काठमाडौं । पछिल्लो समय ह्वात्तै भाउ बढेको चिनी केही दिनपछि सस्तोमा पाइने भएको छ ।
उपभोक्तालाई चामल, दाल, तेल, नुन र चिनी लगायतको खाद्य वस्तु सहुलियतमा उपलब्ध गराउन सरकारले असोज २१ गतेदेखि सञ्चालन गर्ने सुपथ मूल्य पसलमा संचालन गर्ने भएको छ । सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ९७ रुपैयाँमै पाइने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मङ्सिर पहिलो सातासम्म चल्ने सुपथ मूल्य पसलमा ८७ (सतासी) रुपैयाँमा चिनी पाइने भएको हो । हाल बजारमा चिनीको मूल्य प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ । दशैं र तिहार तथा छठको अवसरमा व्यापारीले चिनीको मूल्यमा एकै पटक २५ रुपैयाँ प्रतिकिलोसम्म बढाएका छन् ।
सरकारले प्रत्येक वर्षको दशैं र तिहार तथा छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै आएको छ । सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउनका लागि २ करोड ३२ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ । यसअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्री हुने सबै प्रकारका चामल, मैदा, दाल, गहुँ, तोरी, भटमास र सूर्यमुखी तेलमा प्रतिकिलो अथवा प्रतिलिटर ७ रुपैयाँ छुट दिइने छ ।
कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कागुनोमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो खसी÷बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट राखिएको छ । यसबाहेक, साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री हुने वस्तुमा छुट दिन सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअनुसार नुन प्रतिकिलो २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने तेल र चिउरामा प्रतिकिलो÷प्रतिलिटर ७ रुपैयाँ छुटको व्यवस्था छ ।
दुग्ध विकास संस्था मातहत बिक्री हुने घ्यूमा प्रतिकिलो २० रुपैयाँ, २०० ग्राम पनिरमा २० रुपैयाँ र ५०० ग्राम पनिरमा ५० रुपैयाँ छुट हुनेछ ।