काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्प पालनमा भ्रष्टाचार भएको ठहर गर्दै ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सचिव प्रेमकुमार श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दायर गरेको हाे ।
अख्तियारले प्रकरणमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई समेत प्रतिवादी बनाएको छ । प्रतिष्ठानका पदाधिकारीहरु अध्यक्ष रेवतीप्रसाद पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय लगायतलाई प्रतिवादी बनाइएको हो।
सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सन्चालन गर्ने कार्यमा अनियमितता गरेको अख्तियारको ठहर छ ।
सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने उदेश्यले त्यस स्थानमा लागि रिसर्च सेन्टर खोलिएको हो । पूर्वअर्थमन्त्री यादव र तत्कालीन नगरप्रमुख मानबहादुर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी प्रचलित कानूनविपरीत लागत साझेदारी शून्य रहेको प्रतिष्ठानलाई सरकारी रकम उपलब्ध गराएको अख्तियारले मुद्दामा उल्लेख गरेको छ । त्यही संस्थाबाट कार्यक्रम कार्यान्वयन र खर्चको लेखाङ्कन गर्ने सम्झौता गरी अनियमितता गरिएको अख्तियारले जनाएको छ ।
मुद्दामा मन्त्रालयबाट नगरपालिका हुँदै प्रतिष्ठानलाई बदनियत तरिकाले १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरिएको भन्दै त्यसको बिगो माग दाबी गरिएको छ ।
प्रतिष्ठानमा नाम राखिएता पनि स्रोतका अनुसार प्रतिष्ठानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको प्रतिष्ठानमा संलग्नता छैन । पूर्वप्रधानमन्त्री खनालले प्रतिष्ठान आफ्नो नाममा बनाइएको भएता पनि त्यसमा आफ्नो संलग्नता नरहेको पहिल्यै जानकारी सार्वजनिक गरिसक्नुभएको छ ।