काठमाडौं । भरतपुर महानगरपालिकाको दोस्रो कार्यकाल नेतृत्वका लागि पनि रेणु दाहाल नै विजयी भएकी छिन् । प्रतिस्पर्धी नेकपा एमाले भने गत निर्वाचनभन्दा कमजोर बनेको छ । एमालेका मेयर उम्मेदवार विजय सुवेदीको मत पनि रेणुलाई दिएको भेट्टियो ।
प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । रेणुले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । रेणुले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे ।
यस्तै स्वतन्त्रका उम्मेदवार नेपाली कांग्रेसका विद्रोही जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । दाहाल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् ।
मतपरिणााको अवस्था
२०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो महिला महानगर प्रमुखका रुपमा निर्वाचित रेणुले ५ वर्षको कार्यकालपछि पुनः दोहोरिएकी हुन् । गएको पाँच बर्ष भरतपुरको भौतिक र सामाजिक विकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा १२ हजार ४४९ मतान्तरसहित जित हात पार्दै दोस्रो पटक भरतपुरको नेतृत्व गर्न सफल भएकी छिन् ।
भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरे । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन् । अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापति हुन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहेका थिए ।
यस महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा एकीकृत समाजवादीले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।
सत्ता गठबन्धनको साथ पाएकी दाहाल ५२ हजार २८ मतका साथ निर्वाचित हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत मात्र पाए । चुनावका क्रममा एमाले नेताहरुले जति मतअन्तरले जित्छौं भनेका थिए, त्यति नै मत अन्तरले पराजित भए । जबकी २०७४ को चुनावमा रेणुले निकै मुस्किलले मेयरको चुनाव जितेकी थिइन् । मत गणनाका क्रममा माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेर पुनः मतदान गर्ने अवस्था आएकाले एमाले नेताहरु हारेको होइन, हराइएको हो भन्ने गरेका थिए । तर यो पटक मतगणनाका क्रममा एकाध पटकबाहेक एमाले उम्मेदवार सुवेदीले अग्रता लिएनन् । गणना आधा नहुँदै एमाले नेताहरुले हार मान्न थालिसकेका थिए । किनभने प्रत्येक ब्यालेट बक्समा अग्रता फराकिलो बन्दै जाँदै थियो । यता रेणु जित्नेमा आशावादी थिइन् भने विजय एमालेको मत समेत रेणुको पोल्टामा पुग्दा दुःखी बने ।
प्राथमिकतामा थियो भरतपुर
२०७४ को स्थानीय चुनावमा चर्को प्रतिस्पर्धा गरेका दुबै दलले संसदीय चुनावमा वाम गठबन्धन बनाए । पार्टी एकता भएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘खुसी’ बनाउन केपी शर्मा ओली नेतृत्वको सरकारले भरतपुरमा बजेट खन्याउने काम समेत गर्यो ।
जब संसद विघटनसँगै ओली र प्रचण्ड अलग हुने अवस्था बन्यो, एमालेले भरतपुरलाई प्राथमिकतामा राख्यो । प्रचण्डको निर्वाचन क्षेत्रमात्र होइन, उनकी छोरी रेणु मेयर भएको भरतपुर महानगरको नेतृत्व जसरी पनि एमालेले लिन चाहन्थ्यो । बुटवलमा गर्ने तय भएको पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सर्यो । अरु पालिकामा उम्मेदवार टुंगो नलाग्दै भरतपुरमा विजय सुुवेदीलाई एकल उम्मेदवारका रुपमा अघि सारेर चुनावी अभियान थाल्यो ।
