–विजय पाैडेल
झट्ट हेर्दाखेरि राम्रो देखिने तर हामीलाई भित्र भित्रै एक्लो (असामाजिक) बनाउने जाल हो सामाजिक सञ्जाल। नाममा सामाजिक मिसिए पनि एसले हामीलाई कतिसम्म असामाजिक बनाएको छ भन्ने कुरा बुझ्न हामी धेरै टाढा जानु पर्दैन बरु प्राणवायु (अक्सिजन) बिना जीवन कल्पना होला तर सामाजिक सञ्जाल अझै मोबाइल बिनाको जीवन कल्पना बाहिरको संसार जस्तो भइसकेछ (मोबाइल फोबिया) भएका हरुलाई।
यसो सोच्दाखेरि त्यति असामाजिक चिजलाई पनि कसले सामाजिक भनेर नामकरण गर्यो भन्ने कुरामा पटक पटक सोच्न बाध्य बनाउँछ। सायद सामाजिक सञ्जालको उद्देश्य मान्छेलाई सामाजिक बनाउनु नै थियो होला तर अहिले हेर्दाखेरि मान्छेलाई मान्छेभन्दा टाढा राख्ने भाँडो भन्दा फरक नपर्ला ।
हामी कसरी फसिरहेका छाैं ?
हामी सामाजिक सञ्जालमा यसरी फस्नुको पछाडि केवल हाम्रो दोष छैनभन्दा अचम्म लाग्न पनि सक्छ, तर यो सत्य हो किनकी हामीलाई र हाम्रो ध्यानलाई त्यतातिर मात्रै खिच्नका लागि विभिन्न कम्पनीहरुको ठूलो लगानी रहेको हुन्छ, जसमा उनीहरुले विभिन्न कम्पनीहरुको ठूलो लगानी गरेकाे हुन्छ जसमा उनीहरुले विभिन्न क्षेत्रका विशेषज्ञहरुलाई राखेर काम गरिरहेका हुन्छन् । जसमा उनीहरुले हामी प्रयोगकर्ता हरुले उनीहरुकै साईटमा मात्रै ध्यान केन्द्रित होस् भनेर काम गरिरहेका हुन्छन र अर्को कारण हो हाम्रो मान्छेको मनोविज्ञान । हाम्रो मनचाहिँ जुन चिजमा क्षणिक आनन्द आउँछ त्यही चिज मात्रै गर्न खोज्ने चाहे त्यो कुराले भविष्यमा आफ्ना लागि लाभ हानी जे गरोस् हेक्का नै नराखी त्यही काम मात्र गर्ने बानीले गर्दा पनि हाम्रो मनलाई उनीहरुले सजिलैसँग नियन्त्रण गर्छन्।
अहिलेको समयमा बरु अरु चिजको लतमा नपरेको मान्छे सहजै भेटिएला तर, यो सामाजिक सञ्जालको लत नलागेका मान्छेहरु सायदै भेटिएला। चाहे त्यो बालबालिका र वृद्धवृद्धा नै किन नहोउन् । कुनै न कुनै रुपले सबै फसेको नै देखिन्छ । बालबालिकामा त झन् यो लत यति हाबी भइसकेको छ कि, उनीहरुलाई खान खुवाउनका लागि पनि मोबाइल कै साहरा लिनुपर्छ । यस्तो नहोस् पनि कसरी ? जबकि अहिलेका शिक्षित भनिएका अभिभावकहरु पनि घरमा भएको बेलामा घर रपरिवारलाई समय दिनुको साटो आफ्नो आफ्नो मोबाइल मै ब्यस्त हुन्छन्, अनि बच्चाले सिकुन् के ?
सार्वजनिक स्थानमा बस्दा होस् या अन्य कुनै लाइनमा बस्दा होस् या साथीभाइसँग बस्दा नै किन नहोस् एक न एक चोटि मोबाइल नहेरी नछोई बस्यो भने उसको आवचेतन मनमा एक चोटि घन्टी बजिसक्छ । मोबाइल छुन नपाउँदा खेरिको पीडा त प्रेमीसँग भेट्न नपाएको प्रेमीको जस्तो हुन्छ होला सायद हातका औंलाहरुलाई !
युवा पुस्ताको माँझ बढी लोकप्रिय भएपनि यसले बालबालिकादेखि वृद्धवृद्धा कसैलाई पनि नछोडेको कुरा त दोहोर्याई रहनु पर्दैन होला सायद । एउटा भनाइ प्रचलित नै छ पहिले घरमा कोही पाहुना आउँदा हालखबर सोधिन्थ्यो भने आजभोलि वाइफ़ाइ को पासवर्ड सोध्छन् । टाढा भएकाहरुलाई नजिक बनाए पनि नजिक भएकाहरुलाई टाढा बनाएको कुरा नकार्न सकिने अवस्था छैन।
बाहिर कसरी आउने ?
