–राजु वैकल्पिक
राग मालश्री गाउँदै आएको दशैं पो बडादशैं
कमेरोले लिपेको, रातो माटोले पोतेर आएको दशैं पो बडादशैं
खुशीयाली, सद्भाव र समृद्धि लिएर आएको दशैं पो बडादशैं
खै ! मेरो लागि त उही फाटेको दशैं पो आयो
जीवनका कैयौ वसन्तहरुमा वडादशैं उत्सव बनेर आयो
गएका दूई वर्षदेखि वडादशैं आउन त आयो
डर र त्रास सँगसँगै लिएर आयो
आउन त दशैं यसपाली पनि आयो तर अवस्था, व्यवस्था उस्तै छायो
खै ! मेरो लागि त उही फाटेको दशैं पो आयो
न रोटे पीङ, न त लिङ्गे पीङ
न त नयाँ कपडा न त चचहुई सरररर
मिठो मसिनोको त कुरै छोडौं, नुन तेल छुनलाई पनि महँगाई छ वरपर
खै ! मेरो लागि त उही फाटेको दशैं पो आयो
कोही नारी शक्ति स्मरण गर्दै देवी भगवती पुज्दछन्
कोही असत्य माथि सत्यको विजय उत्सव भन्दै यताउती कुद्छन्
कोही आराधना साधना सिद्धि भन्दै तन्त्र मन्त्र फुक्दछन्
खै ! मेरो लागि त उही फाटेको दशैं पो आयो
विधि र कानुन सबै हराएर गए
आसुरी शक्तिहरु उन्माद भएर आए
विधान छ त केवल सूर्य उदय र सूर्य अस्त
तै पनि सबै जना बडादशैंको उत्सव मै मस्त
खै ! मेरो लागि त उही फाटेको दशैं पो आयो
अध्यात्म, धर्म र परम्परा अंगाल्दै उमारेको त्यो पहेलो जमरा
निधार टल्लक टल्कियोस् भनि मुछेको त्यो रातो अक्षता
अरुलाई लगाइदिँदा आर्शिवाद उन्नतीको कामनै कामना
आफूले लगाउँदा रातो चामल अनि जौ र मैकैको बिरुवा
खै ! मेरो लागि त उही फाटेको दशैं पो आयो