चुनावी अभियानका क्रममा सत्ता गठबन्धनले सभा गरेको भोलिपल्ट एमाले अध्यक्ष केपी शर्मा ओली आफैं पुगे । २४ वैशाखको सभामा ओलीले पार्टीका उम्मेदवार सुवेदीको आफूसँग हटलाइन सम्बन्ध रहेको मात्रै बताएनन्, सुवेदीलाई जिताए भरतपुरको विकासको जिम्मा आफूले लिने बताए । तर भरतपुरमा राम्रै प्रभाव भएको राप्रपासँग चुनावी तालमेल मिलाउँदा पनि एमालेले भरतपुर महानगरको नेतृत्व लिन सकेन । मेयर माओवादी केन्द्रलाई छाडेको विरोधमा कांग्रेसकै पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवार दिँदा पनि एमाले भारी मतान्तरले पराजित भयो ।
एमालेले आफ्नै मत जोगाएन
अघिल्लो चुनावमा एक्लै लडेका एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । यो पटक ३५ हजार मतदाता थपिएका थिए भने एमालेले राप्रपासँग तालमेल गरेको थियो । तर एमाले उम्मेदवार सुवेदीले ३९ हजार ५८२ मतमात्र पाए । उनले पाएको मत ज्ञवालीले प्राप्त गरेभन्दा तीन हजार ३४२ कम छ ।
अघिल्लो चुनावमा भरतपुर महानगरका २९ मध्ये १३ वडा जितेको एमाले यसपटक ६ वडामा खुम्चिएको छ । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका सुवेदीलाई एमालेजनले नै पत्याएनन् । उनले एमाले नेता–कार्यकर्तालाई मिलाएर चुनावी अभियान गर्न नसकेको प्रष्ट भयो । एमालेको मत त पुरा आएन भने राप्रपाको मत कहाँ गयो । अझ् थपिएका नयाँ मतदाताको हिसाबकिताब नै छैन ।
कहाँ मिलेन एमाले ?
मेयर माओवादी केन्द्रलाई छाड्दा कांग्रेसमा असन्तुष्टि थियो । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले कांग्रेसको मत काट्दा एमालेलाई फाइदा हुने विश्लेषण गरिएको थियो । एमालेको पनि मत एकीकृत समाजवादीले काट्ने थियो । तर त्यो मत आएका रामबहादुर थापा बादलको समूहबाट ‛मेकअप’ हुने र राप्रपाको मत जितका लागि निर्णायक हुने एमालेको बुझाइ थियो ।
स्थानीय निर्वाचन २०७९ मा सबैभन्दा बढी चर्चाको शिखरमा रह्यो भरतपुर महानगर । कारण, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालले पुनः टिकट पाउनु र चुनावी मैदानमा उत्रनु । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा महानगरमा नेपालकै पहिलो महिला मेयरका रुपमा निर्वाचित रेणुले यसपटक पुनः दोहोरिने इच्छा राखेपछि प्रचण्ड पुनः कांग्रेसको ‘पाउ’ परे ।
जगन्नाथको उम्मेदवारी फिर्ता गराउन भएभरको शक्ति प्रयोग
सत्ताको भोकमा रहेको कांग्रेसलाई गठबन्धनको नाम गरेर सत्तासीन बनाउन सफल प्रचण्डले त्यसको सट्टामा मागे– ‘भरतपुर मेयर’ । गठबन्धनको नाममा माओवादीले भरतपुरलाई आफ्नो पक्षमा पारेलगत्तै प्रचण्ड पुत्री रेणुले उम्मेदवारी दिने पक्का भयो । तर, त्यसमा बाधक मानियो चितवन कांग्रेस ।
दशकौंदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका चितवनका नेताहरु पुनः एकपटक केन्द्रको निर्देशन मान्दै पार्टीको राजनीतिलाई तिलाञ्जली दिन बाध्य भए, अनि तयार देखिए हँसिया हथौडामा मत दिन अर्थात् प्रचण्डपुत्री रेणुलाई पुनः मेयर बनाउन । त्यसमा केही निष्ठावान कार्यकर्ता देखिए, जस्तै कृष्णलाल सापकोटा अनि जगन्नाथ पौडेल ।