कुनैपनि कुरा छोड्छु भनेर मात्रै छोडिने भए त मादक पदार्थ सेवन गर्ने व्यक्ति पनि यो संसारमा कमै हुन्थे होला ? किनकि भोलिदेखि त पक्का पिउदिन भनेर कसम खानेहरु भोलि फेरि त्यही भट्टीमा भेटिन्छन, त्यस्तै सामाजिक सञ्जालको पनि कथा उही हो। भोलिदेखि चलाउन छोड्छु भन्दा भन्दै झन् बढी चलाउछन् । उसो भए के कुनै पनि बानिरलत छोड्न सकिन्न त ? त्यस्ताे भने कदापी हुँदैन ।
कुनै पनि कुरा छोड्नका लागि हामीले सामान्यतया हाम्रो मस्तिस्कले कसरी काम गर्छ भन्ने कुरा बुझ्नु पर्छ । हाम्रो मनले हामीसँग त्यही काम गराउँछ जसमा मज्जा आउँछ तर त्यही मज्जाले पछि दीर्घकालमा दु:ख दिन्छ भन्ने कुरा मनलाई थाहा हुँदैन उसो भए गर्ने के त ? त्यसका लागि हामीले आफ्नो बुद्धिको प्रयोग गर्नुपर्छ, हामीले सबभन्दा पहिले यो कुरा बुझ्न पर्छ कि हाम्रो मस्तिस्कले प्रतिस्थापनको सिद्धान्तमा काम गर्छ अर्थात हामीले कुनै चिज छोड्नु भन्दा पनि कुनै नयाँ कुरामा बानी बसाल्न सकेनौँ भने हामीले जति मेहेनत गरेपनि जहाँको त्यहीँ भइन्छ ।
अर्थात हामीले गरेको मेहेनत खेर जान्छ । एउटा उदाहरणबाट बुझौँ, हामीलाई साइकलको लतबाट बाहिर आउनु छ भने हाम्रो जीवन मा मोटरसाइकल आयो भने साइकलको आदत आफै छुट्छ । यसको सिधा अर्थ यो हुन्छ कि हाम्रो जीवनमा कुनै पनि लतभन्दा ठुलो लक्ष्य छैन भने हामीले जति मेहेनत गरेपनि हामी सफल हुँदैनौ । यदि तपाइको जीवनको लक्ष्य सामाजिक सञ्जालको लतभन्दा पनि ठुलो छ भने तपाई चाहेर पनि त्यस्काे गुलाम भएर बस्न सक्नु हुन्न,अथवा कसैले तपाइलाई चाहेर पनि हामीलाई फसाउन सक्दैन।
सकारात्मक तथा नकारात्मक पक्ष
–कमजाेर सामाजिक सम्बन्ध : हामी सामाजिक प्राणी भए तापनि समाजमाभन्दा पनि मोबाइलको सामिप्यमा बस्ने भएकाले हाम्रा सामाजिक सम्बन्ध कमजोर भएका छन्।
–खराब स्वास्थ : हाम्रो शरीर सामान्यतया हिडडुल गर्नका लागि बनेको भएपनि बढ्दो सामाजिक सञ्जालको प्रयोगले गर्दा एकै ठाउमा बसिरहने गर्छौं जसले गर्दा हाम्रो ढाड, घाँटीलगाउत शरीरका अन्य भागमा जस्तै, आँखा टाउको दुख्ने समस्या बढ्दै गएको देखिन्छ।
–मानसिक चिन्ता : सामाजिक सञ्जाल र यसमा आउने कन्टेन्टहरुले गर्दा आनवस्यक रुपमा मान्छेको आवचेतन मन मा नराम्रो छाप छोड्छ,जसले गर्दा मानसिक चिन्ता बढ्छ जसको असर शरीर मा पनि देखिने गर्छ, यसको मध्यमबाट हुने आपराधबाट पनि मान्छेहरु अछुतो छैनन् ।
–सकारात्मक पक्ष : यसका नारारात्मक पक्ष धेरै भयङ्कर भए तापनि सकारात्मक पक्ष पनि उत्तिकै शक्तिसाली छन् ।
–सम्भावना : बढ्दो टेक्नोलोजी को प्रयोगले गर्दा सूचना आदान प्रदानदेखि लिएर अन्य विभिन्न कुराहरुमा एउटा महत्वोपूर्ण भूमिका खेलेको छ हामीले यसको भरपुर फाइदा उठाएर यसलाई आफ्नो आम्दानी को स्रोत पनि बनाउन सकिन्छ।
–कम खर्चिलो र समयको बचत : हामीले गरिने व्यापार व्यवसाय डिजिटल रुपमा गर्दा अरुको तुलनामा कम खर्चिलो हुन्छ र धेरै सामु पुग्न सकिन्छ, समयको बचत पनि हुन्छ ।
–सिक्ने स्रोत : हामीले ईन्टरनेटको मध्यमबाट सजिलै जुनसुकै कुरा पनि सजिलै खोज्न र त्यसको सहि तथ्य फेला पर्न सक्छौ ।
सकारात्मक र नकारात्मक पक्ष जे जस्ता भएपनि हामीले यसको सही सदुपयोग गर्न सकियो भने पक्कै पनि यसबाट हामी लाभान्वित हुनेछौं। सामाजिक सञ्जाल बास्तवमै सामाजिक बनोस् र यसलाई सही तरिकाले प्रयोग गरी टाढा भएकालाई नजिक बनाए जस्तै नजिक भएकालाई पनि झन् नजिक बनाउन हामी सबैले पहल गर्नुपर्छ।