–दीपेन्द्र दाेङ तामाङ
इन्चोन एयरपोर्टबाट उडेको जहाजभन्दा तीव्र गतिमा रोजी श्रेष्ठको मन उडिरहेको थियो । यसो त उनको मन पहिले नै उडेर नेपाल पुगिसकेको थियो । आमा न परिन् आफ्नो मुटुको टुक्राजस्ती छोरीका लागि पाँच वर्षसम्म हृदयमा जमाएर राखेको वात्सल्यप्रेमको बाँध फुटाउन उनी आतुर थिइन् । उनले छोरी रोहितालाई दुई वर्ष एक महिनाकी हुँदा नै छोडेर गएकी थिइन् । विदेशमा हुँदा फोटो र कहिलेकाहीँ मेसेन्जरमा लाइभ कलमा देखे पनि छोरीलाई अँगालोमा बेरेर चुम्न आमा मन व्यग्र थियो ।
‘अब हाम्रा दुःखका दिन गए छोरी । तिम्री आमाले पाँच वर्षमा अनेक हन्डर खाएर भए पनि कम्तीमा काठमाडौंमा सन्तोषप्रद जिन्दगी बिताउन सक्ने भएर फर्किंदै छे’ रोजीले आफ्नो काखमा लुटपुटिन आएकी छोरीलाई सुम्सुम्याउँदै भनिन् ।
छोरीले आमाको आँखामा आँखा जुधाउँदै सोधिन्, ‘आमा धन ठूलो कि मन ?’
छोरीको यो अप्रत्यासित र बेप्रसंगको प्रश्नले रोजी अलमलमा परिन् । के उत्तर दिने भन्ने सोंचमा डुब्दै थिइन् उनी । त्यहीबेला उनलाई कसैले आवाज दिएर घच्घच्यायो । उनी झसंग भइन् । एयर होस्टेजले लन्च कन्फर्म गर्न उठाएकी रहिछन् ।
आफूसँगैको सीटमा बसेका नेपाली यात्रुले मोबाइलमा अशोक दर्जीको ‘धनविनाको मन ठूलो कि मनविनाको धन’ भन्ने गीत सुनिरहेका रहेछन् । एयरपोड कानमा लगाएको भए पनि ‘भोलुम’ ठूलो भएकाले बाहिरै सुनिएको थियो ।
आफ्नो तर्कना थाहा पाएर रोजी आफैं मुसुक्क हाँसिन् । एयर होस्टेजलाई भेज खानाको अर्डर गरिन् । विमान गन्तव्यतर्फ अघि बढिरहेको थियो । रोजी भने फेरि अतीततर्फ फर्किन् ।
रोजी त्यसदिन निकै कठोर निर्णय गर्न बाध्य भएकी थिइन् । उनले करिब तीन रातको तर्क–वितर्कपछि श्रीमान् हिमाल बस्नेतसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी थिइन् । दुई वर्ष अफेयर्स अनि झन्डै एक वर्ष लिभिङ टुगेदर बसेर हिमालसँग विवाह गरेकी रोजीले अन्तर्जातीय विवाहका कारण यसै पनि ठूलो संघर्ष गर्नुपरेको थियो । त्यसमाथि हिमालको आफ्नै साथी नीलिमासँग अफेयर्स छ भन्ने थाहा पाएपछि रोजीले अब भने सम्झौता भन्ने शब्द नै बिर्सिन् । जीवनभरलाई मनले रोजेको साथीले नै धोका दिएपछि रोजीलाई उसको सम्पत्ति माटोसरह थियो । त्यसैले स्वाभिमानी उनले छोरी आफैंसँग राख्ने तर श्रीमानबाट कुनै अंश या सम्पत्ति दाबी नगर्ने सहमतिमा नै ल्याप्चे लगाएकी थिइन् ।
आफ्नो यस निर्णयमा उनी निकै खुसी थिइन् । नहोऊन् पनि कसरी ? आफ्नो कलेजोको टुक्रा छोरी उनीसँगै रहने भएपछि ।
विस्तारै दिन बित्दै गए । रोजीलाई अब आफ्नोभन्दा पनि छोरीको भविष्यको चिन्ता बढी लाग्न थाल्यो । छोरी ठूली भएपछि उनको पालनपोषणलाई लिएर भोलि आफूमाथि प्रश्न नगरून् भन्नेमा सचेत थिइन् रोजी । तर बोर्डिङ स्कुलको प्राइमरी टिचरको जागिरले उनलाई कहाँ विश्वस्त बनाउन सक्थ्यो र ?
‘ओइ, रोजी ! ‘कोरियाले इपिएस भिसामा नेपाली कामदार लैजाने भएछ नि । अलिअलि खेती गर्न जाने पुग्छ रे । तलब न्यूनतम डेढ लाख रुपैयाँ हुन्छ रे । तँ त ट्यालेन्ट छेस्, ट्राइ गर्ने कि ?’