पौडेलले भरतपुरमा कांग्रेसको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध उम्मेदवारी दिए । उनको उम्मेदवारी फिर्ता लिनका लाग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको आम जनतामा स्पष्टै देखिन्थ्यो । तर, निष्ठाको राजनीति गर्ने पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । कांग्रेसले सभापति शेरबहादुर देउवाभन्दा अगाडिदेखि राजनीति गर्दै आएका कृष्णलाल सापकोटादेखि जगन्नाथ पौडेलसम्मलाई कारबाही गर्यो ।
जगन्नाथको उम्मेदवारी रेणुलाई फलदायी
पुनः ५ वर्षपछि रेणुलाई नै मत दिनुपर्ने चितवने मतदातालाई कांग्रेस केन्द्रको निर्देशनपछि केही विरोधका स्वरहरु सुनिए, जगन्नाथहरु मैदानमा उत्रिए, त्यससँगै रेणुको भने ‘फलिफाप’ सुरु भयो । तर, जगन्नाथको उम्मेदवारी रेणुका लागि अन्तिममा ‘सहयोगी सिद्ध’ भयो । निर्वाचन प्रचार प्रसारकै क्रममा अधिकांश चितवन कांग्रेसका नेताहरुको बोली फेरियो अर्थात् केन्द्रको निर्णयलाई शिरोधार्य गर्दै रेणुका लागि मत माग्दै हिँड्न थाले ।
रेणुको जितका लागि कलाकारदेखि नेतासम्मले पटकौं–पटक कामना गरे, अनि त्यो भन्दा धेरै गरे जगन्नाथको विरोध । उनलाई दिइएका प्रलोभन र धम्कीका स्वरहरु स्वयं जगन्नाथलाई थाहा होला । रेणुको पक्षमा रहेकाहरुले सापकोटा र पौडेललाई ‘भिलेन’ देखे । २०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेस केन्द्रको रेणुलाई समर्थन गर्ने निर्णयसँगै कांग्रेस चितवनमा विद्रोह देखियो, उम्मेदवारी दिने समय सकिइसकेकाले कसैले पनि बागी रुपमा उम्मेदवारी दिएनन्, तर यसपटक यस्तो भएन ।
२०७४ मा के भएको थियो ?
यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसबाट असन्तुष्ट बनेका कार्यकर्ताले रेणुको सट्टा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई मत दिएर ‘झण्डै’ जिताएका थिए । तर, दुई कार्यकर्ताको कर्तुतपछि भरतपुर–१९ पुनः मतदान गरेर रेणुलाई २०३ मतले जिताइयो अथवा जितिन् । (यसपटक उक्त वडामा नेकपा एमाले उम्मेदवार विजयी भएका छन्) त्यतिबेला केही कार्यकर्ता र इमान्दार कांग्रेस मतदाताको साथमा रेणुले झिनो मतान्तरले मेयरमा बाजी मारिन् ।
त्यतिबेला रेणुको विरोध गर्नेहरुले देवी ज्ञवालीलाई मत दिएको स्पष्टै देखिन्थ्यो । किनभने नेकपा एमालेका २९ वटै वडाध्यक्षहरुले ३७ हजारको हाराहारीमा मत ल्याएका थिए । तर देवी ज्ञवालीले ४२ हजार बढी मत ल्याएका थिए । ज्ञवालीले ल्याएको अधिकांश मत कांग्रेस असन्तुष्ट मतदाताकै थियो भन्नेमा कुनै शंका छैन ।
कांग्रेस अनि रेणुसँग असन्तुष्ट हुनेहरुले विकल्प पाए, जगन्नाथ पौडेल । अघिल्लो निर्वाचनमा विकल्प नपाएका कांग्रेसी मतदाताले देवी ज्ञवालीलाई मत हाल्न बाध्य थिए, तर यसपटक त्यस्तो भएन, चुनावी मैदानमा उत्रिए जगन्नाथ पौडेल–कांग्रेसी मतदाताको विकल्पको रुपमा । जसले गर्दा असन्तुष्टहरुको मत एमाले उम्मेदवारलाई गएन ।
एमालेको मत कम हुनुको अर्को कारण
