काठमाडाैं । इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा युवा जलविद्युत उद्यमी सुशील पोखरेल निर्वाचित हुनुभएकाे छ । उद्यमी पाेखरेल दुई वर्ष (सन् २०२३ देखि २०२५) का लागि निर्वाचित हुनुभएकाे हाे ।
कात्तिक १४ गतदेखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको 'अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन, २०२३' मा भएकाे निर्वाचनमा पोखरेल उपाध्यक्षमा निर्वाचित हुनु भएको घोषणा गरिएको थियो।
उपाध्यक्ष पाेखरेलले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने बताइएकाे छ ।
जलविद्युत तथा स्वच्छ ऊर्जा विकासमा निरन्तरको क्रियाशीलताका कारण उहाँलाई उपाध्यक्षमा निर्वाचित गरिएको एसाेसिएसनले जनाएकाे छ । उपाध्यक्षमा आफ्नाे जीत भएपछि पाेखरेलले जलविद्युत क्षेत्रमा नेपालकाे गरिमा उच्च भएकाे बताउनुभयाे । विश्व जलविद्युत मञ्चमा आफ्नाे उपस्थितिले दिगो स्वच्छ तथा नवीकरणीय ऊर्जा विकासमा थप अघि बढ्न प्रेरणा मिलेकाे उहाँकाे भनाइ छ ।
'दिगो जलविद्युत मापनको मापदण्डका आधारमा नेपालका जलविद्युत आयोजनाहरू प्रमाणीकरण भएका छन्,' उपाध्यक्ष पाेखरेलले भन्नुभयाे, 'यसले हामीलाई हरित ऊर्जा विकासमार्फत् दिगो भविष्यको आधार निर्माण गर्न पर्याप्त अवसरहरू प्रदान गरेको छ।'
उपाध्यक्ष पोखरेल लामो समयदेखि हरित ऊर्जा र दिगो जलविद्युत विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आउनुभएकाे छ।
विभिन्न देशका नाै सयभन्दा बढी नीति निर्माता, बुद्धिजीवी, कूटनीतिज्ञ तथा जलविद्युत क्षेत्रमा दशकौंदेखि काम गरिरहेका कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता तीन दिनसम्म चलेकाे सम्मेलनले बाली घाेषणापत्रसमेत जारी गरेकाे छ ।