काठमाडौं । फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक भएको छ ।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को गीत सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । सम्मेलनमा .केकी अधिकारी, अर्पण थापा र सलोन बस्नेत लगायतका कलाकारले गीतबारे चर्चा गर्नुभयो ।
‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको गीतले फिल्ममा पात्रको मनोदशा र सम्बन्ध निर्माण भूमिका दर्शाएको छ । गीतमा शम्भुजीत बास्कोटाको शब्द रचना तथा संगीत छ । सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।
गीतमा कलाकारहरु केकी, अर्पण, सलोनसहित निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड रहनुभएको छ । टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा प्रेम पाण्डे, दीपशाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले गीत रिलिजसँगै फिल्मको प्रचार अभियान औपचारिक रुपमा शुरु भएको धारणा व्यक्त गर्नुभयो । शोभितले पछिल्लो समय दर्शकले प्रेमकथा र सम्बन्धका कथावस्तु रुचाइरहेको भन्दै फिल्मलाई पनि दर्शकले माया गर्ने विश्वास दिलाउनुभयो ।
फिल्मको अधिकाँश दृश्य मुस्ताङ र कास्कीका रमणीय स्थानमा छायांकन गरिएको छ । फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतमराज खड्काको सहसम्पादन, समीर मियाको भीएफएक्स र केबलमान सिंह बस्नेत प्रोडक्सन डिजाइनर रहनुभएको छ ।। कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहेको फिल्मका निर्माता राजके अधिकारी र सुरज सरकार हुनुहुन्छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको जय हो लाई भदौ ८ गतेदेखि प्रदर्शन गर्ने योजना छ ।