काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रम बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पुनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रशासनिक,आर्थिक नीति नियम र व्यवसायीक वातावरण बनाउने गरी फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको बताउनुभयो ।
उहाँले लगानी सम्मेलनअघि कानूनी अफ्ठ्यारो हटाउन ८ वटा कानून संशोधन गरेको भन्दै त्यसबाट केही सहज वातावरण बनेको बताउनुभयो । सरकारले एकल निर्णय गर्ने अधिकार भएपनि निजी क्षेत्रलाई सहभागिता गराएर नीतिगत व्यवस्था गर्ने गरेको उहाँको भनाई छ । मन्त्री पुनले निजी क्षेत्रको सहभागिता बिना कानूनहरु नबनाएको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजिकरण गर्ने बताउनुभयो ।
उहाँले सरकारको सोच लगानी र व्यवसायी मैत्री वातावरण बनाउने भएको उल्लेख गर्नुभयो । उहाँले वित्त नीति र मौद्रिक नीतिमा एकरुपता ल्याउन प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले स्वायत्तता निकाय राष्ट्र बैंकलाई अर्थमन्त्रीले दैनिक कार्यमा चासो दिनुपर्छ भन्ने पक्षमा आफू नभएको बताउनु भयो । उहाँले सरकारको नीति भन्दा बाहिर राष्ट्र बैंक नभएको भन्दै सरकारको नीतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले राष्ट्र बैंकसँग अर्थमन्त्रालय सहकार्य गरेर नीतिहरु ल्याउने काम गरिरहेको बताउनुभयो । अर्थमन्त्री पुनले नीति कार्यक्रम एकातिर लाग्ने,बजेट अर्कोतिर लाग्ने र मौद्रिक नीति तेस्रो बाटोमा लाग्ने कुराको अन्त्य गर्ने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम निबन्ध नहोस् भनेर अर्थ मन्त्रालयले सहभागिता जनाएर काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले पुँजीगत खर्च बढाउने कोशिस गरिरहेको बताउनुभयो । उहाँले स्रोतमा सिमितता भएकाले सरकार र निजी क्षेत्रले खर्च गरेको आधारमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा सरकारको रहेको बताउनुभयो ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक लगानी र आन्तरिक लगानीलाई प्रोत्साहन गरी आर्थिक वृद्धिदरलाई बढाउने वातावरण बनाउने गरी ल्याउने बताउनुभयो । उहाँले बैंक,घरजग्गा,कृषि र निर्माण क्षेत्रमा सकारात्मक नभए पनि जलविद्युत र होटल पर्यटनमा राम्रो भएको भन्दै राम्रोलाई अझ राम्रो बनाइराख्ने योजना रहेको बताउनुभयो ।