त्रिवेणी । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२, स्थित राईनो रङ्गशालामा जारी प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई एकका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले उचालेको हो ।
बुधबार भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल सुरु भए लगतै खेलको ४७ औँ मिनेटमा गण्डकी प्रदेशका जर्सी नम्बर ६ का खेलाडी मुकुन्द न्यूरेले पहिलो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा गण्डकीका खेलाडी मुकुन्द न्यूरेले पुनः गोल गर्दे आफ्नो टिमको अग्रता दोब्बर बनाएका थिए ।
अठ्ठाइस बिघा क्लबका जर्सी नम्बर दुईका खेलाडी एन्जल महर्जनले आफ्नो टिमका लागि खेलको ७० औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसकेपछि गण्डकीले जित निकालेको हो ।
जितसँगै गण्डकी प्रदेशले उपाधिसहित आठ लाख पुरस्कार प्राप्त गरको गरेको छ । उपविजेता बनेको अठ्ठाइस बिघा क्लबले चार लाख पुरस्कार प्राप्त गरेको छ ।
गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २० वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । छैटौँ संस्करणको प्रतियोगितामा नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिम , लुम्बिनी , बागमती र गण्डकी प्रदेश , मछिन्द्र , सङ्कटालगायत १२ वटा टिम सहभागी थिए ।
नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिँदै आएको आयोजक राईनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए । छैटौँ संस्करण सफलरुपमा सम्पन्न भएको र नियमित रुपमा आगामी दिनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।