गत निर्वाचनमा रेणुलाई मत नदिएकाले सूर्यमा मत हाल्न विवश थिए र ज्ञवालीको मत बढी भएको प्रष्टै देखियो, तर यसपटक विकल्पका रुपमा ‘भुइँकटहर’ पाएपछि एमाले उम्मेदवार विजय सुवेदीले कांग्रेस कार्यकर्ताको मत पाउन सकेनन् ।
कांग्रेसका धेरै मतदाता रहेको चितवनमा केही असन्तुष्ट मतदाता यता÷उता जाँदा पनि केन्द्रको निर्देशनअनुरुप चल्ने कार्यकर्ताका कारणले पुनः यसपटक पनि रेणुको महानगर मेयर यात्रा जित सहज बन्ने देखियो ।
जगन्नाथको उम्मेदवारीमात्र पनि रेणुको जितको कारण होइन । कांग्रेस केन्द्रको निर्णयविपरित गएर जगन्नाथ पौडेललाई मत दिने हरेक मतदाता पनि रेणुको जितको कारक हुन् । यदि उनीहरुले आफ्नो विद्रोहलाई अडानमा परिणत गर्दै रेणुको पराजयको कल्पना गरेको भए पौडेललाई नभई एमाले उम्मेदवार सुवेदीलाई मत दिने थिए । त्यसैले पनि रेणुको जितको वास्तविक कारक भनेको जगन्नाथ पौडेल अनि उनलाई मत दिने करिब १४ हजार मतदाता हुन् ।
असन्तुष्टहरुको मत आफूमा नआए पनि प्रमुख प्रतिपक्षीकोमा नजानु रेणुका लागि सुःखद् पक्ष हो । त्यसको मनन् सबैभन्दा धेरै स्वयं रेणुले गर्नुपर्छ, अनि उम्मेदवारी दिएका पौडेललाई कारबाही गरेका कांग्रेस नेतृत्वले गर्नुपर्ने हो । जसका लागि रेणुले जगन्नाथ पौडेलको उम्मेदवारीलाई आफ्नो ‘साथ’ सम्झनु पर्दछ । अनि, रेणुको पक्षमा देशभरि मत माग्दै हिँडेका कांग्रेस सभापति देउवाले पनि बास्तविकता थाहा पाउनुपर्दछ । यदि जगन्नाथले पाएको मत सुवेदीलाई गएको भए ? भन्ने प्रश्नलाई पनि मन्थन गर्नुपर्छ ।
रेणुलाई विपक्षीको भोट
बागी उम्मेदवारले चोट पुर्याउने विश्लेषण गरेको समयमा विपक्षीकै मत तान्दै रेणु विजयी बनिन् । रेणुले गरेको विकास र देखाएको समृद्धिका सपनाहरुलाई जनताले फेरि एकपटक अनुमोदन गर्ने निर्णय गरे ।
रेणुले यो पटक चुनाव कांग्रेस र माओवादीको मतलेमात्र जितिनन् । उनले त एमाले र राप्रपाको मायाले चुनाव जितिन् । अझ भन्ने हो भने चितवनबासीको माया र स्नेह नै रेणुलाई जिताउन पर्याप्त भएको छ । रेणुको प्रभाव राम्रै परेको देखिन्छ । उनले गफभन्दा काम बढी गरेको मतगणनाको नतिजाले पुष्टि गरेको छ ।
रेणुकोे बढ्यो लोकप्रियता
रेणुलाई तेरो र मेरोभन्दा पनि हाम्रो मेयरका रुपमा भरतपुरबासीले रुचाएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसको पूर्ण समर्थन हुँदा हुँदै मतपत्र चपाएर जिताएको आरोप माओवादीलाई आज पनि लाग्ने गरेको छ । यसपटक बागी उम्मेदवारले पनि कांग्रेसको मत राम्रो अंकमा ल्याइरहेको देखिएको छ । तर स्वतन्त्र मतमध्ये धेरै मत रेणुले पाइन् ।
जनताले सायद विकास गर्न सक्ने मेयरका रुपमा उनलाई अथ्र्याएको हुुनसक्छ । माओवादी राष्ट्रिय राजनीतिमा गेम चेन्जर पार्टी हो । सो कारण पनि रेणुलाई जनताले विश्वास गरेको हुन सक्छ । एमाले वा कांग्रेस जो सरकारमा भए पनि माओवादी त अनिवार्य नै सरकारमा हुने पार्टी हो ।
परिवारवाद र नातावादको मेटिदै दाग
जनयुद्ध गरेर मुलधारको राजनीतिमा आएको माओवादी केन्द्रलाई परिवारवाद, नातावाद र कृपावादबाट टाढा रहन नसकेको आरोप जहिले पनि लाग्दै आएको छ । खासगरी नेपाली राजनीतिमा परिवारवाद हाबी हुँदा योग्यले मौका नपाएको पनि चर्चा हुने गरेको छ । रेणुको पहिलो पटकको उम्मेदवारीले पनि त्यस्तै संकेत गरेको थियो । प्रचण्डले राम्रालाईभन्दा हाम्रालाई प्राथमिक्ता दिए । राजनीतिमा ‘गेम चेन्जर’ को भूमिका निर्वाह गर्दै आएका प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने यता सधैंजसो चर्चाको केन्द्रविन्दूमा नै छन् ।
