काठमाडौं । इजरायलमा भएको हमास आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका छन् । अघिल्लो दिन बिहानैबाट भएको आक्रमणमा परी नेपालीहरुले पनि ज्यान गुमाएका हुन् ।
इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका हुन् ।
किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको दूतावासले जनाएको छ ।
मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहेका छन् ।