काठमाडाैं । सरोकारवालाहरुले तयारी बिना शिलान्यास गर्ने राजनीतिक नेतृत्वको होडबाजीले आयोजनाहरु अलपत्र परेको बताएका छन् ।
नेपाल उद्योग परिसंघले पूर्वाधार विकासमा केन्द्रित रहेर शुक्रबार काठमाडौंमा गरेको बजेट वाच कार्यक्रममा बोल्दै सरोकारवालाहरुले तयारी बिनाका आयोजनाहरु शिल्यानाश गरी ठेक्का लगाए अगाडि बढ्छ भन्ने मानसिकताबाट राजनीतिक नेतृत्व माथि उठ्न आवश्यक रहेको बताए ।
उनीहरुले सरकारको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले आफूले आयोजना बनाउन लागेको देखाउनको लागि जबरजस्त निवेदनको आधारमा आयोजनाहरुको विस्तृत अध्ययन विना शिल्यानाश गर्न हतार गर्दा निर्माणमा समस्या भएको बताएका हुन् । उनीहरुले तयारी बिनाका आयोजनाहरु शिल्यानाश गर्ने प्रवृत्तिले पनि कतिपय ठूला आयोजनाहरु अलपत्र परेको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिद् कार्यालयका सचिव एकनारायण अर्यालले राजनीतिक नेतृत्वदेखि सरकार र निजी क्षेत्रमा समेत विकास गर्नुपर्छ भन्ने उत्तरदायित्वको सोच नआएको बताउनुभयो । उहाँले मुलुकको विकासको लागि आयोजनाहरु निर्माण गर्नुपर्छ भन्ने राजनीतिक नेतृत्वमा सोच भन्दा पनि राजनीतिकरणमा बढी चासो रहेको बताउनुभयो ।
उहाँले विकास निर्माणका आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्नु स्रोत अभाव, कमजोर क्षमता र उत्तरदायित्व सबैमा कम रहेको बताउनु भयो । उहाँले मुलुकमा पूर्वाधार विकास गर्दा रोजगारी सिर्जना हुन्छ भन्ने चेतलाई सबै वर्ग, समुदाय माझ पु¥याउन नसक्नुको परिणाम विकास आयोजनाहरु अगाडि बढ्न नसक्नु भएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वले विकास गर्नुपर्छ भन्ने उत्तरदायित्व बोध हुनुपर्ने बताउनुभयो । उहाँले विकासका काम हुन नसक्नुको प्रमुख कारण राजनीतिक इकोलोजी र कार्यान्वयन गर्ने निकाय भएको दाबी गर्नुभयो । उहाँले आयोजनाबाट कति मानिसहरु लाभान्वित हुन्छन् भन्ने अनुसन्धान नगरी निवेदनको आधारमा आयोजना छनोट गरेर तोक लाएको भरमा बजेट राखेर खर्च गर्ने गरेकाले आयोजना कार्यान्वयन नसकेको बताउनुभयो । उहाँले सरकारले आयेजना वर्गिकरण निर्देशिका मन्त्रीपरिषद्ले स्वीकृत गरेर संसदमा पेश गर्ने चरणमा रहेको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि विकास आयोजनाहरुको पूर्ण रुपमा तयारी नहुँदै राजनीतिक नेतृत्वलाई शिल्यानाश गर्न हतार हुने गरेको बताउनु भयो । उहाँले सबैलाई आयोजनाहरुको उद्घाटन भन्दा पनि शिल्यानाश गर्न हतार हुने गरेको भएपनि आयोजनाहरु शिल्यानाश नगरे पनि हुने बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वलाई आयोजनाको शिल्यानाश गरेरे ठेक्का लगाई दिए जसरी पनि अगाडि बढ्छ भन्ने मानसिकताका कारण बजेट व्यवस्थापनमा समेत समस्या भएको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फ्युयालले चालु आर्थिक वर्षको ६ महिनाको समिक्षा गरी आगामी ६ महिनामा सबै पुँजीगत खर्च गर्ने योजना सरकारले बनाएको बताउनु भयो । उहाँले १५ औं आवधिक योजनाको अन्तिम वर्ष भएकाले १५ औं आवधिक योजनाले तय गरेका लक्ष्यहरुको समेत समिक्षा गर्ने बताउनु भयो । उहाँले १६ औं पञ्चवर्षिय योजनामा अहिले शुरु भएका योजनाहरुलाई समावेश गर्नेगरी वहल र छलफल भइरहेको बताउनुभयो ।