काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोट भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले विश्वकपमा छनोट भएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारभएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएईलाई ९ रनले हराउँदै आगमी जुन–जुलाइमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको हो । यो जितसँगै नेपाल ४० अङ्कका साथ लिग–२ को तेस्रो स्थानमा उक्लियो र जिम्बावेको यात्रा तय गर्न सफल भयो ।
युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले खराब प्रकाशको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिका आधारमा जित हासिल गरेको हो ।
खेल रोकिनुअघि नेपालले ४४ ओभरमा छ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन तथा भीमले ६७ रनको योगदान दिए । गुलशन ५० रनमा अविजित रहे ।
कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्लले ५ रन जोडे । दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले ३ विकेट लिए । आयान अफजल खानले दुई तथा जाहोर खानले १ विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र चार चौकासहित अविजित १ सय १ रन बनाए ।
वृत्य अरविन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रन बनाए । त्यसैगरी रोहन मुस्तफा २०, सिपी रिजवान सात, आर्यन लाक्रा ६ र आयन अफजल खान ३रनमा आउट भए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ लिए ।