एकदिन छेमाले सुनाइदिएको यही खबर पछ्याउँदै दक्षिण कोरिया पुगेकी रोजीले त्यहाँ पाँच वर्ष कसरी बिताइन् रु छोरीको भविष्यका लागि दुःख गर्छु भनेर त्यहाँ गएकी उनले दुःख भए पनि मन लगाएरै आफ्नो काम गरिन् ।
रोजीले कोरियामा भोगेको तीतो अनुभव उतै छोडेर आएकी थिइन् । साथमा थियो त केवल उनले गरेको अनुभव र उनले पसिनालाई रूपान्तरण गरेर आर्जन गरेको केही लाख रुपैयाँ ।
होइन यो प्लेन पनि आज किन ढिला उडेझैं लाग्दैछ मलाई रु रोजीले फेरि आफैंसँग प्रश्न गरिन् ।
‘विचरी छोरी अघि नै छेमासँग एयरपोर्ट आएर मेरो प्लेन कुरिरहेकी होली । आमा भएर मैले छोरीलाई कुराइबाहेक आजसम्म केही दिन सकेकी छैन । मलाई माफ गर सानी । अब म तँलाई मेरो काख र आँखाबाट एकपल पनि ओझेल हुन दिन्न ।’
उनले दुवै आँखामा टिल्पिलाएको आँसु टिस्यु पेपरले पुछिन् । अनि गह्रुंगो भएर भरिएको छातीभित्रको सास बाहिर निकालिन् । वरिपरि कसैले हेरिरहेको छ कि भनेर नजर डुलाइन् उनले । तर सबैजना आ–आफ्नै सुरमा थिए ।
अपरान्ह ३ : १५ बजे रोजी सवार थाई एयरवेजले त्रिभुवन विमानस्थलको ग्राउन्ड छोयो । रोजीले भने पाँच वर्षपछि बल्ल आफू जन्मिएको जमिनमा पाइला टेक्दै थिइन् । असनमा जन्मिएर नक्सालमा हुर्केकी रोजीलाई खै किन हो किन काठमाडौं बेग्लै लागिरहेको थियो, पहिले भन्दा अझ सुन्दर र आफ्नो लागिरहेको थियो ।
अद्यागमनका सबै प्रोसेसहरू पूरा गरेर बाहिर निस्कन रोजीलाई ४५ मिनेट लाग्यो । लगेज ब्याग राखेको ह्वील ट्रे गुडाउँदै बाहिर निस्कदा उनको नजर भने बाहिर उभिएका मान्छेहरूको भीडमा डुलिरहेको थियो । बाहिर विमानका यात्रुहरूका आफन्तहरूको लाम थियो । त्यही भीडमा रोजीको नजर टक्क अडियो । उनले बहिनी निशालाई ठम्याइहालिन्, सँगै ठूला दाजु शंकर पनि । उनीहरूको बीचमा गोरी र हिस्सी परेकी सानी रोहिमा आइसक्रिम खाँदै थिइन् । वर्षौंपछि छोरीलाई देख्न पाउँदा रोजीको वात्सल्य आइसक्रिमझैं पग्लियो । भरिएका आँखा नपुछेरै उनी दौडिएर छोरी भएको ठाउँमा पुगिन् । उनी छोरीलाई अँगालोमा बेरेर पाँच वर्षदेखि साँचेर राखेको माया चुम्बनको माध्यमबाट पोखाउन चाहन्थिन् । तर...
तर एक्कासि नौलो मान्छेले आफूलाई अंगालोमा बेर्दै काखमा बोकेर चुम्बन दिन खोज्दा रोहिमाले असहज महसुस गरिन् । उनी तत्काल छेमाकै काखमा गइन् र मुन्टो बटारेर अर्कै दिशामा हेर्न थालिन् । छोरी आफूसँग आउन नमानेको देखेर रोजीलाई अलिकति अनौठो र अलि बढी दुःख लाग्यो । धेरै प्रयास गर्दा पनि छोरी उनीसँग आउन मानिनन् ।
‘किन के भयो रोहिमा ? ममीसँग जान किन नमानेको ? जाऊ ममीसँग, ममीले नानुका लागि के के ल्याइदिनुभएको छ’ छेमा निशाले रोहिमालाई सम्झाउँदै भनिन् ।
रोहिमाले छेमालाई अझ कसिलोसँग समातिन् र भनिन्– ‘नाइँ ऊ मेरो ममी होइन । भिडियोमा बोल्ने कोरिया दिदी हो ।’
छोरी रोहिमाको जवाफ सुनेर रोजीले टेकिरहेको जमिन अचानक बेस्सरी हल्लियो ।