन् भने बुद्धिजिवीहरु त्यसका मांसपेसी हुन्, जो चलायमान र सबल रहेनन् भने पार्टीनै कम्जोर हुन जान्छ । विगतका आठ वर्षमा पार्टीका जनवर्र्गीय संगठनहरु र बुद्धिजिवी वर्गलाई भूमिका विहीन बनाउने, पाखा लगाउने र चाटुकारहरुको कब्जामा राख्ने कार्य भयो, क्षमतावान र विचारको वहसमा योगदान दिन सक्नेहरुलाई उपेक्षित गरियो, अपमानित गरियो । फलस्वरूप यो वर्ग पार्टीबाट टाढा हुँदैं गयो । मदन भण्डारी र मनमोहन अधिकारी जस्ता खारिएका वाम नेताबाट वाम आन्दोलनलाई सैद्धान्तिक र बैचारिक रुपले अघि बढाउने शैलीमा प्रशिक्षित यो वर्गले एमालेभित्र झेल्नु परेको अपमान, उपेक्षा र भूमिका विहीनताले उब्जाएको ’बिद्रोह’ पनि नेकपा एकीकृतको गठनको पछाडिको अर्को कारण हो भन्नै पर्ने हुन जान्छ ।
विचार र सिद्धान्तवाट उर्जा प्राप्त गरि चलायमान हुने वामपन्थी नेता तथा कार्यकर्ताहरु पार्टी भित्र भूमिका विहीन पारिनु, उनीहरुको आवाज र अभिमतलाई उचित स्थान र मान्यता नदिनु, पार्टी भित्र ’ पूँजीवादी चरित्र र अधिनायकवादी शैली हावी हुनु भनेको वामपन्थी दलहरुको लागि ज्यादै घातक कुरा हो । एमाले भित्रको बिद्रोह यस्तै अवस्थाको परिणाम पनि हो ।
एक जना व्यक्तिको सत्तालिप्सा, सर्वसत्तावादी सोंच र अधिनायकवादी शैलीले गर्दा संविधानको मर्म र भावना विपरित दुई दुई पटक संसद बिघटन गर्ने, कोरोनाको महामारीमा देश र जनता हाहाकार भएका वेलापनि भ्रष्टाचार गर्न र भ्रष्टाचारी जोगाउन न छोड्ने, राष्ट्रको गरिमानै तलपर्ने कुटनीतिक मर्यादा विपरित गतिविधि गर्ने लगायतका लज्जास्पद काम गरेर सिंगो पार्टीको शीर झुकाउने काम भएको मुकदर्शक हुन नसकेका कार्यकर्ताहरुको आत्मसम्मानको खोजीको परिणाम पनि नेकपा एकीकृत समाजवादीको गठन हो भन्नु अत्युक्ति हुने छैन ।
एमालेको वर्तमान नेतृत्व र त्यसको वरिपरिका चाटुकारहरुको झुण्डलाई ईतिहासले ’भ्रष्टाचार’ को पर्यायको रुपमा चिनायो भने आश्चर्य मान्नुपर्ने छैन । वाइड़ वडि काण्ड, यति समूह काण्ड, ओम्निकाण्ड, सुरक्षा प्रेस काण्ड, अधुरा योजना उद्घाटन काण्ड, बजेटविनाका योजना शिलान्यास काण्ड, विभिन्न नियुक्ति काण्ड, एक पछि अर्को काण्डै काण्डको दलदलमा फस्तै गएको एमाले भित्र नैतिकवान, ईमान्दार र स्वच्छ चरित्रका नेता तथा कार्यकर्ताहरुको छटपटाहटले उब्जाएको विद्रोहको परिणाम नेकपा एकीकृत समाजवादी हो भन्न सकिन्छ ।
आफूले ठूलो परिश्रम गरि बनाएको घर बिग्रिदैं गयो भने मर्मत सम्भार गरिन्छ । तर मर्मत हुन नसक्ने भयो भने त्यो घरलाई त्याग्नु नै सहि कदम हुन्छ । २१ औं शताब्दीमा सम्पूर्ण विश्व चकित हुने गरि अगाडि आएको नेपालको वामपन्थी आन्दोलनरुपी घरलाई एमाले भित्रका धुन्धुकारीहरुले धुजा धुजा पारेर यति असुरक्षित बनाए कि त्यो आन्दोलनलाई सुरक्षित र चलायमान राख्न अर्को घर बनाउनै पर्ने परिस्थिति सिर्जना भएको सहजै महसुस गर्न सकिन्छ, । यसैको परिणाम स्वरुप नेकपा एकीकृत समाजवादीको गठन भएको हो भन्ने कुरा समयले सिद्ध गर्ने छ ।
आज नेकपा एकीकृत समाजवादीका आम कार्यकर्ताहरु विचार र सिद्धान्तको रक्षाका लागि कटिबद्ध माधवकुमार नेपाल जस्ता खारिएका शिर्षस्थ नेतृत्वको प्रेरणा र संरक्षणमा नेपालको वामपन्थी आन्दोलनलाई सैद्धान्तिक अडान, वैचारिक स्पष्टताका साथ सुशासन र सामाजिक न्यायको मान्यतामा चल्ने समाजवादी राज्य स्थापनाको दिशातर्फ लैजान नेकपा एकीकृत समाजवादीको छहारीमा खुला सास फेरि रहेका छन् । चुनौती पक्कै ठूलो छ तर ’एक दिन हामी सफल हुने छौं र त्यो दिन हामी छिटै ल्याउने छौं’ भन्ने बिश्वास पनि छ ।
लेखक आचार्य एकीकृत समाजवादीको कन्द्रीय सदस्य तथा केन्द्रीय उपभोक्ता हित संरक्षण बिभागका प्रमुख हुनुहुन्छ ।