–धर्मराज कठायत
कैलाली । सुदूरपश्भिमका विभिन्न स्थानमा हर्षाेउल्लासका साथ होली मनाइदै छ । विभिन्न जातजाती तथा भेष भुसा अनुसार फरक फरक तरिकाले होली मनाईदै आएको छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रल्हाद र होलीकाको कथालाईलाई आधार मानेर असत्यमाथि सत्यको जितको रुपमा मनाईदै आएको हाेलीको रौनक सुदूरपश्चिममा पनि शुरु भएको छ । होलीमा विभिन्न रंगहरुको प्रयोग गरेर हर्षोउल्लासका साथ मनाउने गरिन्छ ।
मानवता र धैर्यताको प्रतीकको रुपमा निलो रंग, भगवान श्रीकृष्णको प्रिय रंगको रुपमा पहेलो रंग तथा साैभाग्यको सूचकको रुपमा रातो रंगको प्रयोग गरेर होली मनाईदै आएको छ । विश्वभरी फैलिएको कोरोना कहरका कारण लामो समय होलीकाे रौनक देखिएको थिएन तर यस वर्ष भने रंगको तिहार हाेलीको रौनक गाँउ तथा शहरहरुमा विस्तारै बढ्दै गएको छ ।
हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई होलीकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको हुँदा सत्यको विजयोत्सवका रुपमा मनाईदै आएको होली ठाँउ अनुसार फरक फरक तरिकाले मनाउदै आएको पाईन्छ । यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर १ निगाली तथा पहरियाका वाशिन्दाहरुले पनि यसपटकको होली धुमधामसँग मनाईरहेका छन् । रंगको तिहारको रुपमा मनाईदै आएको हाेली पर्व परम्परागत भेषभुसामा सजिएर हाेली, धमारी र चौपाया खेल्दै मनाईने गरेको संविधान सभा सदस्य हरिष ठकुल्लाले बताउनुभयो । वसन्त ऋतुको आगमनसँगै हाेली पर्व मनाईने र आफ्नो संस्कृति र परम्पराको संरक्षणका लागि समेत हाली मनाइदै आएको उहाँले बताउनुभयो ।
यसैगरी, पुर्खाले चलाउदै आएको संस्कृतिलाई हामीहरुले बिर्सदै गएको हुँदा यसलाई नया पुस्तासम्म हस्तान्तरणका लागि होली मनाउन लागेको स्थानीय दान सिंह रावतले बताउनुभयो । साथै उहाँले यसलाई तालिमको आयोजना गरेर भएपनि नया पुस्तालाई सिकाउने र आफ्नो संस्कृति तथा रितिरिवाजको जगेर्ना गर्ने समेत उहाँले बताउनुभयो ।
तीन तहको सरकारले कला संस्कृति संरक्षणमा सहयोग नगरेको स्थानीय नवराज विष्टले बताउनुभयो । साथै उहाँले स्थानीयबासी समेत सरकारसँग आवाज पुर्याउन नसकेको समेत बताउँदै आगामी दिनमा सुदूरपश्चिमका कला र संस्कृति संरक्षणका लागि सरकारको सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
होली पर्वलाई समुदायगत रुपमा फरक फरक तरिकाले र फरकफरक समयमा मनाउने चलन रहेको छ । कैलाली र कञ्चनपुरमा बसाेबास गर्ने राना थारु समुदायले भने एक महिना अघि माघ पूर्णिमादेखि होली मनाउदै गोबरको गुइटाको होलीका बनाइ दहन गरेर मनाउने गरेका छन् ।
यस्तै, होली पर्वका दिन कञ्चनपुरमा भने कुनै पनि किसिमका उच्छृङ्खल क्रियाकलाप नहोस् भन्ने सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।