काठमाडौं । किसानका समस्या, उत्पादन वृद्धि र कृषिको आधुनिकीकरण योजना लगायतका विषयमा छलफल गर्न ‘जनता कृषि सम्मेलन २०८०’ हुने भएको छ ।
किसानका समस्याबारे कृषिमन्त्री र सम्बन्धित निकायका प्रमुखहरुसँग प्रत्यक्ष साक्षात्कार गर्न जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेडले मंगलबार ‘जनता कृषि सम्मेलन आयोजना गरेको हो ।
जनता टेलिभिजनको प्राङ्गणमा मध्यान्ह १२ बजेखि हुने सम्मेलनमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत, नेपाल उद्योग परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्रतिनिधि दीपक भण्डारी, कृषि सामाग्री लिमिटेडका कायममुकायम प्रबन्ध निर्देशक विष्णुप्रसाद पोखरेल, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, पैँचो पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपाने, किसान नेताहरु गणेशचन्द्र तिमिल्सिना, चित्रबहादुर श्रेष्ठ, तथा प्रेम दंगाल र कृषि विज्ञ, तरकारी व्यवसायी संघका प्रतिनिधि र कृषि व्यवसायीहरुबीच कृषिमा देखिएका समस्या, समाधानको उपाय र कृषिको आधुनिकीकरणबारे बिस्तृत छलफल गरिने भएको छ ।
कृषि क्षेत्रमा टेवा पुर्याउने उदेश्यले तय गरिएको ‘जनता कृषि सम्मेलन’ राष्ट्रिय योजना आयोग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), किसान महासंघ र नेपाल समाचारपत्रको सहयोगमा आयोजना गरिएको हो ।
राष्ट्रिय बाणिज्य बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र पँचो पसलको प्रायोजनमा गरिने कृषि सम्मेलन जनता टेलिभजिन, रेडियो जनता र जनता समाचार डटकमबाट प्रत्यक्ष प्रसार हुनेछ ।