–सुस्मा पन्त मैनाली
शिक्षा, स्वास्थ्य, यातालगायतका क्षेत्रहरू देश विकास र समृद्धिको मेरुदण्डका रुपमा रहेका हुन्छन् । अझै भन्ने हो भने हरेक क्षेत्रको आधार निर्धारण गर्ने काम शिक्षाले गरेको हुन्छ । यसरी देशको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्र गुणस्तरहीन हुँदा समग्र देश विकासमा प्रत्यक्ष असर पर्न जान्छ ।
नेपाल सरकारले शिक्षा क्षेत्रमा वार्षिक अर्बाैँको लगानी गरेको छ तथापि हरेक गल्लि,चोक, चिया पसलदेखि सदनसम्म सामुदायिक विद्यालयमा गुणस्तर नै छैन, शिक्षकहरू दिनभर घाम तापेर तलब मात्रै पकाउँछन्, सरकारी विद्यालयमा आफ्ना सन्तानलाई भर्ना गरियो भने उनीहरुको भविष्य बिग्रन्छ भन्ने जस्ता टिकाटिप्पणी गरेको सुनिन्छ । बिहान बेलुका दुई छाक टार्न धौ धौ पर्ने मानिसहरूले पनि आफ्ना सन्तानहरूलाई संस्थागत विद्यालयमा चर्को शुक्ल तिरेर पढ्न पठाउँछन् । यसरी अभिभावकहरुले आफ्ना सन्तानहरूलाई बोर्डिङ स्कूलमा पठाउने क्रम बढ्दै जाने र सरकारी विद्यालयलाई तिरस्कार मात्रै गर्ने हो भने देशको सरकारी विद्यालयको गुणस्तर झन् झन् खस्कँदै जान्छ ।
नेपालका सबै सरकारी विद्यालयहरुमा गुणस्तर छैन भन्न मिल्दैन । आजभोलि सरकारी विद्यालयहरु धेरै राम्रा भइसकेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय, बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय, चन्द्रागिरी नगरपालिकास्थित कंकाली माध्यमिक विद्यालय, धादिङको निलकण्ठ नगरपालिकास्थित निलकण्ठ माध्यमिक विद्यालय त्यस्तै नुवाकोटको विदुर नगरपालिकास्थित पृथ्वी माध्यमिक विद्यालयलगायत विभिन्न जिल्लाका सरकारी विद्यालयहरुमा शिक्षाको गुणस्तर अति उत्तम रहेको छ । त्यहाँ सयौँको संख्यामा भर्न गर्न आउने विद्यार्थी फिर्ता गर्नुपर्ने बाध्यता छ । यी विद्यालयमा आवश्यक मात्रामा शिक्षक दरबन्दी छ । योग्य तथा दक्ष शिक्षक स्थायी नियुक्ति भएर गएका छन् । यी विद्यालयहरुमा योग्य तथा क्षमतावान् प्रधानाध्यापक छन् । योग्य प्रधानाध्यापकमा खराब तथा कमजोर शिक्षण क्षमता भएका शिक्षकहरूलाई पनि बिस्तारै क्षमतावान् र अब्बल गराउने क्षमता रहेको हुन्छ । उनीहरूलाई विद्यालयको गुणस्तर उकास्नका लागि कस्ता रणनीति अपनाउनु पर्छ भन्ने कुराको राम्रो ज्ञान हुन्छ । उनीहरूले सरकारी विद्यालयलाई आफ्नो स्वार्थ पुरा गर्ने थलो नबनाई विद्यालयलाई समाज सुधारको एउटा मुख्य आधार सम्झेर सेवा प्रदान गरेका हुन्छन् । त्यसैले यी विद्यालयहरू संस्थागत विद्यालय सरह भएका हुन् ।
विद्यालय भनेको शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको सरोकार रहेको क्षेत्र हो । सरकारी विद्यालयको गुणस्तर कमजोर हुनुमा शिक्षकको मात्रै कदापि दोष रहेको हुँदैन । यदाकदा कामचोर र लाचार शिक्षक पनि हुन्छन् त्यस्ता शिक्षकलाई तह लगाउने काम प्रधानाध्यापकको रहन्छ । गुणस्तर खस्कँदै गएका विद्यालयहरुमा किन यस्तो हुँदैछ भन्ने विषयमा विद्यालय व्यवस्थापन, विद्यालय प्रशासन, अभिभावकलगायत स्थानीय निकायले विशेष अनुगमन गर्नुपर्ने देखिन्छ ।