रेणुले २०७४ सालमा भरतपुरको मेयरमा उम्मेदवारी दिँदा पार्टीभित्र र देशभर विरोध भएको थियो । प्रचण्डले जनयुद्ध छोरीलाई मेयर बनाउन गरेको हो भनेर प्रश्न गर्ने पनि उत्तिकै थिए । तर पाँच वर्षपछि रेणुको उम्मेदवारीलाई सबैले अनुमोदन गरेको पाइएको छ । नेपाली कांग्रेसको बागी उम्मेदवार अझ ०७४ मा धाँधली गर्दा पनि थोरै मतान्तरलेमात्र जितेको आरोप लाग्ने गरेको रेणुले यो पटक फराकिलो मतान्तरले विजयी बने । उनलाई एमाले, कांग्रेस र राप्रपाका कार्यकतालेसमेत विश्वास गरेको पाइएको छ । नातावादका कारण राजनीतिमा प्रवेश गरे पनि काम गरेर आफू योग्य नै भएको रेणुले पुष्टि गरेकी छन् । उनले गरेको कामको जनताले मूल्यांकन गरेका छन् ।
पौडेलको महत्त्व
आफूले माला पहिरिनुभन्दा अगाडि पौडेललाई माला पहिर्याएर रेणुले उनलाई सम्मान गर्नुपर्छ । आफ्नो जीतको पहिलो अविर पौडेललाई लगाइदिने हिम्मत राख्न सक्नुपर्छ । पौडेललाई विरोधीको रुपमा भन्दा पनि प्रमुख सहयोगीको रुपमा अंगाल्नुपर्दछ ।
पौडेलले पाएको मत सुवेदीको पक्षमा गएको खण्डमा नतिजा के हुनसक्थ्यो त्यसको विश्लेषण रेणुले गर्नुपर्दछ । अनि, पौडेल र सापकोटामाथिको पार्टीको कारबाही फिर्ताका लागि रेणुले नै पहिलो कदम चाल्नुपर्दछ । र, पटक पटकको बाचापछि अर्को निर्वाचनमा पौडेललाई नै अगाडि लगाएर रेणुले काँध थाप्न सक्नुपर्दछ ।
सुवेदीको अधुरो सपना
भरतपुरमा कांग्रेस माओवादीको असन्तुष्टीलाई क्यास गरेर महानगर हत्याउँछु भनेर मन्त्री र प्रदेशबाट राजीनामा दिएर महानगरमा भिड्न आउने विजयहरुले आफ्नो संगठन बलियो पार्नुपर्दछ । अर्काको असन्तुष्टीबाट आफू सत्तारोहण गर्छु भन्ने सपना देख्नु कदापी उपयुक्त होइन् ।
यदि कांग्रेस र माओवादीको असन्तुष्टीबाट मत पाउँछु भन्ने दिवाःस्वप्नबाट मुक्त भएर आफ्नो संगठन विस्तारमा लागेमा भरतपुर एमालेको नजिक होला, नत्र यसपटक पनि हत्याउन नसकेको भरतपुरमा कहिल्यै पनि आशा राख्नु मुर्खता शिवाय केही हुँदैन ।
फेरिएको कांग्रेस
निर्वाचन प्रचार प्रसारकै क्रममा अधिकांश चितवन कांग्रेसका नेताहरुको बोली फेरियो अर्थात् केन्द्रको निर्णयलाई शिरोधार्य गर्दै रेणुका लागि मत माग्दै हिँड्न थाले । रेणुको जितका लागि कलाकारदेखि नेतासम्मले पटकौं–पटक कामना गरे, अनि त्यो भन्दा धेरै गरे जगन्नाथको विरोध । उनलाई दिइएका प्रलोभन र धम्कीका स्वरहरु स्वयं जगन्नाथलाई थाहा होला । रेणुको पक्षमा रहेकाहरुले सापकोटा र पौडेललाई ‘भिलेन’ देखे ।
रेणुको जित सुनिश्चित हुनुका कारण
भरतपुरमा प्रारम्भिक मतगणनामा एमाले सुवेदीसँग रेणुको कडा प्रतिस्पर्धा भएको थियो । एमालेका सुवेदीले झिनो मतान्तरले अग्रता पनि लिएका थिए । तर पछि रेणुले अग्रता बढाइन् । एमालेकै पकड रहेका वडामा पनि रेणुलाई मत आउँदा जित सुनिश्चित गरिदियो । त्यसमाथि कांग्रेसका असन्तुष्ट मतलाई बागी उम्मेदवार पौडेलले होल्ड गर्दा रणुको जित सहज बन्यो ।
