–टंक पन्त
बुटवल । मालपोत र नापी कार्यालय बिना जग्गाको कारोवार संबन्धी कुनै पनि काम संभब हुदैन त्यसैले पनि ती दुबै कार्यालय नजिक राख्ने गरिन्छ तर बुटवलमा केही समय यतादेखि मालपोत र नापी कार्यालयको दुरी झण्डै चार किलोमिटर टाढा भएपछि आम नागरिकहरुले चरम सास्ती भोग्नुपरेको छ।
मालपोत र नापी कार्यालयले बुटवल उपमहानगरपालिका वडा १३ बुटवलको खोलापारि जीतगढीमा एकै स्थानमा आफ्नै कार्यालय निर्माण गर्ने गरी जग्गा खरीद गरेका थिए । जग्गा खरीद गरेपछि दुबै कार्यालयले भवन निर्माणका लागि ठेक्का पनि दिए तर नापी कार्यालय बनाउने ठेकदार धुलिखेल भीमेश्वरले भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ भने मालपोत कार्यालय भवन बनाउने जिम्मेवारी लिएको ठेकदारले डिपिसी बाहेक केही पनि काम अगाडि नबढाएकै कारण त्यसको गंभीर असर आम नागरिकहरुले भोग्नु परिरहेको छ।
सुख्खानगरबाट बुटवल तिनाउको पुल पारी नबनिर्मित जीतगढी स्थित आफनै भवनमा नापी कार्यालय सरेर जनताका काम त्यहीँबाट गत महिनादेखि नै प्रारंभ भैसकेको छ भने मालपोत कार्यालय पहिलेकै स्थान चार किलोमिटर टाढा सुख्खानगरमा रहेको छ । जग्गाको हरेक कारोवारदेखि नापी र मालपोत संबन्धी काम गर्दा दुबै कार्यालयमा नागरिकहरु अनिवार्य जानुपर्ने हुन्छ।
मालपोत पुगेपछि कित्ताकाटदेखि नापी संबन्धी काम गर्न कम्तिमा एक पटक नापी नपुगी हुंदैन भने कहिले कहीँ केही मिलेन भने तीनचार पटकसम्म मालपोतबाट नापी, नापीबाट मालपोत धाउनु पर्ने हुन्छ तर अहिले नापी र मालपोत कार्यालयको दुरी झण्डै चार किलोमिटर टाढा भएपछि एक दिनमा हुने काम दुई तीन सम्म लाग्ने गरेको छ।
मालपोत कार्यालय भवन निर्माण गर्ने ठेकदारले दुई बर्षभित्र भवन निर्माण पुरा गरी बुझाइ सक्नु पर्ने तर सो ठेकदार टीडिआर जयबागेश्वरी माताजेभीका यज्ञ केसीले तोकिएको समय सकिन लाग्दा भवन निर्माणको काम प्रारंभ नगर्दा पनि जिम्मेवार निकायले कारवाही पनि अगाडि बढाएको छैन। आगामी कात्तिक भित्र भवन निर्माण सम्पन्न गर्ने गरी दुई बर्ष अगाडि नै मालपोतसंग सम्झौता भएको थियो।
सम्झौता बमोजिम काम नगरेकै कारण आज यो स्थिति आएको भन्दै मालपोत कार्यालयका अधिकृत घनश्याम अर्यालले कात्तिकमा दुई बर्ष हुन्छ त्यसपछि आबश्यक कारवाही हुने जानकारी गराउनुभएको छ । ७ करोड ४५ लाख १३ हजार ८९ रुपियाँमा ठेक्का दिएको र केही रकम लगिसकेको ठेकदारले पैसा लिनासाथ काम शुरु गरे भन्नका लागि केही डिपिसी बनायो त्यसपछि ठेकदार सम्पर्क बिहीन छ । नापी कार्यालय र मालपोत कार्यालय एक साथ सार्नुपछ भनेर नै ठेक्का पनि दिएको तर राजनीतिक र उच्च अधिकारीको मिलोमतोका कारण मालपोत भवन निर्माण गर्ने जिम्मेवारी पाएको ठेकदार कामका हिसावले संपर्कबिहीन रहेको मालपोतकै एक कर्मचारीले बताएका छन्।
नापी कार्यालयका सुचना अधिकारी ज्ञानेश्वर पन्थले ठेकदार कम्पनीले भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेपछि पनि भाडामै बस्न नमिल्ने भन्दै सरकारले खर्च गरेर भवन बनाउने अनि त्यसको प्रयोग नगर्ने बित्तिकै भाडामा बस्न बजेट आउदैन र केही गरी बसियो भने पनि बेरुजु निस्किन्छ त्यसैले मालपोत कार्यालय आफनो भवनमा लैजानुको कुनै बिकल्प थिएन भन्नुभएको छ । उहाँले नागरिकहरुको अफ्ट्यारोलाई ध्यानमा राखी मालपोत कार्यालय जीतगढीमै चाडो भन्दा सर्ने अपेक्षा आफुहरुले राखेको स्पष्ट पार्नुभएको छ।