विद्यालयको हरेक कमजोरीको खबरदारी गर्ने उत्तिकै अधिकार अभिभावकलाई रहेको हुन्छ तर हाम्रा अभिभावकहरू आफ्ना सन्तानहरूलाई विद्यालयमा भर्ना गरेपछि वर्षमा एक पटक पनि विद्यालय पुग्ने गर्दैनन् र आफ्ना बालबालिकाहरुले पढ्छन / पढ्दैन भन्ने कुराको कुानै चासो राखेकाे देखिदैन । विद्यालय व्यवस्थापन समिति पनि निष्क्रिय रहेको देखिन्छ । त्यसैगरी, विद्यालय प्रशासनको पनि धेरै कमजोरी देखिन्छ । अधिकांश विद्यालयहरुमा प्रधानाध्यापक नियुक्तिको प्रक्रिया योग्यता, क्षमताभन्दा पनि राजनीतिक आडभरोसाका आधारमा गरिन्छ । दशकौँ एउटै व्यक्तिले पदलाई ओकटेर बसेको हुन्छ । अधिकांश सरकारी विद्यालयहरुका प्रध्यानाध्यापक नै अयोग्य रहेका छन् । राष्ट्र प्रमुख नै योग्य तथा क्षमतावान् छैन भने राष्ट्रका जनता जतिसुकै बुद्धिमान भएपनि राष्ट्रले विकास र समृदिको गति लिन सक्दैन । हल गोरु जति नै बलिया र बारी जोत्न सिपालु किन नहोस् हली गोरु जोत्न सक्षम र योग्य छैन भने बारी राम्रोसँग जोतिदैन । राम्रोसँग खनजोत नभएको बारीमा सोचेजति उत्पादन नहुनु सामान्य कुरा हो। गोठालो चनाखो भएन भने बाख्राहरूले बाली खान जानु अनौठो कुरा होइन ।
संसारमा रहेका हरेक पेसाहरूको आधार शिक्षण पेसा रहेको हुन्छ । डाक्टर, पाईलट, इन्जिनियर मात्र नभएर नासाका हजारौं वैज्ञानिक उत्पादन गर्ने पनि शिक्षक नै हुन् । संसारका अधिकांश विकशित राष्ट्रहरूले शिक्षण पेशालाई उत्कृष्ट पेसा मानेका छन् । शिक्षकलाई सबैभन्दा बढी पारिश्रमिक तोकिएको छ। नेपालको दुर्भाग्य भन्नु या अज्ञानता यहाँ शिक्षण पेसालाई सबैभन्दा कमजोर पेसाका रुपमा लिइन्छ । कमजोर विद्यार्थीले मात्रै भविष्यमा शिक्षण पेसा अँगाल्नु पर्छ भन्ने सोच छ । माग अनुसार स्थायी शिक्षकको नियुक्ति हुन सकेको छैन । स्थानीय तहबाट राजनीतिक आडमा राम्रोलाई होइन, हाम्रोलाई; सक्षमलाई होइन, कमजोर व्यक्तिलाई शिक्षकका रूपमा नियुक्ति गरिन्छ । विद्यालयमा भएका सक्षम शिक्षकहरूलाई पनि हौशला र प्रोत्साहनको कमी छ । अधिकांश विद्यालयहरूमा प्राथमिक तहमा नियुक्ति भएका स्थायी शिक्षकहरूले माध्यमिक तहमा अध्यापन गराउनु पर्ने बाध्यात्मक परिस्थति रहेको छ । प्राथमिक तहका लागि छनोट भएका क्षमतावान् शिक्षकले सो तहमा अध्यापन गराउन नपाएपछि प्राथमिक तहको शिक्षाको गुणस्तर खस्कन जान्छ । जग बलियो नभएपछि अवश्य पनि घर बलियो हुन नसक्ने कुरा जगजाहेर नै छ ।
अतः सामुदायिक विद्यालयहरूमा छिटोभन्दा छिटो माग अनुसार दक्ष, योग्य तथा तालिम प्राप्त स्थायी शिक्षकहरू नियुक्ति गरिनु पर्छ । स्थानीय तहबाट शिक्षक नियुक्ति गर्ने परिपाटीलाई तत्काल रोक्नु पर्छ । अवश्य पनि सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयभन्दा गुणस्तरयुक्त बनाउन सकिन्छ । यसका लागि शिक्षासँग सरोकार राख्ने राज्य पक्ष उत्तरदायी हुनुपर्छ साथै विद्यालयसँग सरोकार राख्ने शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, विद्यालय प्रशासन तथा स्थानीय तहले उत्तिकै चासो र चिन्ता लिनु आवश्यक छ ।
(लेखक शिक्षक हुनुहुन्छ)