माओवादी केन्द्रले पनि कांग्रेसका बागी उम्मेदवार पौडेलको स्वतन्त्र उम्मेदवारीले रेणुको जितलाई सहज बनाएको निष्कर्ष निकालिसकेको छ । माओवादी नेता वर्षमान पुनले माओवादीमा नआउने कांग्रेसको असन्तुष्ट भोट पौडेलले ‘होल्ड’ गरेकाले रेणुलाई सजिलो भएको बताए । पुनले भने, ‘मतगणनामा देखिएको भोटिङ प्याटन हेर्दा जगन्नाथजीको उम्मेदवारी नभएको भए कांग्रेसको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जान्थ्यो । उहाँको उम्मेदवारीले हामीलाई नोक्सान भएन । बरु सजिलो भयो ।’
माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले पनि रेणुले पाँच वर्षमा गरेको काम, कामको मूल्यांकन गर्दै एमालेकै पकड एरियाबाट मत आएको र पौडेलको उम्मेदवारीले जित सहज भएको बताए । पौडेलले पाएको सबै मत एमाले उम्मेदवार विजय सुवेदीलाई थपिएको भए रेणुको जित कठिन हुनसक्ने उनले बताए ।
मेयर बनेपछि रेणुको बाचा–१
पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बिमा गरिदिने पहिलो निर्णय गरेकी छिन् । मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरूले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बिमा गरिदिने निर्णय गरेकी हुन् ।
मेयर बनेपछि रेणुको बाचा–२
महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय रेणुले गरेकी छिन् । खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।
मेयर बनेपछि रेणुको बाचा–३
रेणुले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक । देशकै नमुना स्मार्ट सिटीको जुन संकल्प छ । त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएकाले जनतालाई निराश बनाउँदिन ।
सोचेभन्दा बढी मत
आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उनले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताइन् । पहिलो कार्यकालमा अधुरा रहेका कामलाई दोस्रो कार्यकालमा पुरा गर्ने उनले बताइन् । उनलदेृ भनिन्, ‘हामीले तीनदेखि सात हजारको मतान्तर हुन्छ कि भन्ने सोचेका थियौं । जनसमुदायले विगतको कामको सहि मुल्यांकन गरेर अनुमोदन गर्नुभएको छ ।’
आफूले दिने योगदानमा कुनै कमि नगर्ने भन्दै उनले यहाँको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन् । महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्धन, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उनले बताइन् ।
महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उनले आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी काम थाल्ने बताइन् । अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने उनले दाबी गरिन् । स्थानीय सरकार राजनीति गर्ने ठाउँ नभएको भन्दै उनले काममा अनावश्यक अवरोध नआउने उनले विश्वास व्यक्त गरिन् ।
रेणुका बुवा प्रचण्ड
प्रचण्डले दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेणुको बुबा प्रचण्ड भन्ने स्थिति बनेको बताएका थिए । यस अभिव्यक्तिपछि प्रचण्डले आलोचना खेप्नु परेको थियो । उनले परिवारवादलाई बढी नै प्राथमिक्ता दिएको पाइयो । भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा प्रचण्डले रेणुको बुबा प्रचण्ड भन्ने भएपछि आफूलाई खुसी लागेको बताएका थिए ।
अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेणु दाहाललाई प्रचण्डकी छोरी भन्ने गरिएकामा अहिले रेणुका बुवा प्रचण्ड भन्ने स्थिति बनेको उनले बताए । उनले भने, ‘२०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । तर मलाई खुसी छ । अहिले आउँदा अब प्रचण्डको छोरी होइन रेणुको बुवा प्रचण्ड भएको छ ।’
उनले थपे, ‘२०७४ निर्वाचनमा यहाँ रेणु आउँदा सबैले प्रचण्डको छोरी आयो भन्ने गर्थे । प्रचण्डको छोरी । यद्यपि, रेणुको आफ्नै त्याग थियो । आफ्नै तपस्या थियो । रोल्पा, रुकुम जिल्लादेखि भारतका विभिन्न शहरमा भूमिगत भएर काम गरेको उनको आफ्नै अनुभव थियो ।’
को हुन् रेणु ?
नेपाली, हिन्दी र अंग्रजी भाषा बोल्न जान्ने दाहाल विसं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म संविधानसभा सदस्य थिइन् । हाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव, विसं २०७४ देखि २०७५ सम्म नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य, विसं २०६१ देखि २०६३ सम्म नेकपा माओवादी केन्द्र रोल्पा सहइन्चार्ज भएर काम गरिसकेकी छिन् ।
विसं २०३३ साल असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मिएकी दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन् । यस्तै विसं २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौं सेक्रेटरी, अखिल भारत नेपाली महिला संगठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक काममा सक्रिय रहेकी थिइन् ।
उनले २०७४ को निर्वाचनमा भने एमालेका देवी ज्ञवालीलाई निकै कम मतान्तरले हराएकी थिइन् । त्यतिबेला मतपत्रसमेत च्यातिएका थिए । यसपालि भने कांग्रेसका विद्रोही उठे पनि दाहालले सजिलै जित प्राप्त गरिन् ।
भरतपुर महानगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्यकालका लागि गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी रेणु झट्ट हेर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी भनेर चिनिएता पनि नेतृ दाहालको आफ्नै राजनीतिक र सामाजिक यात्रा छ ।
रेणुले जनयुद्धको कारण बुवाआमासँगै घर छाड्न पर्दा एसएलसीभन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाईनन् ।
युद्धकालिन समयमा आमाबुवासँगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा जानु परेकाले औपचारिक शिक्षालाई निरन्तरता दिइन पाइनन् । युद्धकै समयमा प्रवास भारतमै रहँदा गुल्मीका अनिलकुमार पाठकसँग विवाह गरेकी रेणुका दुई सन्तान छन् । रेणु माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् ।
अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा प्रवासमा रही संगठन निर्माण गर्दा उनी माओवादी आन्दोलनभित्र र बाहिर निकै चर्चित थिईन् । देशको बिकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने रेणु कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन् । जोसँग उनको भेट हुन्छ उनको साधारण शैली र क्षमतासंग प्रभावित हुन्छ नै । उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन् ।