नापी कार्यालयको नबनिर्मित भवन करिब चार करोडमा सपन्न भएको बताइएको छ।
मालपोत अधिकृत अर्याल भन्नुहुन्छ, 'मुख्य बेइमान ठेकदार नै हो जसले गर्दा आज नागरिकहरुले निकै सास्ती भोग्नुपरेको छ।' ठेकदारले सम्झौता गरिसकेपछि कहिले छड मंहगियो भन्ने कहिले के भन्ने गरी बहानावाजी गरेको अर्याल aताउनुभएको छ।
मासिक करिब एक लाख भाडा तिरेर सुख्खानगरमा मालपोत कार्यालय छ भने लेखनदाशहरु बस्ने निजी घरहरुले एउटै सटरमा पाँच वटा भन्दा टेवल राखेर एक टेवल बराबर मासिक १० हजारसम्म लिने गरेका छन् । एउटै सटरबाट मासिक ५० हजारसम्म असुल्न पल्केकाहरु र ठेकदारको समेत मिलोमतो रहेको र त्यसमा केही जिम्मेवार अधिकारीहरुको भुमिका रहेको एक कर्मचारीले बताएका छन्।
मालापोत र नापी कार्यालयको दुरी टाढा हुँदा ६२ वटा आइडी लिएका लेखनदाशहरुले थप कमाई गर्ने मौका पाएका छन्। टाढाटाढाबाट मालपोत पुगेका नागरिकलाई नापी कति टाढा छ भन्ने थाहा हुदैन भने धेरैसँग साधन पनि हुादैन । अनि लेखनदाशले जग्गा किनबेच गर्नेलाई नापीसम्म लैजाने अर्को ठेक्का पनि लिन्छ र त्यो समयको थप रकम पनि लिने गरेका छन । टेम्पो र टेम्पोले पनि उति टाढा गएर काम सकेर फर्किने समय सम्मको भाडा पनि मन लाग्दी लिने गरेका छन्।
अर्घाखाचीबाट जग्गा बिक्री गर्न आएकी धनमाया गुरुङ भन्छिन– पहिले एक दिनमा हुने कामलाई दुइ दिन लाग्ने, लेखनदाश र टेम्पोले यही मौका छोपेर जति पनि शुल्क असुल्ने, होटलमा बस्दा डबल खर्च हुने रहेछ।
एकातिर दु:ख अर्कोतिर समय र पैसाको नाश यति हुँदा पनि प्रदेशको सरकार, स्थानीय जनप्रतिनिधि कर्सैलाई मतलव नहुने यो भन्दा दु:खद पक्ष के हुन सक्छ भन्ने प्रश्न गर्देै मालपोत कार्यालय पुगेका रमेश भण्डारी जसले जे गरेपनि छुट हुादो रहेछ भन्छन् । भण्डारीका अनुसार एकातिर राज्यको दोहोरो खर्च अर्को तिर नागरिकहरुलाई यो हद सम्मको हैरानी हुँदा पनि जिम्मेवार निकाय मौन रहेको देख्दा यस्तै रहेछ संघीयताको उपहार पनि भन्ने लाग्छ।
केही समय यता जग्गाको कारोवारमा कमी आएको कारण पहिले जस्तो भीड छैन तर पनि जति नागरिकहरु कारोबारका लागि पुग्ने गरेका छन् तिनीहरुले तत्काल कार्यालय एक ठाउँ बनाई समस्याको समाधानको अपेक्षा गरेका छन् । मालपोत अधिकृत अर्याल पनि आफूहरु पनि संभब भएसम्म चाडो कार्यालय सार्ने पक्षमा रहेको भएपनि लेखनदाशहरुलाई समेत बस्न ब्यबस्था गरेर नापी कार्यालय नजिकै जान आबश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने आबश्यकता रहेको बताउनुहुन्छ।
नापी कार्यालयका अधिकारी भन्छन्, 'मालपोत र नापीबीच बिभिन्न बिषयमा समयसमयमा छलफल गर्नुपर्यो भने पनि कामै छोडेर हिड्नुपर्ने अबस्था आएको छ । चार किलोमिटर टाढा त्यसमा पनि ट्राफिक जामको समस्या भोग्नुपर्दा दिनभरिको समय जान बेर लाग्दैन।
दुई बर्षसम्म ठेक्का लिएर काम नगर्ने ठेकदार यज्ञ केसीसँग पटक पटक सम्पर्क गर्न खोज्दा त्यसबारेमा उनले कुरा गर्न चाहेनन्।